मुख्य समाचार
युरोकप २०२४ : उपाधि जित्न सक्ने सम्भावित १० टिम
युरोकप २०२४ : उपाधि जित्न सक्ने सम्भावित १० टिम

। मिनी वर्ल्डकपको रुपमा चिनिने युरोकप फुटबल प्रतियोगिताको १७औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक राष्ट्र जर्मनीले स्कल्याण्डसँग प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजे म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सुरु हुँदैछ ।

२४ टिमले युरोकप उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । विभिन्न समूह चरण पार गरेर युरोकपमा छनोट भएकाले सहभागी सबै टिमलाई बलियो प्रतिस्पर्धीको रुपमा लिइन्छ । त्यसैले उपाधि जित्ने सम्भावना केही टिमको अलि बढी भए पनि २४ वटै टिम ट्रफीको हकदार मानिन्छन् ।

तर विगतका छनोट प्रतियोगिता, मैत्रीपूर्ण खेल, लिगहरूमा खेलाडीहरूले गरेको प्रदर्शन, प्रशिक्षकको रणनीति, टिम सन्तुलन, कमब्याक गर्नसक्ने क्षमता, अनुभवका आधारमा उपाधि जित्ने सम्भावना थपघट हुने गर्छ ।

यसलाई आधार मानेर यसपटकको उपाधि जित्नसक्ने सम्भाव्य टोलीहरूमा को बढी दाबेदार छन् भन्नेबारे हामीले रिपोर्ट तयार पारेका छौं । मुख्य दाबेदार टप १० टोली :

फ्रान्स

जर्मनीबाट आजबाट सुरु हुने युरोकप २०२४ को प्रमुखको दाबेदारको रुपमा फ्रान्सलाई हेरिएको छ । सन् २०२२ को कतार विश्वकपको फाइनलिस्ट फ्रान्स पेनाल्टी सुटआउटबाट उपविजेता बन्नु परेको दाग मेटाउँदै युरोकपको ट्रफी उचाल्ने दाउमा छ । फ्रान्सको यो योजना असम्भव पनि छैन ।



किनकि केलियन एमबाप्पे जस्ता खेलाडीको साथ फ्रान्सलाई छ । निकै रणनीतिक, अनुशासित र शारिरीक रुपमा पनि फिट खेलाडीहरूको वर्चश्व फ्रान्सको राष्ट्रिय टिममा पाइन्छ ।

एमबाप्पेका साथै फ्रन्टलाइनमा एन्टिनी ग्रिजम्यान, ओलिभर जिरुड, डेम्बेलेजस्ता खेलाडी छन् । अर्का प्रभावशाली फरवार्ड करिम बेन्जिमाले भने राष्ट्रिय टिमबाट सन्यास लिएकाले उनलाई देख्न पाइने छैन ।

युरो २०२० मा क्वार्टरफाइनलबाटै बाहिरिएको चोट मेटाउँदै प्रशिक्षक डिडयर डेसच्याम्प उपाधि जित्ने लक्ष्यमा अघि बढेका छन् ।

यति हुँदाहुँदै पनि फा्रन्सलाई चोटले पनि सताएको छ । भेट्रान गोलरक्षक ह्युगो लोरिस, डिफेन्डर भारान, लुकास हर्नान्डेज घाइते छन् । त्यसो त फा्रन्स युरोकपको सदाबहार दाबेदार टिम हो । सन् १९८४ र २०० मा युरोकप जितेदेखि फ्रान्सले युरोपकको उपाधि जित्न सकेको छैन । २४ वर्षपछि युरोकप उपाधिको खडेरीलाई तोड्ने लक्ष्यमा फ्रान्स देखिन्छ । यदी फ्रान्सले उपाधि जितेको अवस्थामा जमर्नी र स्पेनसँगै ३/३ पटक उपाधि जित्ने समूहमा फ्रान्स थपिनेछ ।

पोर्चुगल

अर्काे बलियो दाबेदारको रुपमा क्रिस्टयानो रोनाल्डोको टिम पोर्चुगललाई हेरिएको छ । सन् २०१६ मा रोनाल्डोले पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि जिताएका थिए । यद्यपि घाइते भएका कारण फाइनल खेल पुरै समय उनले खेल्न पाएका थिएनन् ।

सम्भवत आफ्नो अन्तिम युरोकप भएकाले रोनाल्डोका लागि जमर्नी युरोकप विशेष बन्न सक्छ ।



पोर्चुगलको अहिलेको रेकर्ड पनि निकै राम्रो छ । युरोकप छनोटका १० खेलमा १० वटैमा जित निकालेको थियो । त्यसमा पोर्चुगलले ३६ गोल गर्‍यो भने जम्मा २ गोल मात्रै खाएको थियो । यही गतिलाई कायम राखेमा पोर्चुगल युरोकप २०२४ को च्याम्पिन बन्न सक्ने देखिन्छ ।

कतिपय फुटबल विश्लेषक भने यसलाई युरोकपसँग दाँज्न नमिल्ने बताउँछन् । किनकि पोर्चुगलले छनौट चरणमा कमजोर मानिएका टिमहरूसँग प्रतिस्पर्धा गरेकाले उक्त नतिजा अपेक्षित रहेको फुटबल विश्लेषकहरूको बुझाइ छ ।

रोनाल्डोका साथै ब्रुनो फर्नान्डेस, बर्नाडो सिल्भा, रुबेन डायस, जोआओ फेलिक्स, क्यान्सेलोजस्ता खेलाडी अहिले पोर्चुगलको टिममा छन् ।

इंग्ल्याण्ड

युरोकप २०२० को उपविजेता इंग्ल्याण्डलाई जर्मनी युरोकपमा तेस्रो दाबेदारको रूपमा हेरिएको छ । ह्यारी केन, जड बेलिङ्घम, फिल फोडेन, बुकायो साका जस्ता स्टार र युवा खेलाडीको साथ इंग्ल्याण्डलाई छ । त्यसैले ‘थ्री लायन्स’लाई यो पटक निकै बलियो रुपमा हेरिएको छ ।

लिगमा प्रभाव जमाएका खेलाडीको वर्चश्व इंग्ल्याण्डसँग छ । कतिसम्म भने म्यानचेस्टर युनाइटेडका प्रमुख फरवार्ड मार्कुस रास्फोड जस्ता खेलाडीसमेत इंग्ल्याण्डको टोलीमा नपर्नु भनेको इंग्ल्याण्ड कति प्रभावशाली खेलाडी छन् भन्ने सन्देश रहेको फुटबल विज्ञहरू बताउँछन् ।

युरोकपको छनोट खेलमा इंग्ल्याण्ड अपराजित टिम हो । इंग्ल्याण्डकै खेलाडी वर्चश्व रहेका टिम म्यानचेस्टर सिटी, चेल्सी, लिभरपुलले पछिल्लो समय च्याम्पियन्स लिगमा समेत प्रभाव जमाइरहेका छन् ।

जर्मनी

आयोजक राष्ट्र जर्मनी युरोकपको सर्वाधिक सफल टिम हो । अहिलेसम्म सबैभन्दा बढी ३ पटक जर्मनी र स्पेनले मात्रै युरोकप जितेका छन् । तर जर्मनीले उपाधि नजितेको धेरै भइसक्यो । अन्तिम पटक सन् १९९६ मा युरोकप जितेयता जर्मनीले युरोकपको ट्रफी उचाल्न सकेको छैन ।

२०२३ त जर्मनीका लागि निकै खराब थियो । ९ वटा मैत्रीपूर्ण खेलमा जर्मनीले ५ वटा खेलमा हारेको थियो भने २ मा जित र २ मा बराबरी खेल्यो । तर २०२४ को सुरुवात भने जर्मनीले निकै सानदार गरेको छ । मार्चमा नेदरल्याण्ड र फ्रान्सलाई हराउँदै आफ्नो लय देखाएको थियो ।

जर्मनीको मिडफिल्डका मियो टोनी क्रुजका लागि युरो कप राष्ट्रिय टिमबाट खेल्ने अन्तिम प्रतियोगिता हो । युरोकपपछि उनले सन्यास लिन घोषणा गरिसकेका छन् ।

जर्मनीसँग बार्यन म्युनिखका खेलाडीहरूको वर्चश्व छ । मुलर जस्ता अनुभवी खेलाडी पनि जर्मनीमा छन् ।

इल्के गुन्डोगान, जमल मुसियाला, फ्लोरिन रिच्डजस्ता प्रतिभाशाली खेलाडी मैदानको हरेक भागमा पुग्न सक्छन् । उनीहरू कुनै पनि बेला मिडफिल्डदेखि गोल गर्ने क्षमता पनि राख्छन् । यसका साथै आयोजक राष्ट्र भएकाले दर्शकको थप साथले जर्मनीलाई थप मनोबल बढ्नेछ ।

स्पेन

जर्मनीजस्तै ३ पटक युरोकप जित्ने अर्को टिम हो स्पेन । २००८ मा युरोपकप, २०१० मा विश्वकप र २०१२ मा फेरि युरोकप जित्दै एकसाथ तीन ठूला प्रतियोगिता जित्दै सनसनी मच्चाएको स्पेन अहिले युवा खेलाडीहरूले भरिभराउ छ । निकै प्रशाभशाली र युवा खेलाडीहरू भए पनि सधैं एउटा प्रश्न स्पेनको टिममाथि तेर्सिंदै आएको छ– बल पोसेसन बढी हुनु भनेको खेल जित्नु हो ?

किनकि बल नियन्त्रणमा राख्ने तर गोल गर्न असफल हुने समस्याबाट स्पेन अछुतो छैन । यसलाई पुष्टि गर्न सन् २०१८ को विश्वककपमा रसिया, २०२१ को युरोकपमा इटाली र २०२२ को विश्वकपमा मोरक्कोसँगको हारलाई हेरे पुग्छ । फुटबल राम्रो खेल्ने, पकड आफ्नो नियन्त्रणमा लिने र बराबरी खेल्दै यी तीन वटै टोलीसँग पेनाल्टी सुटआउटबाट स्पेन बाहिरिएको थियो ।

त्यसो त यो पटक स्पेन युरोकपको ‘ग्रुप अफ डेथ’ मा छ । स्पेनसँगै यो समूहमा क्रोएसिया र इटाली छन् ।

स्पेनको टोलीमा बार्सिलोनाका खेलाडीहरूको वर्चश्व छ । स्पेनको मिडफिल्डलाई सबैभन्दा बलियो मानिन्छ । म्यानचेस्टर सिटीका मुख्य मिडफिल्डर रोड्री, बार्सिलोनाका, पेड्री जस्ता खेलाडी स्पेनसँग छन् । युवा खेलाडी लामिने यामल, फेरान टोरेस, विलियम्स, मोराटाले फ्रन्टलाइन धान्नेछन् ।

बेल्जियम

सामान्यतयाः बेल्जियम फुटबलको भविष्यवाणी गर्न कठिन मान्छन् फुटबलका जानकारहरू । किनकि केही नतिजाहरू बेल्जियम निकै उत्साहित हुन्छ, तर लगत्तै केही नतिजाबाट निराश हुनुपर्ने पनि देखिन्छ । त्यसैले बेल्जियम फुटबलको भविष्यवाणी त्यति सहज मानिँदैन ।

म्यानचेस्टर सिटीबाट खेल्ने केभिन डी–बु्रयन, जेम्स डोकु जस्ता खेलाडी बेल्जियमको टिममा छन् । युरोकप छनौटमा १४ गोल गर्दै छनौट चरणमा सबभन्दा बढी गोल गर्ने खेलाडी रामेलु लुकाकु पनि बेल्जियमको फ्रन्टलाइनमा हुन्छन् ।



तर मुख्य गोलरक्षक थिबाउट कोर्टुवा टिममा नभएकाले बेल्जियमका लागि निकै महँगो पर्न सक्छ । रियल मड्रिडका निकै अनुभवी र च्याम्पियन्स लिग विजेता कोर्टुवाले पुरै सिजन बेन्चमा बिताएका थिए । च्याम्पियन्स लिगको फाइनलमा भने फिट हुँदै उनी मैदानमा उत्रिएका थिए ।

तर प्रशिक्षक डोमेनिको टेडेस्कोसँगको खराब सम्बन्धका कारण उनी टिम बाहिर परेको बताइन्छ । यो पटक सन् २०२२ को विश्वकपको भन्दा बेल्जियमको डिफेन्स लाइन राम्रो छ । जान भेर्टोगेन, आर्थुर थिएट, जेनो डेबास्ट, वउट फेइस, थोमस मुनियर डिफेन्स लाइनमा छन् ।

इटाली

साविक विजेता इटाली युरोकपको ‘गु्रप अफ डेथ’ मा छ । इटालीको समूहमा क्रोएसिया र स्पेनजस्ता ठूला टिम छन् । २०२० को डिफेन्डिङ च्याम्पियन इटाली भने २०२२ को विश्वकपमा छनौट समेत हुन असफल भएको थियो ।

युरोकप जितेपछि निराशाजनक प्रदर्शन गरेको इटाली निरन्तर खराब प्रदर्शनपछि प्रशिक्षक परिवर्तन गर्न समेत बाध्य भएको थियो । २०२४ मा भने इटाली अपराजित छ । टिममा रहेर पनि खेल्न नखेल्ने दुबिधामा रहेका निकाला बारेला फिट भएको अवस्थामा इटाली थप शसक्त बन्न सक्ने छ । इटाली यस पटक मुख्यगरी फ्रन्टलाइनमा जियानलुका स्कामाका भर पर्नेछ ।

क्रोएसिया

युरोपियन फुटबलमा क्रोएसिया अभागी टिम हो । उसले चार युरोकपमा नकआउट चरण जितेका पनि छैन । तर यो पाँचौं पटक क्रोएशिया भाग्यशाली हुन्छ वा त्यही नियति दोहोरिन्छ, त्यो हेर्न बाँकी छ ।

क्रोएसिया स्पेन र इटालीकै समूहमा छ । क्रोएसियासँग लुका मोड्रिच जस्ता अनुभवी खेलाडी पनि छन् । कतिपय फुटवल विज्ञहरुले क्रोएसिया दुई पुस्ता (अनुभवी र युवा) खेलाडीको मिश्रण रहेको बताउँछन् । दुई पुस्ताको तालमेल मिलेको अवस्थामा क्रोएसियाले २०१८ को विश्वकपमा जस्तै नतिजा निकाल्न सक्छ ।

नेदरल्याण्ड्स

फिटनेस होस् वा फर्म नेदरल्याण्ड्सले यो प्रतियोगिता सुरु हुनै लाग्दा दुवैमा समस्या भोगेको छ ।

मिडफिल्डका मुख्य भरपर्दा खेलाडी फ्रान्की डी जोङ चोटसँग जुधिरहेका छन् । स्ट्राइकर मेम्फिस डिपायको फर्म कस्तो रहन्छ, त्यसमा पनि नेदरल्याड्सको यात्रा भर पर्नेछ । आरबी लेइपजिगका मिडफिल्डर जाभी सिमोस्न क्लबकै जस्तो फर्म युरोकपमा दोहोराउन सके नेदरल्याण्डस् मजबुत हुनेछ । नेदरल्याण्डसँग भर्जिल भान डाइक, डम्फ्रिज र कोडी गोक्पाजस्ता खेलाडीको साथ रहेनछ ।

डेनमार्क

युरो २०२० मा सनसनी मच्चाउँदै सेमीफाइनल पुगेको टिम हो डेनमार्क । मुख्य खेलाडी एरिक्सन सुरुको खेलमै मैदानमै ढलेपछि डेनमार्कले बाँकी खेल एरिक्सन बिनै खेल्नु परेको थियो ।

युरोकप २०२० मा उत्कृष्ट प्रर्दशन गरेको डेनमार्कले विश्वकपमा पनि सन्तोषजन प्रदर्शन गर्यो । चार वर्षको अघिको युरोकपमै धेरै खेलाडी डेनमार्कको राष्ट्रिय टोलीमा छन् । जसकारण उनीहरुका अधिकांश खेलाडीहरु ३० वर्षमाथिका छन् । अनुभवी खेलाडीले डेनमार्क भरिभराउ छ ।

डेनमार्कमो कोही नोटेबल एक खेलाडी भन्दा पनि समग्रमा सन्तुलन मिलेको टिमको रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...