मुख्य समाचार
कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण
कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् ।

डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् । ३४ वर्षीय किरण वर्तमान नेपाली फुटबल टोलीको सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।

नेपाली टोलीको साउदी अरेबिया भ्रमणदेखि नै किरणले एक सय खेल पूरा गर्ने विषयमा चर्चा हुँदै आएको थियो । अब उनी त्यो दुर्लभ कीर्तिमानको निकै नजिक छन् । कुनै आश्चर्य नभएमा किरण नेपालका लागि १०० खेल खेल्ने पहिलो फुटबलर बन्नेछन् ।

धनकुटाको एउटा सामान्य परिवारबाट उमेर समूह र सिनियर राष्ट्रिय टिम हुँदै नेपालको नम्बर वान गोलकिपर अनि हाल कप्तानीसमेत गरिरहेको किरण आफ्नो कीर्तिमानभन्दा पनि देशका लागि खेल्नु पाउनु सबैभन्दा गर्वको क्षण मान्छन् ।

‘देशको जर्सी लगाउँदा खुशी लाग्छ र देशको जर्सी लगाउनु प्राउड मोमेन्ट हो’, किरणले यमनसँग खेल्नुअघि साउदीमा पत्रकारहरुसँग भनेका थिए, ‘विदेशी भूमि वा घरेलु मैदानमा खेल्दा मलाई जहिले पनि गुजबम्प आउँछ । म देशको लागि खेल्दैछु फाइट गर्नुपर्छ भन्ने भावना आउँछ । कप्तान मात्र नभएर देशकै प्रतिनिधधित्व गर्दा छुट्टै महसुस हुन्छ ।’

किरणले अब कति वर्ष खेल्छु भनेर नसोचेको र स्वास्थयले साथ दिएसम्म खेल्ने बताएका छन् । ‘त्यस्तो कुनै क्याल्कुसेन मैले गरेको छैन । सबै कुरा हेल्थ हो । मरो हेल्थ राम्रो भएन भने मैले प्रेडिक्ट गरेर भनेर पनि हुँदैन । हेरम कति खेल्न सकिन्छ देशका लागि । र एउटा समय त आइहाल्छ’, उनले भनेका छन् ।



अहिले आफूले राष्ट्रिय टिमसँग खेल्दा रमाइरहेको उनले बताए । भन्छन्, ‘अहिले म टिमसँग इन्जोए गर्न चाहन्छु । जति खेल्छु मेरो टिमसँग नेपाली फुटबलका लागि के गर्न सकिन्छ भनेर त्यही सोचेर खेलिराछु ।’

नेपालले अन्तिम खेलमा यमनविरुद्ध अंककै लागि खेल्ने र अंक लिएर फर्कने किरणले बताएका छन् । यमनसँग पहिलो खेल होम ग्राउण्डमा नेपालले हार व्यहोरेको थियो । ‘अहिलेसम्म हामी प्वाइन्टलेस छौँ । त्यस खेलमा प्वाइन्ट लियौँ भने एसियन कप छनोटका लागि राम्रो हुन्छ’, उनले भने, ‘ सबै जना अंक जोड्नुपर्छ भनेर लागेका छन् ।’

किरणले नतिजा नआउँदा सबैलाई दु:ख लागे पनि नेपालको फुटबलको स्थिति र वास्तविकतालाई हेर्नुपर्ने बताए । ‘रिजल्ट नआउँदा समर्थकहरु सबैलाई नराम्रो लाग्छ । तर रियालिस्टिकमल्ली हामी कहाँ छौँ र कुन परिस्थितीमा छौँ भनेर हेर्नुपर्छ’, किरणले भने, ‘हामीले पहिलो चरणमा लाओसलाई जितेर आएका हौँ । अब युएई अर्कै लेभलको छ । उनीहरु प्रोफेसनल खेलाडी धेरै छन् । अब हाम्रो टिममा रोहित र म मात्रै हो । मनिष भाइ कहिलेकाहीं बाहिर खेल्छ । प्रोफेसनल खेलेको खेलाडी भयो भने छुट्टै खालको हुन्छ ।’

यस्तो थियो किरणको राष्ट्रिय टिमको यात्रा

धनकुटाको राजारानीमा सन् १९९० मा जन्मिएका किरणले स्कुलदेखि नै फुटबल खेल्न थालेको थिए । तर त्योबेला खेल्नको लागि सहज अवस्था थिएन ।

१३ वर्षको उमेर देखि उनले फुटबल खेल्न थालेका थिए । सुरुमा उनी १४ वर्षको हुँदा उनी इन्टर स्कुल मायोज कप प्रतियोगिता खेल्न काठमाडौं आएका थिए । त्यसमा सेमिफाइनलमा काठमाडौंसँग हारेर फर्किएका उनलाई तत्कालै यू-१६ छनोटका लागि बोलाइयो र छनोट पनि भए । उनको उचाइ राम्रो भएकोले गोल रक्षकको भूमिका निभाउँथे । पछि त्यसमै करियर बनाए ।

त्यसपछि उनको करियरले उकालो यात्रा तय गर्‍यो । किरणले यू-१६ देखि यू-१७ र यू-१९ बाट पनि खेले । उनले यू-१९ खेल्दै गर्दा सिनियर राष्ट्रिय टिमसम्म अवसर पाए । उमेर समूहमा राम्रो प्रदर्शन गरेपछि उनले सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

सुरुमा उनले मछिन्द्र क्लबबाट करियर सुरु गरेका थिए । मछिन्द्रमा एक वर्ष खेलेपछि थ्रीस्टारको नजर उनमा पर्‍यो । लगत्तै अर्को वर्ष थ्री स्टारले किरणलाई भित्र्यायो । त्यसपछि किरणले करियरले रफ्तार लियो ।

किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध नेपालको सिनियर टिमबाट डेब्यु गरेका थिए । भियतनामको फ्नोम पेनमा स्थित नेशनल ओलम्पिक स्टेडियममा सन् २००८ मे २४ मा मकाउविरुद्ध पहिलो रोजाईमा खेलेका उनी २४ मिनेटपछि नै घाइते भएर मैदान बाहिरनु परेको थियो । त्यसपछि झण्डै ३ वर्ष राष्ट्रिय टिमबाट बाहिर रहेका उनले मिहिनेत गरेर राष्ट्रिय टिममा पुनरागमन गरे । त्यसपछि भने पछि फर्केर हेर्नुपरेको छैन ।

उनको पुनरागमनमा नेपालले भुटानविरुद्ध खेलेको दुई मैत्रीपूर्ण खेल जितेको थियो । त्यसयता किरण लगातार नेपाली टिममा छन् । कुनै समय उपेन्द्रमान सिंहको खेल हेरेर राष्ट्रिय टिमसम्म पुग्ने सपना बोकेका किरणलाई पछिल्लो समय आफैं नयाँ पुस्ताका एक आदर्श खेलाडी बन्न पुगेका छन् ।



किरणले नेपालको ए डिभिजन लिग र राष्ट्रिय लिगको उपाधि मात्र नभई भारत र माल्दिभ्समा समेत शीर्ष डिभिजनको उपाधि जितेका छन् । उनले नेपालको ए डिभिजन लिग (थ्रीस्टार), माल्दिभ्सको धिवेही प्रिमियर लिग (टीसी स्पोर्ट्स) र (माजिया एस एण्ड आरसी) र भारतको आई लिग (मिनेरवा पन्जाब) जितेका छन्  । यस्तै तीनवटै देशमा व्यक्तिगत अवार्ड समेत जितेका छन् ।

नेपाली राष्ट्रिय टिमबाट भने उनले सन् २०१६ मा एएफसी सोलिडारिटी कप जितेका थिए । जुन नेपालले एएफसीको आधिकारिक प्रतियोगिता जितेको पहिलो हो । यसैगरी किरणले घरेलु मैदानमा भएको थ्री नेशन्स कप उपाधि दुई पटक जितेका छन् ।

किरण आफ्नो करियरको उत्तरार्धतिर छन् । अब नेपाली टिममा नयाँ गोलकिपर तयार पार्नुपर्ने अवस्था आइसकेको छ । किरण पनि आफ्नो अनुभव नयाँ पुस्तालाई सिकाउन चाहन्छन् ।

किरणले राष्ट्रिय टिममा डेब्यु गर्दा विकास मल्ल, रितेश थापाजस्ता चर्चित किपर थिए । तर उनले दुवैलाई पछि पार्दै पहिलो रोजाइमा खेल्न थालेका थिए र त्यसमै निरन्तरता पाए । किरणले खेल्न थालेपछि राष्ट्रिय टिमसम्म धेरै किपर आए तर कोही पनि लामो समय टिक्न सकेनन् ।

किरणपछि राष्ट्रिय टिममा परेका विकेश कुथु, विशाल श्रेष्ठलगायत अधिकांश समय किरणकै छायाँमा परे ।

विकेशले भने बंगबन्धयु गोल्डकप, १२औं साग र १३औं साग पहिलो रोजाइमा खेल्दै उपाधि जितेका थिए । विशालले त एक दशकमा जम्मा एक खेलमात्र खेल्न पाए त्यो पनि वैकल्पिक खेलाडीको रुपमा जम्मा १० मिनेट । उनले सन्यास पनि लिइसके ।

पछिल्लो समय दीप कार्की दोस्रो रोजाइको किपरमा थिए । यसबीचमा दीपसँगै विशाल सुनार, टिकेन्द्र थापा, अनिष देउला अभिषेक बराल लगायत किपर राष्ट्रिय टिममा परेका छन् । तर दीपबाहेक अरुले डेब्यु गर्ने अवसर पाएका छैनन् ।

३ देशको लिग जित्ने नेपाली खेलाडी

किरण हाल इन्डियन सुपर लिग (आईएसएल) मा पञ्जाव एफसीमा अनुबन्ध छन् । उनले पञ्जाबबाट धेरै सफलता हात पारिसकेका छन् । उनी तीन फरक देशमा लिग जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् ।

किरणले नेपालमा थ्रीस्टारबाट लिग जितेका थिए । यस्तै उनले माल्दिभ्समा टिसी स्पोर्ट्स र माजिया एस एण्ड आरसी तथा भारतमा मिनेरवा पञ्जाव/राउण्ड ग्लास पञ्जावबाट लिग जितेका छन् । यस्तै उनले ३ देशमा उत्कृष्ट किपर हुँदै गोल्डेन ग्लोभ्स अवार्ड समेत जितेका छन् ।

पञ्जावबाट आई लिग जितेपछि किरणको टोली आईएसएलमा छनोट भएको हो र उनी पहिलो पटक आईएसएल खेलिरहेका छन् । किरणले २०७८ सालमा नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) पनि खेलेका थिए ।

आइकोनिक प्लेअरको रुपमा धनगढी एफसीमा खेलेका उनले कप्तानी गर्दै टिमलाई उपविजेता बनाएका थिए । त्यसमा पनि किरण उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...