मुख्य समाचार
आर्थिक रूपमा सबल बन्दै श्रीलंका
आर्थिक रूपमा सबल बन्दै श्रीलंका

: दक्षिण एसियाकै समृद्ध मुलुक श्रीलंका २ वर्षअघि टाट पल्टियो। आर्थिक वर्ष २०७८/७९ (सन् २०२१/२०२२) मा विदेशी मुद्रा सञ्चिति करिब ५० मिलियन डलरभन्दा कममा झरेपछि इतिहासमा पहिलोपटक देश टाट पल्टिएको घोषणा गरियो। संसद्मा श्रीलंकका प्रधानमन्त्री रणिल विक्रमसिंघेले देश चरम आर्थिक संकटमा गएको र टाट पल्टिएको घोषणा गरेका थिए। ५० प्रतिशतभन्दा बढीले मूल्यवृद्धि र खाद्यन्नको अभाव देशले बेहोर्‍यो। विदेशी ऋण मात्रै करिब ५१ अर्ब अमेरिकी डलर पुगेको थियो।


वैदेशिक ऋणमा करिब १० प्रतिशत हिस्सा चिनियाँ ऋणको थियो।

श्रीलंकाले आफ्नो स्वतन्त्रता पछिको इतिहासमा सबैभन्दा खराब आर्थिक संकटको अनुभव गरेको थियो। लामो समयदेखिको संरचनात्मक कमजोरीहरू, बाह्य दबाब र नीतिगत गल्तीहरूले देशलाई आर्थिक संकटतर्फ धकेलेको अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले बताए। यसमा कमजोर शासन, प्रतिबन्धित व्यापार व्यवस्था, कमजोर लगानीको वातावरण र मौद्रिक अनुशासनहिनताले थप योगदान पुर्‍याएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। उच्च मुद्रास्फीति र मुद्राको तीव्र अवमूल्यनका बीच अर्थतन्त्र ७.३ प्रतिशतले संकुचित भयो। गृहयुद्धपछि गरिबी उन्मूलन गरेको श्रीलंकामा २०१९ देखि चरम गरिबी चार गुणाले बढेको थियो।




श्रीलंकामा आर्थिक संकटको सिलसिला भने २०१९ मा भएको चर्च हमलापछि पर्यटनमा आएको गिरावटलाई मानिन्छ। प्रमुख आर्थिक स्रोत मध्येको एक पर्यटन क्षेत्रमा संकुचन आएसँगै यसको आर्थिक परिसूचकमा असर सुरु भएको आंकलन गरियो।

श्रीलंका टाट पल्टिएपछि राजनीतिक अस्थितरतालाई जोडेर नेपाल पनि टाट पल्टिदै छ भन्ने विज्ञहरूको एउटा जमातले मत पनि बनायो। श्रीलंकाको जस्तै नेपालको विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा हुनु र शोधनान्तर घाटा बढ्दै जानुलाई दाजिएको थियो।

आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति थियो। ६ महिनाभन्दा कम पुग्ने सञ्चितिलाई आर्थिक संकटतर्फ धकेलिँदै गएको मानिन्छ। यस्तै, शोधनान्तर स्थिति पनि नेपालको इतिहासकै कम भयो। समीक्षा वर्ष शोधनान्तरस्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँ घाटामा भएको राष्ट्र बैंकको तथ्यांक थियो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा थियो।

यता, आर्थिक रूपमा नै टाट पल्टिएको श्रीलंका अहिले माथि उठ्दै छ। विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा श्रीलंकको आर्थिक वृद्धि सकारात्मक हुने अपेक्षा गरिएको छ। उत्कृष्टभन्दा पनि मध्यम अवधिमा मध्यम रूपमा सकारात्मक रहने अपेक्षा एडीबीको हो। संकटका असरहरू, उच्च करको बीचमा कम वास्तविक आम्दानी र दक्ष कामदारहरूको उच्च स्थानान्तरणले मध्यम वृद्धि निर्धारण गर्ने भनिएको छ।

बाह्य र वित्तीय सन्तुलनमा सुधार हुँदा अर्थतन्त्रले २०२३ मा स्थिरताको प्रारम्भिक संकेत देखाएको थियो। विदेशी मुद्रा, तरलता दबाब उल्लेखनीय रूपमा कम भएको छ। पर्यटन र रेमिट्यान्सको रिकभरी र विकास साझेदारहरूबाट आएको सहयोग वृद्धिका कारण प्रयोग योग्य आधिकारिक विदेशी मुद्रा सञ्चिति बढेर ८–९ साताको आयातमा पुगेको छ।

टाट पल्टिएको समयमा मुद्रा सञ्चिति १–२ साताको वस्तु आयातका लागि मात्र पर्याप्त थियो। विदेशी मुद्रा सञ्चितिमा सुधार, तरलता, श्रीलंकाली रुपैयाँ (एलकेआर) मजबुत हुँदै गएको छ। २०२३ मा एलकेआर अमेरिकी डलरको तुलनामा १०.८ प्रतिशतले मजबुत भएको छ। २०२२ मा श्रीलंकाको मुद्रा अवमूल्यन अमेरिकी डलरको तुलनामा ८१.२ प्रतिशत पुगेको थियो। एडीबीको तथ्यांकअनुसार मुद्रास्फीति अपेक्षितभन्दा छिटो तल झरेको छ। ५० प्रतिशत नाघेको मुद्रास्फीति अहिले एकल अंकमा पुगेको छ।

आर्थिक संकटको समयमा तीव्र बढेको मुद्रास्फीति २०२३ मा भने घटेको छ। २०२२ मा ६९.८ प्रतिशतको उचाइमा पुगेको राजधानी कोलम्बोस्थित उपभोक्ता मूल्य सूचकांक(सीसीपीआई)ले मापन गरेको थियो। उक्त मुद्रास्फीति जुलाई २०२३ सम्ममा नै एकल–अंकमा घटेको विश्व बैंकको तथ्यांकमा छ। सन् २०२४ को फेबु्रअरीमा मुद्रास्फीति ५.९ प्रतिशत छ। श्रीलंकाको अर्थ मन्त्रालयको तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति करिब ५.७ प्रतिशत रहेको छ।

मौद्रिक सहजता र सुधारिएको तरलता अवस्था झल्काउँदै ब्याजदर घट्न थाल्यो। लगभग दुई वर्षको मौद्रिक कडाइपछि २०२३ को मध्यमा श्रीलंकाको केन्द्रीय बैंकले ब्याजदर घटाउन ढिलो चक्रमा फर्कन अनुमति दियो। नीति दरहरू पनि जुन र नोभेम्बर २, ०२३ मा ६५० आधार बिन्दुले घटाइएको थियो। स्थायी निक्षेप सुविधा दर ९ प्रतिशत र स्थायी ऋण सुविधादर १० प्रतिशतमा ल्याइयो। वैधानिक रिजर्भ अनुपात पनि अगस्ट २०२३ मा २ सय आधार बिन्दुले २ प्रतिशतमा घटाइएको थियो।

केन्द्रीय बैंकले फेबु्रअरी २०२४ मा खुला बजार सञ्चालनहरूमार्फत स्थायी सुविधाहरूमा पहुँच गर्न बैंकहरूको क्षमतामामु लगाइएको प्रतिबन्धहरू सहज बनायो। यसले रातारात तरलतामा थप सुधार गर्‍यो। मौद्रिक सहजता र घरेलु ऋण पुनर्संरचनामा स्पष्टताको साथमा, यसले बजार ब्याजदरमा गिरावट आयो। उदाहरणका लागि, मार्च २०२३ र मार्च २०२४ को बीचमा ९१–दिने ट्रेजरी बिलहरू (टी–बिलहरू) को दरहरू २० प्रतिशत बिन्दुले घट्यो।

बृहत् आर्थिक स्थायित्व कायम गर्न सरकारले महत्वपूर्ण संरचनागत र नीतिगत काम सुर गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अन्तर्गत लागू गरिएका धेरै महत्वपूर्ण सुधारहरू विस्तारित कोष सुविधा कार्यक्रम, लागत–प्रतिबिम्बित उपयोगिता मूल्य निर्धारण र नयाँ राजस्व उपायहरूले बृहत् आर्थिक स्थिरतामा योगदान पुर्‍याएको देखिन्छ।

श्रीलंकाले ऋण, वित्तीय व्यवस्थापन, व्यापार, लगानी, र राज्यको स्वामित्वमा रहेका उद्यमहरूसम्बन्धी अन्य प्रमुख सुधारहरू पनि अगाडि बढाएको छ। सरकारले सेप्टेम्बर २०२३ मा घरेलु ऋण पुनर्संरचना सम्पन्न गर्‍यो। सोही वर्षको नोभेम्बरमा आधिकारिक ऋणदाताहरूसँग ऋण पुनर्संरचनाको लागि पनि सम्झौता गरेको छ।

पर्यटन सुधारिँदै

श्रीलंकामा जारी आर्थिक र राजनीतिक संकटलगायत थुप्रै चुनौतीहरूको सामना गर्नुपरिरहेको छ। सन् २०१८ मा पर्यटक आगमन करिब २३ लाख पुगेको थियो, जसले देशमा कुल ५.६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए। तर, कोभिड–१९ महामारीका कारण सन् २०२० मा पर्यटकको संख्यामा ९२ प्रतिशतले कमी आयो। सन् २०२१/२२ को आर्थिक चरम संकटमा करिब १ लाख पर्यटक श्रीलंका आए। सन् २०१८ मा करिब २३ लाख पर्यटक श्रीलंका पुगेका थिए। चरम आर्थिक संकटमा रहेको श्रीलंकाले चुनौतीहरूको बावजुद २०२३ मा पर्यटक आगमनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको श्रीलंका पर्यटन विकास प्राधिकरणको तथ्यांकले देखाएको छ।

२०२२ मा करिब ७ लाख १९ हजार पर्यटक आएकोमा २०२३ मा १४ लाख ८७ हजार ३ सय ३ पर्यटक श्रीलंका घुम्न आएका छन्। कुल पर्यटक आगमनमा युरोपको हिस्सा ५०.९ प्रतिशत छ भने भने एसिया र प्रशान्त महासागर ४०.१ प्रतिशत योगदानसहित श्रीलंका भ्रमण गर्ने पर्यटकहरूका लागि दोस्रो मुख्य स्रोत बजार बनेको छ। पर्यटक संख्या बढेसँगै श्रीलंकाको पर्यटन उद्योगमा भइरहेको गतिशील परिवर्तनलाई आंकलन गर्न सकिन्छ। भारत, रुस, जर्मनी, युनाइटेड किंगडम र अष्ट्रेलिया जस्ता देशहरूबाट पनि श्रीलंका घुम्ने माग बढेको छ। यो उछालसँगै श्रीलंकाको पर्यटन क्षेत्रलाई उल्लेखनीय रूपमा बढाएको छ।

प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ को अप्रिल महिनासम्म ७ लाख ८४ हजार ६५१ पर्यटक श्रीलंका घुम्न आएका छन्। तथ्यांकअनुसार जनवरीमा २ लाख ८ हजार, फेब्रुअरीमा २ लाख १८ हजार, मार्चमा २ लाख ९ हजार र अप्रिलमा १ लाख ४८ हजार पर्यटक श्रीलंका आएका छन्। पर्यटन क्षेत्रमा भएको उछालसँगै होटल व्यवसाय, खाना र पेय पदार्थहरू, यातायात, उड्डयन र अन्य व्यक्तिगत सेवाहरूमा पनि सुधार भएको तथ्यांकहरूले देखाएका छन्।

नेपाली पर्यटक भित्र्याउन आतुर श्रीलंका

पर्यटन क्षेत्र सुधारसँगै पर्यटक आकर्षणका लागि विभिन्न प्याकेजसँगै श्रीलंकाको रिब्रान्डिङमा लागेको छ। श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्सले ५९ राष्ट्रका ११३ गन्तव्यहरूमा सीधा तथा नेटवर्किङ उडान गर्दै आइरहेको छ। देशको एकमात्र व्यावसायिक उड्डयन कम्पनी भएको यस एयरलाइन्सले विगत ३ वर्षदेखि काठमाडौं कोलम्बो सीधा उडान गर्दै आइरहेको छ। आइतबारदेखि शुक्रबारसम्म साताको ५ दैनिक उडान गर्दै आएको एयरलाइन्सका नेपालका लागि कन्ट्री म्यानेजर निलिना पाथिरना बताउँछन्। पर्यटन क्षेत्रमा सुधारका कार्यक्रमहरू सञ्चालन गरिरहँदा नेपाली पर्यटकका लागि श्रीलंका नजिकको र सस्तो गन्तव्य हुन सक्ने पाथिरना बताउँछन्। ‘नेपालीहरूको खर्च गर्ने क्षमता बढिरहेको छ।

भ्रमणका लागि माल्दिभ्स, मलेसिया, थाइल्यान्ड, दुबई, इन्डोनेसिया गइरहेका छन्। श्रीलंका पनि पनि गन्तव्य हुन सक्छ।’ उनले भने। करिब ३५ प्रतिशतसम्म कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने पर्यटन क्षेत्रले अहिले करिब ५ प्रतिशत योगदान दिँदै आएको छ। पर्यटन क्षेत्र चलायमान बनाउनका लागि नयाँ–नयाँ स्रोत बजारबाट पर्यटक भिœयाउने योजना श्रीलंकाको हो। भारत, चीनसँगै नेपाल पनि श्रीलंकाको स्रोत बजार हुन सक्ने कन्ट्री म्यानेजर पाथिरना बताउँछन्।

नेपाली पर्यटकलाई आकर्षित गर्नका लागि प्रतिव्यक्ति करिब ९० हजार नेपाली रुपैयाँको ४ रात ५ दिनको प्याकेज प्रभावकारी हुने उनी बताउँछन्। काठमाडौं–कोलम्बोका लागि बनाइएको यो प्याकेजमा श्रीलंकन एयरलाइन्सको दुईतर्फी टिकट, घुम्न, खाना र बस्नको व्यवस्था गरिएको छ। श्रीलंकको अन्य भागमा जाने हो भने पर्यटकको आवश्यकताअनुसार त्यसलाई थपघट गर्न सकिने बताइएको छ। तथ्यांकअनुसार सन् २०१८ मा करिब ५ हजार नेपाली पर्यटक श्रीलंका पुगेकोमा २०२३ मा यो संख्या करिब १५ सयमा सिमित भएको छ।

श्रीलंकाका आकर्षण

श्रीलंकामा पर्यटक आकर्षणहरू प्राकृतिक वा मानवनिर्मित रूपमा वर्गीकृत छन्। प्राकृतिक आकर्षणहरूमा प्रकृतिका स्थानहरू, वनस्पतिहरू र जीवजन्तुहरू, र सुखद हावापानी भएका स्थानहरू समावेश छन्। भू–पर्यटन साइटहरू पनि यस श्रेणीमा समावेश गर्न सकिन्छ। मनवनिर्मित आकर्षणहरूमा पुरातात्विक र सांस्कृतिक आकर्षणहरू, ऐतिहासिक र धार्मिक स्थलहरू, प्रदर्शनकला र लोककथाहरू, हस्तकला र कलाकृतिहरू समावेश छन्। श्रीलंका विश्वमा वन्यजीव, समुद्र, प्राकृतिक सुन्दरता, वानस्पतिक उद्यान, चराहरूको अवलोकन, पुरातात्विक सम्पदा, धार्मिकस्थल लगायतको अवलोकनका लागि पर्यटकहरू जाने गर्छन्।

डा. खड्ग केसी, परराष्ट्रविद्

श्रीलंका दक्षिण एसियामा नै सबैभन्दा राम्रो मानव विकास सूचकांक भएको देश थियो। सिंगापुरको राष्ट्रपतिले पनि देशलाई श्रीलंका बनाउँछु भन्ने गरेको कहानी नै छ। उपनिवेशबाट भएको विकास, समुद्र सिमानाका कारण अन्य देशसँगको एक्स्पोजर, अन्तरमहादेशीय व्यापारको केन्द्र, हिन्द महासागरको केन्द्रमा भएको हुनाले गृहयुद्धपछि श्रीलंकामा विकास तीव्र भएको हो।

राजपाक्षेका दाजुभाइले बलपूर्वक गृहयुद्ध समाधान गरेका थिए। उनीहरूले विकासको नाममा कुलगार्हस्थ्य उत्पादनभन्दा पनि ऋण बढी लिए। यसले अर्थतन्त्रको सन्तुलन बिग्रियो। अब विस्तारै श्रीलंका अघि बढ्दै छ। सरकारले फजुल खर्च घटाएको छ। पर्यटन क्षेत्र बढिरहेको छ। श्रीलंका माथि उठ्दै छ। ऋणहरूलाई पुनरतालिकीकरण गरेका छन्, नयाँ पूर्वाधार अघि बढाएका छैनन्। अब छिट्टै श्रीलंका आर्थिक रूपमा सबल बन्छ।

दिपेश कार्की, सहायक प्राध्यापक, केयू स्कुल अफ म्यानेजमेन्ट

सन् २०२३ को अन्तिम त्रैमास र २०२४ को पहिलो त्रैमासमा श्रीलंकाको आर्थिक वृद्धि सकारात्मक देखिएको छ। विशेष गरी अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)सँगै एक्सटेन्डेड फन्ड फ्यासिलिटी(ईएफएफ) सुविधा लिन श्रीलंका तयार भएर पनि आर्थिक सूचक सकारात्मक भएको हो। करिब ३ बिलियन डलर दिने गरी कोषसँग सम्झौता गरेको छ। किस्ता–किस्तामा आउने यो सुविधामा २ किस्ता आइसकेको छ।

श्रीलंकका आईएमएफको सल्लाहअनुसार पुनर्संरचना गरे। २०२४ जनवरीबाट भ्याट पनि १५ देखि १८ प्रतिशत बढाएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्‍यो र त्यसमा फेरि अनुदान पनि दिएको छ। बढेको भ्याटले मूल्यवृद्धि पनि बढ्ने भएकाले त्यसलाई नियन्त्रण गर्न अनुदान दिइएको छ। चीनसँगको ऋण तिर्नका लागि पनि वार्ता गरेको छ। अहिलेको समयमा नै विश्व कोभिडको महामारीबाट बाहिर आइसकेकाले पर्यटक संख्या आगमन श्रीलंकामा बढेको छ। यसले मुद्रा सञ्चिति बढाएको छ। रेमिट्यान्समा पनि वृद्धि भएको छ। अहिलेको सुधार देखिएको छ अब त्यसलाई कसरी अघि बढ्छ भन्ने हेर्न बाँकी छ।

रामेश्वर खनाल, अर्थविद्

आर्थिक संकटपछि श्रीलंकाले कठोर कदम चाल्ने हिम्मत गर्‍यो। पेट्रोलियम पदार्थको मूल्य बढायो, राहत सुविधा कटौती गर्‍यो, अन्तर्राष्ट्रिय मुद्रा कोषको कठोर सर्त मानेर श्रीलंका आर्थिक सुधारमा अघि बढिरहेको छ। शोधानान्तरस्थित सुधारका निमित्त उनीहरूले कोषबाट कार्यक्रम लिएका छन्। यस्तै, भारतले सहयोग गरेको छ। चीनले ऋणको पुनरतालिकीकरण गरिदिएको छ। साथै गार्हस्थ्य खर्चको पुनरर्संरचना गरेको छ।

यसमा पेटोलियम पदार्थको मूल्यवृद्धि, मूल्यवृद्धिदर बढाएको, आयकरको छुट हटायो, खर्चमा कटौती गरेको कारणले उनीहरूको पुनरोत्थान सम्भव भएको हो। त्यसमाथि काभिड–१९ पछि विश्वमा पर्यटन सुधार हुँदा श्रीलंकमा पनि पर्यटक संख्या बढ्न गयो। यसले विदेशी मुद्रा सञ्चितिमा भूमिका खेलेको छ। मुद्रास्फीतिमा यो वर्ष फड्को मारेको छ तर अघिल्ला आर्थिक वर्षमा एकैपटकको मुद्रास्फीतिको तुलनामा यो वर्ष कम भएर त्यसले दैनिक जीवनस्तर सहज बन्न सक्दैन। त्यसका लागि कामको ज्याला बढ्नुपर्‍यो र रोजगारी सिर्जना हुनुपर्‍यो। अहिले श्रीलंका यी दुवै विषयमा काम गर्न सक्ने अवस्थामा पुगेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिंदै गर्दा सेलिब्रेटी पनि उम्मेदवारको पक्षमा खुल्ने क्रम जारी छ । वर्तमान राष्ट्रपति जो बाइडेनले चुनाव नलड्ने घोषणा गरेपछि हलिउड कलाकारले यसको स्वागत गरेका छन् । आरोन सोर्किन, रोबर्ट डी निरो र बारब्रा स्ट्रिस्यान्ड लगायतका सेलिब्रेटीले पछि हट्ने बाइडेनको निर्णयलाई स्वागत गर्दै आफूहरु वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा उभिएको जनाएका छन् । डोनाल्ड ...
। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् । बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट ...
। बंगलादेशको सर्वोच्च अदालतले जारी आन्दोलनको कारणका रुपमा रहेको सरकारी कोटा खारेज गरिदिएको छ । यसअघि स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी रोजगारीमा ३० प्रतिशत कोटा दिइँदै आएकोमा त्यसलाई खारेज गरी ५ प्रतिशतमा झारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सर्वोच्च अदालतको फैसलापछि अब ९३ प्रतिशत सरकारी रोजगारीमा खुला प्रतिस्पर्धा हुनेछ । बाँकी ७ प्रतिशतमा मात्रै कोटा लागू हुनेछ ...
विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश कुन हो ? विश्वका सबैभन्दा ठुला अर्थतन्त्र भएका शीर्ष १० मुलुकमध्ये ४ वटा देश विश्वमा सर्वाधिक जनसंख्या भएका शीर्ष १० देशको सूचीभित्र पनि पर्दछन् भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्दछ । संयुक्त राष्ट्रसंघीय वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२४ अनुसार हाल विश्वको जनसंख्या ८ अर्ब २० करोड पुगेको छ । सन् २०८० ...
विश्वव्यापी बसोबास योग्यता सूचक, २०२४ (ग्लोबल लिभेबिलिटी इन्डेक्स) अनुसार विश्वमा सबैभन्दा बस्नलायक सहरहरुको नयाँ सूची सार्वजनिक भएको छ । यसमा सहरको स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति, शिक्षा तथा पूर्वाधारलगायतको आधारमा जीवनको गुणस्तर मापन गरी सहरहरूको बसोबास योग्यताको सूचक तयार पारिएको हो । उक्त सूची अनुसार विश्वमा बसोबासका लागि सबैभन्दा योग्य रहेका १० वटा सहर यी हुन्ः १. भियना, अष्ट्रिया ...