मुख्य समाचार
खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र
खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

— यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।


पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द भएको भनियो,’ छोटो घर बिदामा आएका कास्की मणिडाँडाका धितालले भने, ‘म पोखराबाट मंगलबार बिहानै बस चढेर दिउँसो गोगंबु बसपार्कबाट सिधै ४ बजे काठमाडौं एयरपोर्ट आए, २४ घन्टा बित्यो, यतै छु ।’



उनकाअनुसार, राति १० बजे उनी बोर्डिङ पास लिन चेकइन काउन्टर पुगेका थिए । तर, फ्लाई दुबईका कर्मचारीले उडान नहुने भनी फर्काए । विमानस्थलस्थित टर्मिनल कार्यालयकाअनुसार, फ्लाई दुबईको दुई उडानबाट दुबई तथा तेस्रो मुलुक जानुपर्ने ३ सय हाराहारी यात्रु थिए ।

‘उडान नहुने भएपछि राती यात्रुहरु व्यवस्थापन गर्न कठिनाई भयो,’ मध्यरातमा यात्रुहरुको व्यवस्थापनमा जोडिएका विमानस्थलका एक कर्मचारीले भने,‘फ्लाई दुबईका कर्मचारीलाई बोलाएर यात्रु व्यवस्थापन गर्न लगायौं ।



'केही होटलमा सुत्न गए । केही घर लागे । केही आफन्तको डेरामा लागे,’ धिताल भने,'२५ घन्टादेखि विमानस्थलको क्यानोपी मुनि झोला सिरानी राखेर पल्टिरहेका थिए । ‘खासमा मसँग खर्च थोरै थियो । साथीहरुले होटल जाउँ भनेका थिए । तर मैले झोलामा चाउचाउ र भुजिया बोकेको थिएँ । त्यही खाएर यतै रात कटाएँ।’ उताको भारी वर्षाका कारण फ्लाई दुबईको एउटा जहाज पनि मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘ग्राउन्डेड’ भएको थियो ।

त्यो जहाज बुधबार दिउँसो उड्यो । तर, दुबईसम्म जाने यात्रु मात्रै त्यसमा गए । धिताल फ्याट्ट जहाज उड्ने भए पाइहालिन्छ की भनेर विमानस्थलमै बसेका थिए । बुधबार जहाज उड्ने भएपछि उनी पुनः चेकइन काउन्टर छिरेका थिए । तर, उनले त्यो उडानमा जान पाएनन् ।

फ्लाई दुबईको काठमाडौंस्थित कार्यालयका एक कर्मचारीका अनुसार, त्यो जहाजमा ‘दुबई–रेसिडेन्ट’ भएकालाई मात्रै प्राथमिकता दिइएको थियो । ‘दुबईमा बिस्तारै पानीको प्रभाव घटेपछि हिजो राति रोकिएको हाम्रो जहाज आज (बुधबार) दिउँसो साढे ४ बजे उड्यो,’ कार्यालयको नियमअनुसार नाम खुलाउन नमिल्ने बताउँदै उनले कान्तिपुरसँग भने, ‘त्यो विमानमा तेस्रो मुलुक जाने यात्रुलाई प्राथमिकता दिइएन ।'



किनकी दुबईबाट बाहिर जाने उडान अझै नियमित भइसकेका छैनन् । त्यहाँ फेरि यात्रु अलपत्र पर्ने भएकाले अहिले ट्रान्जिट यात्रुलाई राखिएको छैन । दुबईकालागि दैनिक चारवटा काठमाडौंबाट उडान गर्ने फ्लाई दुबईले बिहीबार चारमध्ये दुईटा उडान गर्ने जानकारी विमानस्थलस्थित टर्मिनल कार्यालयलाई दिएको छ । उसले सूचनामार्फत् यात्रुहरुलाई इमेल, एसएमएसबाट पनि जानकारी गराउँदै टिकट खरिद गरिएका ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ । विमानस्थलमा बुधबार र बिहीबार हुनुपर्ने फ्लाई दुबई बाहेक युएईको अर्को सहर शारजाह उड्नुपर्ने एयर अरेबियाका पनि दुइटा उडान रद्द भएको टर्मिनल कार्यालयले जनाएको छ ।

त्यस्तै नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सका पनि तालिका प्रभावित भएका छन् । यसैगरी सिधा उडानबाहेक भारत हुँदै जाने दर्जनौं यात्रु पनि काठमाडौं विमानस्थलको बगैंचामा दुबई उड्ने जहाजको प्रतीक्षामा थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मुगुम कार्मारोङ गाउँपालिका-१ डोल्पु गाउँका स्थानीयहरू यार्सा सकंलन गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका छन्। उक्त समूहले दुईवटा आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै शनिबार बेलुका ५ बजे स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेका हुन्। समूहले गाउँमा रहेका ५८ मध्ये २३ घरमा वृद्धवृद्धा र बालबालिकालाई ...
: जिल्ला अदालत काठमाडौंले अदालतको फैसला नमानेको र कार्यान्वयनमा अटेर गरको भन्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीसहित ४ जनप्रतिनिधिलाई जनही एक महिना कैद सजाय सुनाएको छ। न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतको फैसलाको सम्मान नगरी अवज्ञा गरेको देखिएको जनाउँदै सजाय गरेको हो। मेयर अधिकारीसँगै वडा १० का अध्यक्ष नवराज भट्टराई, वडा ८ का अध्यक्ष सुमन तामाङ ...
: नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य,जिल्ला सभापति एमालेमा प्रवेश गरेका छन्। एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम् नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास, सुनसरीका पूर्व जिल्ला सभापति प्रदीप कुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका ...
: नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको दाबी गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको बताएका हुन्। उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजेपनि कांग्रेसले एकपछि ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी श्रमजीवी नागरिकको मुद्दाको पक्षमा उभिएको बताएका छन्। कांग्रेसले आइतबार गरेको सडक प्रदर्शनको भेलालाई सम्बोधन गर्दै उनले सहकारी पीडितको पक्षमा आइपुगेको बताएका हुन्। उनले सहकारीमा जम्मा गरेको रकम जोगाउने पक्षमा रहेको स्पष्ट पारे। उनले सरकार अनुदार शैलीमा भएकाले सच्चिनुपर्ने धारणा राखे। उनले सभामुख रिमोट कन्टोलबाट चलेकाले संसदको गरिमा कायम ...