मुख्य समाचार
सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित
सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित

— सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।

पूर्वमुख्यमन्त्री चाम्लिङ आफैं दुवै क्षेत्रबाट पराजित भएका छन् । पोक्लोक-कामराङ विधानसभा क्षेत्रमा पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भएका हुन् । राईसँग चाम्लिङ ३ हजार ६३ मतको अन्तरले पराजित भएका हुन् । राईले ८ हजार ३७ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ७४ मत मात्र प्राप्त गरे । यस क्षेत्रमा भारतीय जनता पार्टीका अर्जुन राईले ७ सय ३९ मत ल्याए ।




पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि पराजित भएका छन् । उनलाई यस क्षेत्रमा एसकेएमका राजु बस्नेतले हराएका हुन् । बस्नेतले ७ हजार १ सय ९५ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । वर्तमान विधानसभामा चाम्लिङ एसडीएफका एक्ला सांसद थिए । स्यारी विधानसभा क्षेत्रमा एसकेएमका कुंगा निमा लेप्चालाई हराउँदै एसडीएफका तेन्जिङ नोर्बु लाम्ठा विजयी भएका छन् ।

वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) भने रेनोक र सोरेङ-चाकुङ दुवै क्षेत्रमा विजयी भएका छन् । सोरेङ-चाकुङमा तामाङले एसडीएफ उम्मेदवार डा. एडी सुब्बालाई ७ हजार ३ सय ९६ मतको अन्तरले हराएका छन् । तामाङले १० हजार ४ सय ८० मत ल्याउँदा सुब्बाले ३ हजार ८४ मत ल्याए । त्यस्तै रेनोक क्षेत्रमा मुख्यमन्त्री तामाङले पूर्वमन्त्रीसमेत रहेका एसडीएफ उम्मेदवार सोमनाथ पौड्याललाई ७ हजारभन्दा बढी मतले हराए ।

सिक्किममा एसकेएमले चुनाव जित्नुमा लोककल्याणकारी योजनाहरूलाई कार्यान्वयन गर्नु भएको विश्लेषकहरूको भनाइ छ । सिक्किमका नेपाली समुदायलाई लागेको 'विदेशी'को ट्याग हटाउन सफल भएको समेत एसकेएमको दाबी छ । केही दिनअघि सिक्किममा सरकार चलाएको ५ वर्ष पुगेको अवसरमा एसकेएमले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको थियो । त्यस्तै दलीय आधारमा हुने पञ्चायत चुनाव हटाइनुलाई पनि एसकेएमले आफ्नो उपलब्धिका रूपमा हेरेको छ ।


त्यस्तै शिक्षक, उपप्राध्यापकलगायतका अस्थायीखाले रोजगारलाई पनि एसकेएमको उपलब्धिका रूपमा हेरिएको छ । तामाङ सरकारले श्रमिकको ज्याला पनि मासिक १५ हजार भारतीय रुपैयाँ पुर्‍याएको छ । त्यस्तै गरिबीको रेखामुनि रहेका ५० सिक्किमेली विद्यार्थीलाई एमबीबीएस पढाउने योजना पनि लोकप्रिय रहेको छ । त्यस्तै एक वर्षे सुत्केरी बिदा, विद्यार्थी र किसानलाई विभिन्न सहयोग र अनुदानलगायतका योजना पनि सिक्किमेली जनताले मन पराएको देखिन्छ ।

सन् २०१९ को चुनावमा एसकेएमले १७ र एसडीएफले १५ सिट जितेको थियो । तर एसडीएफले उपनिर्वाचनमा २ सिट गुमाउन पुगेको थियो । एसडीएफका पवनकुमार चाम्लिङ र दोर्जी छिरिङ लेप्चाले २-२ सिटबाट जितेका थिए । उपनिर्वाचनमा भने एसडीएफले जितेका ती दुवै क्षेत्रमा एसकेएम विजयी भएको थियो ।

२५ वर्षदेखि सिक्किममा सरकार हाँकिरहेका चाम्लिङले चुनावमा पराजय मात्र भोगेनन्, आफ्नै सांसदहरूलाई पार्टीमा राख्न पनि सकेनन् । चुनाव जितेको केही दिनमा एसडीएफका १० सांसद बीजेपी प्रवेश गरेका थिए । उत्तरपूर्वी भारतीय राज्यहरूमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति चालेको बीजेपी एसडीएफका १० सांसद भित्र्याउँदै सिक्किममा दोस्रो ठूलो दल बनेको थियो । बीजेपी प्रवेश गरेका २ सांसद भने पछि एसकेएम प्रवेश गरे ।

तामाङको एसकेएम पार्टी सन् २०१४ मा स्थापना भएको हो  । पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको पार्टी सिक्किम संग्राम परिषद् त्यागेर चाम्लिङ एडीएफले सन् १९९३ मा एसडीएफ गठन गरेका थिए । पार्टी गठनलगत्तै उनले भण्डारीको पार्टीलाई अल्पमतमा पारेका थिए । सन् १९९९ को निर्वाचनपछि चाम्लिङले बहुमत पाएर सरकार बनाएका थिए । ।

चाम्लिड सन् १९९४ देखि २०१९ सम्म सिक्किमको मुख्यमन्त्री बने । उनी सिक्किमका पाँचौँ मुख्यमन्त्री हुन् । सबभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने उनी पहिलो भारतीय हुन् । उनी २५ वर्षदेखि मुख्यमन्त्रीको कुर्सीमा थिए । उनले पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति वसुको नामको रेकर्ड पनि तोडेका छन् । यसअघि वसु सबभन्दा बढी समय मुख्यमन्त्री हुने नेता थिए ।

सिक्किममा पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जे हुन् । इन्डियन नेसनल कंग्रेसबाट जितेका उनी सन् १९७५ मे १६ देखि १८ अगस्ट १९७९ सम्म मुख्यमन्त्री भएका थिए । त्यसपछि करिब तीन महिना अर्थात् १८ अगस्ट १९७९ देखि १८ अक्टोबर १९७९ सम्म राष्ट्रपति शासन लागू भएको थियो ।

करिब तीन महिना लामो संक्रमणकालीन अवस्थापछि नरबहादुर भण्डारी सिक्किमको मुख्य मन्त्री बने । १८ अक्टोबर १९७९ देखि ११ मे १९८४ सम्म । उनी सिक्किम जनता परिषद् नामक पार्टीको नेता थिए । ११ मे १९८४ देखि २५ मे १९८४ सम्म करिब १५ दिन इन्डियन नेसनल कंग्रेसका नेता बीबी गुरुड मुख्यमन्त्री बने । करिब ११ महिनासम्म पुन: राष्ट्रपति शासन लागू भयो ।

८ मार्च १९८५ देखि १७ जुन १९९४ सम्म पुन: नरबहादुर भण्डारी मुख्यमन्त्री बने । त्यो बेला यिनको दलको नाम फेरिएर सिक्किम संग्राम परिषद् बनिसकेको थियो । हाल सिक्किममा यो दलको कुनै अस्तित्व नै छैन । भण्डारीपछि १७ जुन १९९४ देखि १२ डिसेम्बर १९९४ सम्मको करिब ७ महिना सञ्चमान लिम्बू मुख्यमन्त्री बने ।

अरुणाचलमा पुन: बीजेपी

आइतबार सिक्किमसँगै अरुणाचल विधानसभा चुनावको पनि मतगणना भएको छ । ६० सिट रहेको अरुणाचल विधानसभामा बीजेपीले ४६ सिटमा जित हात पारेको छ । त्यस्तै नेसनल पिपल्स पार्टी ५, नेसनलिस्ट कंग्रेस पार्टीले ३, पिपल्स पार्टी अफ अरुणाचल २, भारतीय राष्ट्रिय कांग्रेस १ र स्वतन्त्र ३ जनाले जित हात पारेका छन् ।

शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । लोकसभाको मतगणना भने ४ जुनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...