मुख्य समाचार
विश्वकपले अमेरिकी क्रिकेट फेरिने विश्वास
विश्वकपले अमेरिकी क्रिकेट फेरिने विश्वास

— प्रमुख टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिकाको तुलनामा विश्व क्रिकेटका लागि अमेरिका त्यति परिचित राष्ट्र होइन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अन्य पूर्ण चार राष्ट्र जिम्बावे, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान जस्तो क्रियाशील पनि अमेरिकाको क्रिकेट छैन ।

प्रदर्शन र नतिजाका आधारमा हेर्ने हो भने नेपाल र अमेरिका लगभग एकै स्तरमा छन् । नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता तय गरेको थियो । अमेरिकाले भने त्योभन्दा कठिन यात्रा तय गरेर त्यही वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बन्दै नेपालको जस्तै हैसियतमा पुगेको थियो ।


तर अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो नभए दोस्रो राष्ट्र हो अमेरिका । विश्व क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय खेल अमेरिका र क्यानडाले सन् १८४४ मा खेलेका थिए न्युयोर्कको सेन्ट जर्ज क्रिकेट क्लब मैदानमा । यसको ३३ वर्षपछि अर्थात सन् १८७७ मा अस्ट्रेलिया र इंग्ल्यान्डबीच मेलबर्नमा पहिलो टेस्ट क्रिकेट भएको थियो, जुन क्रिकेटलाई स्थापित गर्ने एउटा आधार बनेको थियो ।

अमेरिका र क्यानडाबीचको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट तीन दिन चलेको थियो । यी दुई टोलीबीचको खेल ५ देखि २० हजारले मैदानबाटै प्रत्यक्ष नै हेरेको तथ्यांक छ । सम्भवतः यति धेरै दर्शक त्यसयता मैदानमा गएर अमेरिकामा बिरलै हेरेका छन् ।

शनिबार सुरु हुने ट्वान्टी–२० विश्वकपको नवौं संस्रकणले अमेरिकामा पुनः क्रिकेटको चहलपहल बढाउने निश्चित छ । अमेरिका र वेस्ट इन्डिजले यस विश्वकप आयोजना गरिरहेको छ । अमेरिकामा सुरुका केही खेल हुनेछ भने अधिकांश खेल वेस्ट इन्डिजमा खेलाइने तालिका छ । अमेरिकामा पहिलो पटक विश्वकप क्रिकेट आयोजना हुन लागेको हो ।


संयोगले यस विश्वकपको पहिलो खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । यसले यी दुईबीचको १ सय ८० वर्षे लामो क्रिकेट सम्बन्धलाई नवीकरण गर्नेछ । दुवै टोली पहिलोपल्ट विश्वकप पुगेका हुन् । अमेरिकामा अन्य राज्यको तुलनामा क्रिकेट बढी चहलपहल टेक्सास राज्यमा हुने हुनाले डालासको ग्रान्ट प्रेरी क्रिकेट रंगशालामा अमेरिका र क्यानडाबीचको खेल हेर्न बाक्लो संख्यामा दर्शक उपस्थित हुने अनुमान छ । नेपालले यही मैदानमा जुन ४ मा नेदरल्यान्ड्ससँग खेलेर दोस्रोपल्ट ट्वान्टी–२० विश्वकप यात्रा सुरु गर्दै छ । यस खेलको सबै १५ हजार टिकट बिक्री भइसकेको छ ।



नेपालले जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग खेल्ने छ । यो खेलको पनि धेरै टिकट बिक्री भइसकेको छ । भारत र पाकिस्तान जुन ९ मा न्युयोर्कमा खेल्ने छ । ४ महिनाअघि काम सुरु गरेर निर्माण गरिएको नसाउ काउन्टी इन्टरनेसनल क्रिक्रेट रंगशालामा यो खेल हुनेछ । ३४ हजार दर्शक क्षमताको यो रंगशालाको संरचना कामचलाउ हो । विश्वकपपछि यसको संरचना पुनः भत्काउन सकिनेछ ।

शनिबार भारत र बंगलादेशबीचको वार्मअप (अभ्यास) खेलबाट यो रंगशालाको सुरुआत गरिँदै छ । ‘यो वार्मअप म्याच सर्वसाधरणका लागि खुला गर्न पाएकामा हामी खुसी छौं र विशेष गरी स्थानीय बासिन्दालाई आफ्नो ब्याक यार्डमा के भइरहेको छ भनेर प्रत्यक्ष रूपमा हेर्ने अवसर प्रदान गर्न सक्षम भएका छौं,’ टी–२० अमेरिकाका प्रमुख कार्यकारी अधिकृत ब्रेट जोन्सले भने ।

जबकि डालासको ग्रान्ड प्रेरीमा खेलिएका सबै अभ्यास खेल ‘क्लोज डोर’ खेलाइएको थियो र दर्शकलाई रंगशालाभित्र प्रवेश गर्न दिइएको थिएन । नेपालका धेरै दर्शक रंगशालाको गेटमा पुगेर फर्किएका थिए । रंगशालाभित्रका काम कार्य अन्तिम समयमा भइरहेकाले डालासमा खेलिएका खेलहरूको टेलिभिजन, स्ट्रिमिङ कतै पनि प्रत्यक्ष प्रसारण गरिएको थिएन भने सञ्चारमाध्यमलाई फोटो खिच्न पनि स्वीकृति दिइएको थिएन । यसले अमेरिकी क्रिकेटको चुस्त व्यवस्थापनमा ठूलो टड्कारो रहेको महसुस गर्न सकिन्छ ।

जेहोस्, विश्वकप सुरु भएपछि अमेरिकाले विश्व क्रिकेटको ध्यान तान्ने छ । यसले अमेरिकमा क्रिकेट लोकप्रिय बनाउन राम्रै भूमिका खेल्ने अपेक्षा लिइएको छ । अमेरिकन फुटबल, बेसबल, बास्केटबल, टेनिस, आइस हक्की जस्ता खेल लोकप्रिय रहेको अमेरिकामा क्रिकेटले पनि बाक्लो उपस्थिति देखाउन खोजिरहेको छ । स्थानीयभन्दा आईसीसीका पूर्ण राष्ट्रसहित अन्य क्रिकेट खेल्ने देशबाट आएर यहाँ बसोबास गरिरहेकाले अमेरिकामा क्रिकेट स्थापित गर्न ठूलो भूमिका खेल्दै आएका छन् ।

मेजर लिग क्रिकेट (एमएलसी) र माइनर लिग क्रिकेटका कारण धेरै क्रिकेटरको गन्तव्य पछिल्लो समय अमेरिका बन्दै आएको छ । एक समय न्युजिल्यान्डबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाएका कोरे एन्डरसन अहिले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान हुन् । भारतलाई आईसीसी यू–१९ विश्वकपका उपाधि दिलाउँदाका कप्तान उन्मुक्त चन्द अमेरिकामै अहिले क्रिकेट भविष्य खोजिरहेका छन् ।

गत वर्षदेखि एमएलसीको सुरुआत भएको थियो । ट्वान्टी–२० विश्वकप समाप्त भएको चार दिनपछि एमएलसीको दोस्रो संस्करण सुरु हुनेछ । एमएलसीमा खेलाडी ड्राफ्टको १० क्याटगोरी छ र शीर्ष क्याटगोरीमा रहेका खेलाडीले एमएलसीको एक सिजन खेलेवापत ७५ हजार डलर पारिश्रमिक पाउनेछन् ।

सहभागी टोलीमा लस एन्जल्स नाइट राइडर्सले स्पेन्सर जोनसन, सुनिल नारिन, जेसन रोय, एन्ड्रयु रसेल, एडम जाम्पा, एमआई न्युयोर्कले ट्रेन्ट बोल्ट, टिम डेबिड, रशिद खान, निकोलस पुरन, किइरन पोलार्ड, कागिसो रबाडा, सान फ्रान्सिस्को युनिकर्नसले फिन एलेन र हरिस रौफ, सियाटल ओर्कासले हेनरिक क्लासेन, क्विन्टन डी कक, वायने पार्नेल, इमाद वासिम, टेक्सास सुपर किंग्सले फाफ डु प्लेसिस, मिचेल सान्टनर तथा वासिङ्टन फ्रिडमले एकेल हुसैन र मार्को जेन्सन जस्ता खेलाडीलाई आउँदो सिजनका लागि रिटेन गरिसकेको छ ।

फ्रेन्चाइज क्रिकेटको यो सुरुआतले अमेरिकामा क्रिकेटलाई एउटा ब्रान्ड बनाउन सजिलो बनिरहेको छ । सन् २०२६ देखि एमएलसीमा ६ बाट दुई टोली बढाएर ८ टोली बनाउने तयारी गरिएको छ र यसले थप विदेशी खेलाडीलाई अमेरिकामा खेल्ने मौका दिनेछ ।

एमएलसीमा मौका नपाएकाहरू माइनर क्रिकेट लिगमा खेल्ने गरेका छन् । सन् २०२१ यता माइनर क्रिकेट लिग हुँदै आएको छ । पहिलो सिजनमा ११ टोलीले प्रतिस्पर्धा गरेका थिए, जसमा न्यु जर्सी स्टेलियन्सले डालास मस्टयाङलाई फाइनलमा पराजित गरी उपाधि जितेको थियो । मस्टयाङ टोलीको इन्डोर क्रिकेट एकेडेमीमा नेपालले पछिल्ला दुई दिन अभ्यास गर्दै आएको छ । अमेरिकासँगको अभ्यास खेल कुनै पनि बल नफाली रद्द भएपछि नेपाली टोली सिधै मस्टयाङ क्रिकेट एकेडेमी गएर अभ्यास गरेको थियो ।



माइनर लिगमा चार रिजनल डिभिजनका २६ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गरिहेका छन् । एउटा टोलीले १४ देखि १६ खेल खेल्नेछ । अमेरिकामा रहँदै आएका नेपालका वसन्त रेग्मी, कनिष्क चौगाईं, पृथु बाँस्कोटाले माइनर लिग खेल्दै आएका थिए ।

चार वर्षपछि अमेरिकामा क्रिकेटले अझै उचाइ लिन सक्छ । २०२८ मा हुने लस एन्जल्स ओलम्पिकमा क्रिकेट पनि समावेश गरिएको छ । सन् १९०० यता क्रिकेट पहिलो पटक ओलम्पिकमा समावेश गरिएको हो । १ सय २८ वर्षपछि ओलम्पिकमा फर्किन लागेको क्रिकेटले अमेरिकालाई तरंगित बनाउन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...