मुख्य समाचार
विश्वकपअघि पर्याप्त तयारी, नतिजाको प्रतीक्षा
विश्वकपअघि पर्याप्त तयारी, नतिजाको प्रतीक्षा

। तीन महिना अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त हुँदै नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को तयारी पूरा गरेको छ ।

गत फागुनमा क्यानडासँग तीन खेलको ओडीआई सिरिजदेखि वेष्टइण्डिज ए सँग पाँच खेलको टी–२० सिरिजसम्मको अभ्यास र तयारीपछि नेपाल विश्वकप खेल्न जान तयार भएको छ ।


पछिल्लो दुई महिनामा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग त्रिक्रोणात्मक सिरिजका ५ खेल, आयरल्यान्ड ए सँग २ खेल, भारतमा फ्रेण्डसिप कपका ५ खेल, हङकङ त्रिकोणात्मक सिरिजमा ४ खेल, एसीसी प्रिमियर कपमा ६ खेल र वेष्टइण्डिज ए सँग ५ गरी कुल २७ टी–२० खेल खेलेको छ ।

कुनैपनि टोलीलाई खेलाडीको क्षमता हेर्न यो पर्याप्त खेल हो । यसअघि अन्तर्राष्ट्रिय खेलको अनुभव नेपाली टोलीको सबैभन्दा कमजोर पक्ष हुने गर्थ्यो । तर यस पटक त्यसमा कुनै कमी भएको छैन ।


वेष्टइण्डिज ए विरुद्धको सिरिज पछिल्लो तीन महिनामा नेपालले खेलेको सबैभन्दा उपल्लो स्तरको खेल थियो । नेपाल आएको वेष्टइण्डिज ए बाट विश्वकप खेल्ने टोलीमा जोनसन चार्ल्स, स्पिनर गुणाकेश मोती र रोस्टन चेश परेका छन् । सिनियर टोलीबाट खेलेका १२ खेलाडी नेपाल भ्रमणमा आएका थिए ।

तीन साताअघि ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा नेपाल उपाधिको दाबेदार थियो । तर सेमिफाइनलमा यूएईसँग ६ विकेटले हार्दै एसिया कप पुगेर भारत र पाकिस्तानसँग खेल्ने योजना अधुरै रहेको थियो । त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा पनि हङकङसँग हार्न पुग्यो ।

एसीसी प्रिमियर कपमा देखिएको खराब ब्याटिङ विश्वकप अघि नेपाललाई ठूलो चिन्ता विषय बनेको थियो । तर घरेलु मैदानमा बलियो मानिएको वेष्टइण्डिज ए विरुद्ध सिरिजबाट नेपालले राम्रो पूनरागमन र आशा देखायो ।

२०५ रनको विशाल लक्ष्य १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर नेपालले सिरिजको पहिलो खेल जित्यो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेल्दै नेपाली क्रिकेट समर्थकमा आशा जगाए । रोहितले प्रिमियर कपमा यूएईविरुद्ध १८ बलमा ५ रन बनाउँदा भोग्नुपरेको आलोचना पनि यो शतकबाट कम गरेका थिए ।

रोहितले दोस्रो खेलमा ७१ र चौथो खेलमा ८२ रन बनाए । तेस्रो खेलमा उनले विश्राम लिए भने पाँचौं खेलको अन्तिम समयमा क्रिजमा पुगेपनि कुनै बल खेल्नुपरेन ।

पाँचौं खेलमा १७३ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १८.५ ओभरमा पूरा गरेको थियो । यो खेलमा अनिल साहले ५८ र आसिफ शेखले ५१ रन बनाउनु थप सकारात्मक पक्ष हो ।

वेष्टइण्डिज एसँगको सिरिजमा गरेको प्रदर्शनकै आधारमा कमलसिंह ऐरी विश्वकप टोलीमा अटाएका छन् । सागर ढकालले पनि उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोलीमा एक स्पिनर थप भए । तीव्र गतिका बलर अभिनाश बोहराले डेथ ओभरमा योर्करको लय समाउनु पनि यो सिरिजको सकारात्मक पक्ष रह्यो ।

तीव्र गतिका बलर सोमपाल कामी विश्वकपअघि भएको तयारीबाट सन्तुष्ट देखिए । उनले भने, ‘यो भन्दा राम्रो तयारी हुन सक्दैन । आयरल्यान्ड र वेष्टइण्डिजसँग खेल्न पायौं । एकदमै राम्रो भएको छ । मलाई आशा छ हामी विश्वकपमा राम्रो प्रदर्शन गर्ने छौं ।’

सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्ने टोलीका एक सदस्य सोमपाल यसपटक पनि विश्वकप खेलेर दुईवटा विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्दैछन् ।

उनका अनुसार नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुँदा उनी निकै उत्साहित भएका थिए । ‘यो मेरो लागि उत्कृष्ट क्षण हो’, सोमपालले भने ।

विश्वकपका लागि टोली निर्माण गर्नुअघि नेपालले खेलाडीलाई प्रशस्त अभ्यास र प्रदर्शन देखाउने अवसर दिएको थियो । ब्याकअप ओपनरमा अनिल साह, लोकेश बम र विनोद भण्डारीबीच प्रतिस्पर्धा भएको थियो । उनीहरुमध्येबाट अनिल चुनिए ।

तीव्र गतिका बलरमा आकाश चन्द र कमलसिंह ऐरीबीच प्रतिस्पर्धा भएको थियो । जसमा कमलले बाजी मारे ।

विश्वकप खेल हुने वेष्टइण्डिजको पिचलाई ख्याल गरेर नेपालले आरिफ शेख र विवेक यादवलाई छाडेर सागर ढकाललाई मौका दिएको छ । यसअघि टोली घोषणा गर्दा खेलाडीहरुबीच यसरी प्रतिस्पर्धा हुने थिएन । अझ सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकपका लागि टिम बनाउँदा खेलाडीबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट छनोट गरिएको थिएन ।

टी–२० विश्वकपमा नेपाल रहेको समूह डी मा श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका छन् ।

वेष्टइण्डिजविरुद्ध पहिलो र अन्तिम खेलको जितले टेस्ट मान्यता प्राप्त टोलीलाई पनि हराउन सकिन्छ भन्ने मानसिकता नेपाली टोलीमा देखिएको छ । ओमानमा प्रिमियर कपमा गरेको कमजोर प्रदर्शनको पीडा बिर्सेर उच्च मनोबलका साथ नेपाली क्रिकेटर विश्वकप खेल्न जाँदैछन् ।

यो तयारीपछि विश्वकप खेल्न गएको नेपाली टोलीबाट समर्थक र शुभचिन्तक शानदार प्रदर्शनको अपेक्षा गर्नेछन् । तीन टेष्ट टोली र एसोसिएटको शीर्ष टोलीविरुद्ध विश्वकपमा नेपाली टोलीको प्रदर्शन भने प्रतीक्षाकै विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...