मुख्य समाचार
शिक्षा, श्रम र कृषिमन्त्रीलाई सांसदले सोधे : गरिब र निमुखालाई बजेटमा के आयो ?
शिक्षा, श्रम र कृषिमन्त्रीलाई सांसदले सोधे : गरिब र निमुखालाई बजेटमा के आयो ?

। प्रतिनिधिसभामा मंगलबारदेखि मन्त्रालयहरुको बजेटमाथि छलफल सुरु भएको छ ।

मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि सांसदहरुले आआफ्नो धारणा राखेका छन् ।


सरकारले आगामी आर्थिक बर्षका लागि शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड, कृषिमा ५७ अर्ब २९ करोड र श्रममा ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयगत बजेट छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले तीनवटै मन्त्रालयको बजेटमा गरिब र निमुखालाई के आयो भनेर खोज्दा फेला पार्न नसकेको बताइन् ।


‘यस्तै प्रकारको बजेटले हामीले चाहेको समाजवादउन्मुख देश बनाउन सकिँदैन । गरिब र निमुखाहरुको उत्थान गर्नुको बदलामा उनीहरुलाई नै पेल्ने खालको बजेट आएको छ’, उनले भनिन् ।

कांग्रेसकै सांसद सञ्जयकुमार गौतम कृषिमा लगानी दशक घोषणा भएको तर बजेट भने घटाइएको बताए । नेपालका परम्परागत खाद्यान्नका बाली समेत संरक्षण गर्न नसकिएको भन्दै उनले भने, ‘धानका रैथाने बीऊ हराए । आज केवल हाइब्रिड छ ।’

किसानले सरकारले दिएको अनुदान पाउन नसकिरहेको सांसद गौतमले बताए । ‘जागिर खुले कार्यकर्ताले पाउँछ ।अनुदान पनि कार्यकर्ताले नै लान्छ । खै किसान लक्षित कार्यक्रमको प्रभावकारिता ?’, उनले प्रश्न गरे ।

कृषि र शिक्षामा प्राथमिकता दिन सके विदेश गएका युवा नेपाल फर्किने र नेपालबाट युवाहरु कामकै लागि विदेश नजाने उनको भनाइ छ ।

कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको इतिहास युवालाई पढाउन नसकिएको बताउँछन् । यसलाई बजेटले ख्याल नगरेको उनको टिप्पणी छ । ‘मेरो देशको समाज र संस्कृति अरुको भन्दा विशिष्ट छ, यसमा म गौरव गर्छु भन्ने कुरा हाम्रो बच्चाले पाठ्यक्रममा पढ्न पाउँदैनन्’, उनले भने ।

नेपाली शिक्षालयमा चिकित्सा शिक्षाका विषय पढ्न कोटा तोक्दा धेरै विद्यार्थी विदेश गइरहेको उनले बताए । जडिबुटीको खोज र उपयोग गर्ने भन्दा नाफाका लागि बनेका औषधिहरु प्रयोग गर्ने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा मन्त्रालय र कृषि मन्त्रालयले ख्याल गर्नुपर्ने सांसद भण्डारीको सुझाव छ ।

नेकपा एमालेकी सांसद मेनुकाकुमारी पोखरेलले विश्वविद्यालय खोल्ने होड देखिएको तर कस्तो जनशक्ति उत्पादन गर्ने भन्नेमा ख्याल नभएको बताइन् । ‘हामी शिक्षालाई प्राथमिकतामा राख्या भन्छौं । नारामा धेरै राख्यौं । व्यवहारमा कार्यान्वयन गर्ने कुरा बजेटमा पाउन सकिएन’, उनले भनिन् ।

उच्च शिक्षा हासिल गरेका युवाहरु कहाँ छन् भनेर शिक्षा, श्रम र कृषि मन्त्रालयले खोज्नुपर्ने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयमा केही राम्रा योजना रहे पनि लम्बेतान कार्यक्रम राखिएको बताए । उनले देशभरिका सामुदायिक क्याम्पसहरु बन्द हुने अवस्थामा रहेको विषयमा सरकारले ख्याल गर्नुपर्ने बताए ।

प्रावधिक शिक्षा, श्रम र कृषि मन्त्रालय आपसमा सम्बन्धित रहेको बताउँदै सांसद पौडेलले ९ देखि १२ कक्षासम्म र उच्च शिक्षामा प्राविधिक विषय पढाउनुपर्ने बताए ।

‘शिक्षालाई सीपसँग नजोड्ने, सीपलाई श्रम र उत्पादनसँग नजोड्ने हो र शिक्षालाई खाली पढाइ भनेर अगाडि बढाइयो भने देशले प्रगति गर्न सक्दैन’, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ठोस कार्यक्रम ल्याए मात्र प्रभावकारी काम गर्न सकिने बताए । ‘टुक्रे बजेट माग्ने अनि देशमा संस्थागत सुधार खोज्ने ?’ भन्दै उनले सांसदहरु पनि सुध्रनुपर्ने बताए ।

वैदेशिक रोजगारीमा सीपयुक्त मानिस कत्तिको पठाइँदै छ भन्ने ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले शिक्षा, श्रम र कृषि आपसमा अन्तरसम्बन्धित रहेको बताइन् । उनी भन्छिन्, ‘शिक्षित भयो भने श्रममा काम लाग्छ र कृषिमा पनि काम लाग्छ ।’

जनमत पार्टीका सांसद अब्दुल खानले ‘किसान कार्ड’ को व्यवस्था गर्नुपर्ने धारणा राखे । ‘एउटा मास्टरको, डाक्टरको, ड्राइभरको, माननीयहरुको कार्ड हुन्छ । किसानको कार्ड किन भएन सरकार ?’, उनले सोधे ।

किसानहरुलाई परिचय पत्र दिएर त्यसमार्फत उनीहरुका लागि आवश्यक सहुलियत, अनुदान दिन सकिने र यसमार्फत किसानहरुलाई प्रोत्साहित गर्न सकिने उनको सुझाव छ ।

नेकपा एकीकृत समाजवादीका सांसद अम्बरबहादुर थापाले तीनवटै मन्त्रालयको बजेट गरिबी अन्त्य गर्ने गरी आउन नसकेको टिप्पणी गरे । ‘कृषिबाट मात्रै नेपालको गरिबी अन्त्य हुन्छ भन्ने सरकारले बुझेन सकेन । गरिब किसानको जीवनस्तर माथि नउकासिएसम्म देश माथि उकासिँदैन’, उनले भने ।

विदेश जाने युवाहरु पनि दक्ष नरहेको र दक्ष नहुनुको प्रमुख कारण गरिबी रहेको उनको बुझाइ छ । ‘उनीहरुलाई दक्ष बनाएर रोजगार, स्वरोजगार हुने वा विदेश गए पनि दक्ष भएर जाने वातावरणका लागि बजेट आएन । यो क्षमता सरकारले राख्न सक्नुपर्ने हो’, उनले भने ।

कुनै देशलाई लथालिङ्ग पार्नु छ भने त्यस देशको शिक्षालाई लथालिङ्ग पारिदिए हुन्छ भन्ने नेल्सन मण्डेलाको भनाइ उद्धृत गर्दै उनले भने, ‘शिक्षाबाटै देशको नीति तय हुन्छ । शिक्षामै देश छ । यसमा ध्यान नदिएसम्म देश अगाडि बढ्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै ...
: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् उक्त दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी छन्। बुधबार भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा चारनेपालीसहित ११ जनाको ज्यान गएको छ । मन्त्री राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ...
— अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो । भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र ...
— भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी भोजपुरको पात्लेपानी गाउँपालिका-६ घर भई हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको हो । मध्यपुरथिमि नगरपालिका-२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र. ०१-०२७ च.९२७ नम्बरको कारलाई सोही दिशातर्फ ...
: पुतलीबजार नगरपलिका –१४ लामागे फाँटमा बुधबार भेटिएको टुईचमोटर बम बिहीबार डिस्पोज गरिएको छ। सिंह सारदुल गुल्म आँधीखोला ब्यारेक स्याङजाको टोलीले बिहीबार बम डिस्पोज गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। भेटिएको सो वस्तु टुईचमोटरमा लाग्ने इचही बम भएको पौडेलको भनाई छ। लामागेस्थित बिष्णुप्रसाद पौडेलको खेतमा जैसिनीद्वारा खेत सम्याउने क्रममा खेतको सतहबाट भन्दा १ ...