मुख्य समाचार
पहिलो खेलबाटै लय समात्ने रणनीति
पहिलो खेलबाटै लय समात्ने रणनीति

— नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले मंगलबार (२१ः१५ बजे) आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा बहुप्रतीक्षित पुनरागमन गर्दै छ । दशकपछि ट्वान्टी–२० विश्वकपमा फर्किएको नेपालले डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा हुने यहीं खेलबाट लय समात्ने आस गरिएको छ ।

समूहमा आफूभन्दा निकै बलिया टोली रहेका कारण नेपाल पहिलो खेलबाटै आफ्नो उत्कृष्ट दिने दाउमा छ । नेपालले समूह ‘डी’ मा नेदरल्यान्ड्सबाहेक श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ । आईसीसी वरीयतामा होस् वा प्रदर्शनका हिसाबमा नेपालभन्दा सबै बलिया टोली हुन् ।

नेपालले सन् २०१४ यता पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलिरहेको छ । यता पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स २०२२ को पछिल्लो संस्करणमा सुपर १२ मा पुगेको थियो । नेदरल्यान्ड्सको यो नै उल्लेखनीय सफलता होइन । सन् २००९ को संस्करणमा नेदरल्यान्ड्सले इंग्ल्यान्डमाथि ४ विकेटको विजय हात पारेको थियो, त्यो पनि क्रिकेटको ‘मक्का’ मानिने लर्डसमा । सन् २०२२ मा दक्षिण अफ्रिकामाथि पनि नेदरल्यान्ड्सले ट्वान्टी–२० विश्वकपमै ३८ रनको स्मरणीय जित आत्मसात गरेको थियो ।

ठूला इभेन्टहरूमा बलिया राष्ट्रलाई ढाल्नु नै नेदरल्यान्ड्सको पहिचान हो । नोभेम्बरमा भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको थियो । यसपालिको विश्वकप अभ्यास खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले १ सय ८१ रन बनाउँदै श्रीलंकालाई १ सय ६१ रनमै अलआउट गरेको थियो । यसले डच टोलीको अलराउन्ड क्षमता प्रस्ट्याउँछ ।


नेपालसँग भने नेदरल्यान्ड्सको जितको शृंखला आलोपालो जस्तै छ । दुई टोलीबीचको पछिल्ला ५ खेलमा नेदरल्यान्ड्सले ३ र नेपालले २ खेलमा जितेको छ । नेपाललाई पराजित गर्दै मार्चमा घरेलु मैदानमा भएको नामिबियासम्मिलित त्रिकोणात्मक शृंखला नेदरल्यान्ड्सले जितेको थियो ।

‘ट्वान्टी–२० मा कुनै पनि टोलीले अर्को कुनै टोलीलाई पराजित गर्न सक्छ । नेदरल्यान्ड्सले वार्मअप खेलमा श्रीलंकालाई पराजित गरिसकेको छ, अमेरिकाले पनि ट्वान्टी–२० शृंखलामा बंगलादेशलाई दुई पटक हराइसकेको छ । त्यसैले मलाई विश्वास छ, हामीले विश्वकपमा राम्रो गर्नेछौं,’ नेपालले सुपर एटमा पुग्ने लक्ष्य बनाएको जनाउँदै कप्तान रोहित पौडेल भन्छन्, ‘नेदरल्यान्ड्ससँगको खेलप्रति नेपाली टोली केन्द्रित छ । यहींबाटै लय समात्नु जरुरी छ । खेलाडीहरू पनि आफ्नो भूमिकालाई लिएर स्पष्ट छन् ।’

तर, नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । क्यानडासँगको अभ्यास खेलमा नेपाल ६३ रनले पराजित भएको थियो । १ सय ८४ रनको लक्ष्य पाएको नेपाल १ सय २० रनमै अलआउट भएको थियो । यस स्थितिमा नेपालको अर्को चिन्ता ओपनिङ ब्याटिङको छ । पछिल्ला खेलहरूमा कुशल भुर्तेलको प्रदर्शन निराशाजनक छ । एसीसी प्रिमियर कपमा उनी लगातार तीन खेलमा शून्यमै आउट भए । वेस्ट इन्डिज ‘ए’ सँगको घरेलु ट्वान्टी–२० शृंखलाको चार खेलमा उनले ३२ रनमात्र बनाउन सके ।

सेन्ट भिन्सेन्ट र ह्युस्टनमा स्थानीय टोलीसँग खेलिएको अभ्यास खेलमा चल्न नसकेका भुर्तेलले क्यानडाविरुको अभ्यास खेलमा पनि १० रनमात्र बनाउन सके । उनको ओपनिङ जोडी आसिफ शेखले पनि पछिल्ला ६ खेलमा एकमात्र अर्धशतक बनाउन सकेका छन् भने ४ खेलमा दोहोरो स्कोर नै बनाउन सकेनन् । यी दुई त्यही जोडी हो, जसले २०२१ को अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा पहिलो विकेटमा १ सय १६ रन जोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार ‘डेब्यु’ गरेका थिए ।

नेपालको हालैका कमजोर नतिजाहरूलाई लिएर कप्तान रोहित समर्थकलाई चिन्ता नगर्न भन्छन् । ‘१–२ खेल तलमाथि हुन्छ, तर मलाई राम्रो खेल्नेमा आफ्नो टोलीमाथि विश्वास छ, चाहे त्यो ओपनिङ ब्याटिङमा होस् वा अन्यमा । ओपनिङ ब्याटिङले राम्रो गर्‍यो भने अरूलाई पनि सजिलो हुन्छ,’ रोहितले भने ।

नेपाली ब्याटिङको ठूलो आशा उनीमाथि छ । कुशल मल्ल, सन्दीप जोरा, गुलशन झाले मध्यक्रममा उनलाई साथ दिनेछन् । १० वर्षअघिको विश्वकप टोलीबाट हाल खेलिरहेका एकमात्र सदस्य सोमपाल कामीले करण केसीको साथ मध्यम गतिको बलिङ सम्हाल्ने छन् । स्पिनमा देव्रेहाते ललित राजवंशी र सागर ढकालमध्ये एकले मात्र स्थान बनाउन सक्छन् । अविनाश बोहरा क्यानडासँग राम्रो लयमा देखिएका थिए । ‘डेथ ओभर’ मा उनको बलिङ नेपाललाई निकै महत्त्वपूर्ण रहेको छ ।

नेदरल्यान्ड्सले कोलिन अकरमनको अनुपस्थितिमा माइकल लेभिटलाई टोलीमा राखेको छ । ४ महिनाअघि नेदरल्यान्ड्स टोली काठमाडौं आउँदा लेभिटले नेपालसँगको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको ३ खेलमा २ मा अर्धशतक बनाएका थिए । सोही शृंखलामा नामिबियाविरुद्ध उनले ६२ बलमै १० चौका र १२ छक्का प्रहार गरी १ सय ३५ रन बनाएका थिए ।

स्कट इडवार्डसको कप्तानीमा रहेको नेदरल्यान्ड्स टोलीमा बास डे लिड, लोगान भान बिक, म्याक्स ओ डावड, सिब्रान्ड इन्गेलब्रेक्ट, विक्रम सिंह, वेस्ली बारेसी जस्ता अनुभवी खेलाडी छन् । एसोसिएट वर्ष खेलाडी अलरान्डर डे लिड टोलीका प्रमुख खेलाडी हुन् । तर २४ वर्षे उनले पछिल्लो समय राष्ट्रिय टोलीबाट कमैमात्र ट्वान्टी–२० क्रिकेट खेलेका छन् ।

सन् २०२२ को ट्वान्टी–२० विश्वकपमा १३ विकेट लिएका उनले हालै आएर आयरल्यान्ड, स्कटल्यान्डविरुद्ध ट्वान्टी–२० का साथै श्रीलंकासँगको अभ्यास खेलमा खेलेका थिए ।

नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रसिंह ऐरीले खेल्ने निश्चित जस्तै छ । दुई साताअघि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा एङ्कलमा चोट लागेयता उनले खेलेका छैनन् । अमेरिकाविरुद्धको अभ्यास खेलमा उनी टोलीमै थिए । तर वर्षाका कारण त्यो खेल एक बल पनि फाल्न नपाई रद्द भयो । उनी टोलीमा फर्किएपछि अनिल साहले प्लेयिङ ११ बाट स्थान गुमाउनुपर्ने वातावरण बन्न सक्छ । लयमा देखिएका अनिलले क्यानडाविरुद्धको अभ्यास खेलमा १६ बलमा २४ रन बनाएका थिए ।

टेक्सासको मौसम बदलिएको छ । पछिल्ला चार दिनमा नियमित जस्तो वर्षा भइरहेको छ । अन्यथा उच्च आर्द्रतामा खेल्न सबै टोलीलाई कठिन बन्ने गरेको छ । नेपालले डालास नजिक रहेको सहर ह्युस्टनमा एक साता अभ्यास गर्दै दुई अभ्यास खेल खेलेको थियो । त्यसपछि डालास आएर क्यानडासँग अभ्यास खेल खेलेको हो । अमेरिकासँग भने वर्षाका कारण खेल हुन सकेन । ग्रान्ड प्रेरीको विकेटमा खेलिसकेका हुनाले यो फाइदा नेपाली टोलीलाई छ ।

फ्लोरिडामा श्रीलंकासँग अभ्यास खेल खेलेको नेदरल्यान्ड्सको क्यानडासँग अभ्यास खेल वर्षाका कारण टस पनि नभई रद्द भएको थियो, जसका कारण टोलीले डालासको विकेटबारे बुझ्न पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...