मुख्य समाचार
६ देशका खेलाडी मिलेर मजबुत बनेको अमेरिका
६ देशका खेलाडी मिलेर मजबुत बनेको अमेरिका

। आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकाले सुरुवाती दुई खेलमा सानदार प्रदर्शन गरेको छ । पहिलो खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा मात्रै ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।

उक्त खेलमा आरोन जोन्सले ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनको विष्फोटक इनिङ खेलेका थिए । उक्त इनिङबाट जोन्सले विश्वको ध्यान आफूतिर ताने ।

बिहीबार अमेरिकाले टी–२० विश्वकप इतिहासकै एक ठूलो उथलपुथल गर्न सफल भयो । त्यो थियो टी–२० विश्वकप विजेता पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्नु । गत संस्करण २०२२ को फाइनलमा पुगेको तथा २००९ को च्याम्पियन पाकिस्तानलाई अमेरिकाले हराइदियो ।

वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजम, मोहम्मद रिजवान र फखार जमान जस्ता ब्याटर भएको पाकिस्तानलाई अमेरिकाले १५९ रनमै रोकेको थियो । वर्तमान विश्व क्रिकेटको उत्कृष्ट र तीव्र गतिको बलिङ आक्रमण भएको पाकिस्तानविरुद्ध अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई १५ रन चाहिएको थियो । वर्तमान विश्व क्रिकेटमा सर्वाधिक गतीमा बलिङ गर्ने हरिस रौफविरुद्ध आरोन जोन्स र नितेश कुमारले १४ रन जोड्दै सुपर ओभरमा खेल पुर्याएका थिए । सुपर ओभरमा अमेरिकासँग पाकिस्तान स्तब्ध भयो ।

भारतसँग पनि पराजित पाकिस्तान समूह चरणबाटै बाहिरिने संघारमा छ भने अमेरिका सुपर–८ खेल्ने बलियो सम्भावना छ ।

अमेरिकाले विश्वकप अघि ह्युस्टनमा अर्को टेस्ट टोली बंगलादेशविरुद्ध टी–२० आई सिरिज २–१ ले जितेको थियो । उक्त सिरिजबाट मोमेन्ट्स कायम गर्न सफल भयो । पहिलो पटक टी–२० विश्वकप खेलेको अमेरिकाले सानदार प्रदर्शन गर्न सफल भएको थियो । सह–आयोजक हुँदा अमेरिका पहिलो पटक सोझै विश्वकप खेल्न पाएको थियो ।

अमेरिकाले सानदार प्रदर्शन गर्नुमा घरेलु मैदान, कन्डिसन, मेजर लिग र टेस्ट टोलीका खेलाडी समेट्नु हो । त्यसमा पनि टेस्ट टोलीका खेलाडी हुनु प्रमुख आधार हो । टेस्ट टोलीबाट घरेलु, उमेर र सिनियरबाट खेलको अनुभव छ । विश्वस्तरीय खेलाडीसँग खेलेको अनुभव हुँदा विश्वकपमा ठूला टोलीविरुद्ध प्रदर्शन गर्न सहज भएको छ ।

अमेरिकाको १५ सदस्य टोलीमा अहिले १२ खेलाडी अन्य देशबाट आएर खेलेका छन् । क्यानडाविरुद्ध ९४ रन बनाउने आरोन जोन्स, ओपनर स्टिभ टेलर, जसदीप सिंह र नोष्थुश केन्जिगे अमेरिकामा जन्मिएका खेलाडी हुन् । उनीहरुका बुबा–आमा अमेरिका बसाइँ सरेर गएका थिए । टेलर जमैका, जोन्स बार्बाडोस, जसदीप र केन्जिगेका बुबा–आमा भारतीय मूलका थिए । जन्म अमेरिकामा भए पनि सिकाइ वेष्टइण्डिज र भारतमा गएर गर्न पाए ।

अन्य कुन खेलाडी कुन देशका ?

पाकिस्तानलाई सुपर ओभरमा हराउन मात्रै १३ रन खर्चेका सौरभ नेत्रवालकर भारतबाट सन् २०१० मा यू–१९ विश्वकप खेलेका खेलाडी हुन् । उनले मुम्बईबाट सन् २०१३ मा रणजी ट्रफी खेलेका थिए । पाकिस्तानलाई हराउन ५० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका मोनांक पटेलले गुजरातबाट यू–१८ सम्मको घरेलु क्रिकेट खेलेका थिए ।

स्पिन अलराउण्डर हरमित सिंहले सन् २०१० र २०१२ मा भारतबाट यू–१९ विश्वकप खेलेका थिए । सन् २०१३ को आईपीएल स्पट फिक्सिङमा पनि उनको नाम मुछिएको थियो । त्यस्तै निसर्ग पटेलको जन्म गुजरातमा भएको थियो ।

सुपर ओभरमा इफ्तिखर अहमदको उत्कृष्ट क्याच लिएका मिलिन्ड कुमार एक समय भारतीय क्रिकेटका चर्चित खेलाडी थिए । ३३ वर्षीय कुमारले दिल्ली र सिक्किमबाट ४६ रणजी ट्रफी खेल्दै ९ शतक हानेका छन् । आईपीएलमा उनी दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरमा पनि आबद्ध भएका थिए ।

क्यानडाविरुद्ध ६५ तथा पाकिस्तानविरुद्ध ३५ रन बनाएका एन्ड्रिस गौस दक्षिण अफ्रिकी खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाबाट यू–१९ र घरेलुमा ६५ प्रथम श्रेणी खेल खेलीसकेका छन् ।

अमेरिकाको टोलीमा पाकिस्तानमा जन्मिएका दुई खेलाडी छन् । तीव्र गतिका बलर अली खान र ब्याटर शयान जहानजिर पाकिस्तानमा जन्मिएका खेलाडी हुन् । अलीखान १८ वर्षको उमेरमा पाकिस्तान छाडेका थिए । शयानले पाकिस्तानबाट यू–१९ क्रिकेट र घरेलु क्रिकेट दुबै खेलेका छन् ।

न्युजिल्यान्डका पूर्वसुपरस्टार ब्याटर कोरी एन्डरसन अमेरिका टोलीमा आएपछि माहोल झनै उत्कृष्ट बनेको छ । ३३ वर्षीय कोरीले १३ टेस्ट र ४९ ओडीआई न्युजिल्यान्डबाट खेलेका थिए । सन् २०१४ मा उनले वेष्टइण्डिजबाट ४७ बलमा ६ चौका र १४ छक्कासहित १३१ रन बनाएका थिए । कोरी मध्यक्रममा विष्फोटक ब्याटिङसँगै तीव्र गतिमा बलिङ पनि गर्दछन् ।

क्यानडामा जन्मिएर नितेश कुमारले त्यहीँबाट क्रिकेट खेलेका थिए । उनले सन् २०१० मा क्यानडाबाट डेब्यू गरेका थिए । तर यस पटकदेखि उनी अमेरिकाको टोलीमा छन् ।

समग्रमा भन्नुपर्दा अमेरिकी विश्वकप क्रिकेट टोलीका सदस्यहरु अमेरिकामै जन्मिएका तथा भारत, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान र न्युजील्याण्डमा जन्मिएकाहरु छन् ।

अमेरिकामै जन्मिएका : स्टिभ टेलर, आरोन जोन्स, जसदीप सिंह र नोेष्शुष केन्जिगे ।

भारत : मोनांक पटेल, हरम्रित सिंह, सौरभ नेत्रवालकर, निसर्ग पटेल र मिलिन्दकुमार ।

दक्षिण अफ्रिका : एन्ड्रिस गौस र शाड्लीभान शाक्ली ।

क्यानडा : नितेश कुमार

पाकिस्तान : अली खान र शयान जहानजिर ।

न्युजिल्यान्ड : कोरी एन्डरसन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...