मुख्य समाचार
विश्वकपलाई छानिए क्रिकेटर
विश्वकपलाई छानिए क्रिकेटर

— साताअघि (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्ने १६ सदस्यीय टोली घोषणा गरेको थियो । यहींबाट उत्कृष्ट १५ खेलाडीले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने निश्चित जस्तै थियो ।


तर, यो सूचीमा सागर ढकाल र कमलसिंह ऐरी थिएनन् । भोलिपल्ट शुक्रबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखला खेल्ने टोलीमा ४ खेलाडी थपिएर २० सदस्यीय बनाइएको क्यानका सचिव पारस खड्काले जनाएका थिए । उनीहरू थिए– सागर र कमलसहित विनोद भण्डारी र लोकेश बम ।


सागर र कमललाई समेट्दै क्यानले बुधबार ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । वैकल्पिक सूचीमा रहे पनि एक साता अगाडि नेपाली राष्ट्रिय टोलीको दृश्यमा नदेखिएका देब्रेहाते स्पिनर सागर र मध्यम गतिका बलर कमल विश्वकपमा उत्रनेछन् ।

अघिल्लो साता ओमानमा एसीसी प्रिमियर कप खेलेको नेपाली टोलीबाट विवेक यादव र आकाश चन्दको स्थानमा सागर र कमललाई ल्याइएको छ । प्रिमियर कपमा १४ सदस्य मात्र रहने प्रावधान हुँदा आकाश वैकल्पिक खेलाडीका रूपमा ओमान गएका थिए । विश्वकपमा एउटा टोलीमा १५ खेलाडी रहनेछन् ।

आयरल्यान्ड ‘ए’ विरुद्ध तीन ट्वान्टी–२० शृंखलामा सागरले ४ विकेट लिएका थिए, त्यसमा दोस्रो खेलमा उनले ३ विकेट लिएका थिए । वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा सागरले मौका पाए । उनले आफ्नो पहिलो ओभरमै जोहन्सन चार्ल्सलाई बोल्ड र एलिक एथान्जेलाई क्याच आउट गराएका थिए । उनै चार्ल्सले बुधबार तेस्रो खेलमा नेपालविरुद्ध अविजित १ सय १९ रन बनाए ।

सागरले वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो खेलमा ४ ओभरमा १९ रन मात्र दिएका थिए । वेस्ट इन्डिज ‘ए’ का ब्याटरहरू बुधबार नेपाली बलरमाथि आक्रामक भएर हाबी भइरहँदा अन्यको तुलनामा गुलशन झा र सागरले कसिलो बलिङ गरेका थिए । ‘क्यारेबियनमा स्पिन बलिङले ठूलो भूमिका खेल्न सक्छ, नेपालसँग राम्रा स्पिनर छन् । त्यसैले आफ्नो शक्ति जे हो त्यसमा रहेर खेल्ने हो भने नेपालको राम्रो सम्भावना छ,’ नेपाललाई बुधबार ५३ रन प्रहार गरेका एन्ड्रे फ्लेचरले भने ।

नेपालले जुन १४ र १६ मा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा क्रमशः बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यसअघि नेपालले अमेरिकामा जुन ४ मा नेदरल्यान्ड्ससँग डालासमा र जुन ११ मा श्रीलंकासँग फ्लोरिडामा समूह चरणको खेल खेल्नेछ । अमेरिकन र क्यारेबियन भूमिको विकेट स्पिन सहयोगी हुने अपेक्षा गरिएको छ । नेपाली टोलीमा अर्का देब्रेहाते ललित राजवंशी मात्र विज्ञ स्पिनरका रूपमा रहेका छन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेलले ब्याटिङ अलराउन्डरका रूपमा नेपालको स्पिन मोर्चा सम्हाल्ने छन् ।

ढाडको चोटको लामो यात्रा पन्छाउँदै कमल पनि गत महिना मात्र प्रतियोगितात्मक खेलमा फर्किएका थिए । आयरल्यान्ड ‘ए’ सँगको तीन ट्वान्टी–२० खेलमा ५ विकेट लिएका कमलले ५० ओभरको दुई खेलमा पनि ५ विकेट लिएका थिए । कमलसँग १० र सागरसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । नेपालले रोहित पौडेलकै कप्तानीमा विश्वकप खेल्नेछ ।

उनकै कप्तानीमा नेपाल नोभेम्बरमा छनोट चरण पार गर्दै विश्वकपमा छानिएको थियो । आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर र कमल नेपालको १५ सदस्यीय टोलीमा छन् ।

भारतका प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमै नेपालले विश्वकपमा खेल्नेछ । वेस्ट इन्डिज ‘ए’ सँगको पहिलो तीन खेलमा उनले सम्भावना बोकेका खेलाडीलाई मौका दिएका थिए । सागर, कमलसहित विवेक, विनोद भण्डारी, लोकेश बम, आरिफ शेखलाई मौका दिइएको थियो । देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको बाँकी दुई खेलमा भने पहिलो रोजाइकै खेलाडी उतार्ने जनाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा १५ सदस्यीय खेलाडीको नामावली बुझाउने मे १ अन्तिम दिन थियो । त्यसैले नेपालले सबै खेलाडीलाई उत्तिकै अवसर दिए पनि सबैले आफूलाई प्रमाणित गर्न सकेनन् । सागरको बलिङबाट भने आफू प्रभावित रहेको देसाईले जनाएका थिए ।

सोमपाल अर्को महिना विश्वकपमा नेपालका विशेष खेलाडी हुनेछन् । नेपालले यसअघि सन् २०१४ मा विश्वकप खेल्दाको टोलीमा रहेका मध्ये उनी एक जना मात्र दोस्रोपल्ट विश्वकप खेल्ने टोलीमा परेका हुन् । बंगलादेशमा १० वर्षअघि भएको विश्वकपबाट सोमपाल नेपालको सबैभन्दा तीव्र गतिको बलरमा उदाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...