मुख्य समाचार
मूल्यवान कम्पनीमा माइक्रोसफ्ट, एप्पललाई पछ्याउँदै एनभिडिया
मूल्यवान कम्पनीमा माइक्रोसफ्ट, एप्पललाई पछ्याउँदै एनभिडिया

— विश्वको सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा पर्दै आएका कम्पनीहरू हुन्– माइक्रोसफ्ट, एप्पल, अल्फाबेट (गुगल), साउदी आराम्को, अमेजन, मेटा प्लाटफर्म (फेसबुक) जस्ता प्रख्यात ब्रान्ड । यी सबैलाई उछिनेर अब विश्वको मूल्यावान कम्पनी बन्ने सम्भावनाको नजिक पुगेको छ– एनभिडिया ।

हाल त्यति नसुनिएको र एक/दुई वर्षअघिसम्म व्यावसायिक रूपमा खासै दृश्यमा नदेखिको यो कम्पनी अहिले अधिक चर्चामा छ । कुल बजार आकार (पुँजीकरण) का हिसाबले यो साता विश्वको तेस्रो मूल्यवान कम्पनी बनेसँगै एनभिडिया लगातार चर्चामा छ ।


गत वर्षको तुलनामा हाल एनभिडियाको सेयर ६ गुणाले वृद्धि भई २.८ ट्रिलियन (२८ खर्ब १० अर्ब डलर) पुगेको छ । कम्पनीको प्रगति हेर्दा यसले निकट भविष्यमा नै एप्पल र माइक्रोसफ्टलाई उछिन्ने बजार विज्ञहरूको प्रक्षेपण छ । हाल एप्पलको कुल बजार मूल्य २.९ ट्रिलियन र माइक्रोसफ्टको ३.१ ट्रिलियन डलर छ । केही वर्षयता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित प्रविधि र प्लाटफर्महरूको प्रयोग र निर्माण बढेसँगै एनभिडियाको बजार पनि मौलाएको हो । सेमिकन्डक्टर चिप निर्माताका रूपमा उदाएको एनभिडियाको कुल बजार मूल्य अमेजन, अल्फाबेट, मेटा, टेस्ला, वालमार्टको भन्दा ठूलो छ ।

‘एआईको उछालले धेरैलाई फाइदा पुर्‍याएको छ तर सबैभन्दा ठूलो फाइदा हासिल गर्नेचाहिँ एनभिडिया हो,’ टाइम म्यागाजिनले सन् २०२४ का सर्वाधिक प्रभावशाली कम्पनीमा सूचीकृत गर्दै एनभिडियासम्बन्धी विवरणमा भनेको छ, ‘सन् २०२२ को अन्तिममा सुरु भएको एआई दौडपश्चात् कम्पनीको मूल्यमा ४५० प्रतिशतले वृद्धि भएको छ ।’ कम्प्युटर चिप उत्पादन बजारमा विश्वको ८० प्रतिशत हिस्सा ओगट्दै आएको एनभिडियाले पछिल्लो समय शक्तिशाली एआई टुलहरूका लागि चिप विकास र आपूर्ति गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ एआई क्षेत्रका विशेष हस्ती कहलिन थालेका छन् । नयाँ प्रविधि निर्माण गर्न सरकार र निजी क्षेत्रका कम्पनीहरूले सेमिकन्डक्टर चिपमा मनग्गे लगानी गर्नैपर्ने हुआङको धारणा छ । यसो नगरे प्रविधिमा पछि परिने उनले बताउने गरेका छन् ।

आफ्ना सबै ग्राहकलाई निष्पक्ष ढंगले एनभिडियाका चिप उपलब्ध गराउँदै आएको र कसैले अतिरिक्त चिप खरिद गरेर थुपार्ने काम नगरेको विषयमा पनि आफूले सुनिश्चितता गरेको एनभिडिया प्रमुख हुआङको दाबी छ । प्रतिस्पर्धी बजारका बाबजुद एनभिडियाका उत्पादनहरूको उत्पादन मागभन्दा कम रहेको र माग घट्ने छाँटकाँट नरहेकाले आगामी दिन कम्पनीका लागि थप सुखद हुने टाइम म्यागाजिनको आकलन छ । गुगल पाल्म २, च्याट जीपीटी ४ लगायत लार्ज ल्याङग्वेज मोडलमा आधारित कम्पनीहरूसँगै अनेकौं एआई तस्बिर र भिडियो जेनेरेटिङ प्लाटफर्महरूले ठूलो आकारको डेटाबेस र ग्राफिक्सहरू व्यवस्थापन गर्न एनभिडियाको चिप प्रयोग गर्न थालेपछि एआईसँगै यो कम्पनीको पनि बजार फस्टाएको हो ।


वित्तीय बजार विश्लेषण गर्ने ब्रान्ड फाइनान्सको वार्षिक ‘टप ब्रान्ड्स’ को सूचीमा सन् २०२३ मा एनभिडियाका ११७ औं स्थानमा थियो । यसपालि एकैचोटि ३० औं स्थान माथि उक्लिएको छ । एआई प्रविधिले ल्याउने क्रान्तिसँगै स्मार्ट डिभाइस र डेटा सेन्टरलाई आपसमा जोड्न एनभिडियाका चिप अपरिहार्य बन्दै गएका छन् । मेटाजस्ता ठूला कम्पनीहरूको माग परिपूर्ति गरेसँगै गत वर्ष एनभिडियाको आम्दानी दोब्बर वृद्धि भई ६१ अर्ब डलर पुगेको थियो । कम्पनीले ३० अर्ब डलर खुद मुनाफा आर्जन गरेको बिजनेस इनसाइडरले उल्लेख गरेको छ । ‘सो अवधिमा एप्पलको बजार ३८३ अर्ब डलर थियो भने मुनाफा ९७ अर्ब डलर थियो,’ समाचारमा भनिएको छ, ‘तर एप्पलको वृद्धि असाध्यै सुस्त दरमा भइरहेको छ ।’

एनभिडियाका ग्राफिक कार्ड, ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) जस्ता चिप स्मार्टफोनदेखि गेमिङ कम्प्युटर, थ्रीडी मोडलिङ, आर्टिफिसियल इन्टेलिजेन्स, स्वचालित कार, डेटा सेन्टरलगायतमा प्रयोग हुँदै आएका छन् । यो कम्पनी भिडियो गेमलगायत जटिल डिजिटल ग्राफिक्समा विश्वव्यापी रूपमा प्रयोग हुने जीपीयूको प्रमुख निर्माता हो । लामो समय भिडियो गेमहरू र एनिमेसनलगायतमा आफूलाई केन्द्रित राखेको एनभिडियाको अहिलेको उछाल एआई प्रविधि र प्लाटफर्महरूप्रतिको विश्वव्यापी आकर्षणले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर ʻच्याटजीपीटी एटलसʼ लन्च गरेको छ। यसलाई धेरै विश्लेषकले गुगल क्रोमको सबैभन्दा ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्। कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने बताए। यसले ठेगाना पट्टीको सट्टा सिधै च्याटजीपीटी इन्टरफेसबाट काम गर्ने उनले बताए। एटलसको पहिलो संस्करण हाल एप्पल ...
: दोलखाको गौरीशंकर गाउँपालिका–९ नाँ गाउँमा नेपाल टेलिकमको सेवा पुगेको छ। नेपाल टेलिकमले गाउँमा नमस्तेको मोबाइल टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो। योसँगै नाँ गाउँका बासिन्दाले पहिलोपटक मोबाइल नेटवर्कमार्फत सञ्चार सुविधा पाउन थालेका छन्। नेपाल टेलिकमको सेवा सुचारु भएपछि गाउँमा सञ्चार सहज र प्रभावकारी बनेको वडा नं. ९ का वडाअध्यक्ष निमागेली शेर्पाले बताए। टेलिकम सेवाको विस्तारले ...
। विश्वकै सबैभन्दा चर्चित तथा धनी युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसनले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यदि एआई टूलहरुले मानिसले जत्तिकै वा त्यो भन्दापनि उत्कृष्ट गुणस्तरको भिडियो बनाउन थालेमा आगामी दिनमा यो युट्युब क्रियटरहरुको भविष्यका लागि ठूलो खतरा बन्न सक्दछ । मिस्टर बिस्टले सोसल मिडिया प्लाटफर्म एक्समा लेखेका छन्ः एआईबाट ...
यस वर्षको मनसुनले असोजको अन्त्यतिर अप्रत्याशित रूपमा भारी वर्षा ल्याएर ठूलो धनजनको क्षति भयो । मौसम सफा रहनुपर्ने महिना भए पनि लगातार दुई वर्ष उही समयमा ठूलो वर्षा भएको छ र जनधनको क्षति हुन पुगेको छ । त्यसो त सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सरकारले निकै सक्रियता देखायो । जनधनको क्षति भए पनि सरकारको सक्रियताले प्रशंसा पाइरहेको बेला मौसम पूर्वानुमानन ...
: अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने बताए। उनले भने,' प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी ...