मुख्य समाचार
परिवारको सम्पर्कमा छैनन् रूसी सेनामा भर्ना भएका ३०० नेपाली
परिवारको सम्पर्कमा छैनन् रूसी सेनामा भर्ना भएका ३०० नेपाली

। रूसी सेनाको पोशाकमा उभिएका श्रीमान्‌को फोटो हेरेर एकतमास टोलाइरहिन्छन्, बाग्लुङकी गीता घर्ती मगर । ह्वाट्सएपमा श्रीमान्‌सँग भएको अन्तिम संवाद सम्झिन्छिन् र आश गर्छिन्, ‘युद्ध मैदानमा फस्नुभएको होला, छिट्टै खबर आउला ।’

आखिर श्रीमान्‌ले पनि यसै भनेका थिए, ‘युद्ध क्षेत्रमा जाँदैछु, फोन लाग्दैन । फर्किन कति समय लाग्छ थाहा छैन, नआत्तिनू ।’


तर श्रीमान् सम्पर्कमा नआएको ५ महिना भइसकेपछि भने उनी अत्तालिएकी छन् । ‘युद्धमा जानु भएर सम्पर्कबाट हराउनुभयो’ उनले अनलाइनखबरसँग टेलिफोनमा भनिन्, ‘यतिका समय हुँदा पनि कुनै खबर नआउँदा मन पोलिरहन्छ ।’ तैपनि खबर आइहाल्छ कि भनेर पर्खिबसेकी छिन् उनी ।

३ कात्तिकमा उनका श्रीमान् रूसी सेनामा भर्ना हुन भनेर घरदेखि निस्केका थिए । रूस पुगेर रूसी सेनामा भर्ना भएपछि पनि सम्पर्कमै थिए । रूस–युक्रेन युद्धबारे श्रीमतीलाई सबै कुरा फोनमा भनिरहन्थे । ‘त्यहाँ पुगेको एक महिनासम्म कुरा भइरह्यो’ उनले भनिन्, ‘युद्ध लड्न जानुपर्ने भयो भनेर पछि उहाँ हराउनुभयो ।’




१३ मंसिरमा भएको अन्तिम कुराकानीमा कोपिलाले युद्धमा जान लागेको बताएका थिए । ‘युद्धमा जाँदैछु सम्पर्क हुँदैन भनेर खबर पठाउनुभएको थियो’ उनले भनिन्, ‘त्यसपछि उहाँ सम्पर्कमा नै आउनुभएन ।’

अहिले उनका घरमा तीन साना बच्चा छन् । रूसबाट अप्रिय खबरहरू आइरहेका छन् । रूसी सेनामा भर्ना भएका नेपालीको मृत्यु भएका खबरले उनको मनमा सियो रोपे जस्तो हुन्छ ।

‘श्रीमान् सम्पर्कमा नआउँदा मन आत्तिएको आत्तिएकै छ’ उनले भनिन्, ‘सम्पर्क टुटेकै दिनदेखि निदाउन सकेकी छैन । परदेशमा हराएकाले म खोज्न जान पनि सक्दिनँ ।’

उनी अहिले एकोहोरो मोबाइल हेर्दै श्रीमान्‌को खबर पर्खिरहेकी हुन्छिन् ।

०००

पूर्वी नवलपरासीकी शलिना दर्लामी पनि श्रीमान्‌को खबरको पर्खाइमा बसेको ५ महिना भइसक्यो । रूसी सेनामा गएका श्रीमान् नरबहादुर दर्लामी सम्पर्कविहीन भएदेखि उनकाे मन बेचैन छ ।

दशैंको अघिल्लो दिन मात्र ५ कात्तिकमा उनका श्रीमान् रूस गएका थिए । ‘एजेन्टले युद्ध छैन भन्दै झुक्यायो’ उनले भनिन्, ‘त्यहाँ पुगेपछि सीधै युद्ध लड्न पठायो ।’

मंसिरको दोस्रो सातादेखि युक्रेनको युद्ध भूमिमा गएदेखि नै सम्पर्कविहीन भए उनी ।

उनले श्रीमान्‌को खबर पत्ता लगाउन अनेक प्रयास गरिन् । श्रीमान्‌सँग भएका साथीहरुलाई सम्पर्क गर्न खोजिन् । ‘उहाँहरु सबै सम्पर्कविहीन हुनुभएको छ, यहाँबाट हामीले गर्न सक्ने केही छैन, सरकारले पनि उहाँको खोजी गरिदिएको छैन ।’

सम्पर्कविहीन भएका श्रीमान्‌काे फोटो र पासपोर्ट बोकेर रसियन दूतावासदेखि परराष्ट्र मन्त्रालयसम्म धाइन् । मन्त्री र नेतालाई श्रीमान्‌को खबर पत्ता लगाइदिन भनेर पटक–पटक भेट्न गइन् । तर कुनै पत्तो लाग्न सकेको छैन ।

भन्छिन्, ‘श्रीमान् खोज्दै जताकतै धाइरहेकी छु, अहिलेसम्म सरकारले हाम्रो कुरा सुनेको छैन ।’

लामो समयदेखि श्रीमान् हराइरहँदा विक्षिप्त छिन् । बेला–बेला मोबाइल हेर्दै झस्किरहन्छिन् । ‘श्रीमान्‌को खबर आयो कि भनेर राति पनि ब्युँझेर मोबाइल हेर्छु’, उनले सुनाइन् ।

०००

विदुर नगरपालिका, नुवाकोटकी चिनीमाया थाेकरका श्रीमान् विजय थोकरसँग पनि १३ मंसिरदेखि कुरा हुनसकेको छैन ।

चिनीमायाका अनुसार रूसी सेनामा भर्ना भएका विजयको ह्वाट्सएपमा अनलाइन देखाइरहन्छ । तर यताबाट निरन्तर कल/म्यासेज गर्दा पनि कुनै रिप्लाई आएको छैन ।

अनलाइन देखाएको भरमा उनले चित्त बुझाउन कोशिश गरिरहेकी छन्, मनमा कत्ति पनि शान्ति छैन । ‘अनलाइन देखाए पनि कुरा नभएको मंसिरदेखि नै हो’ उनले भनिन्, ‘एक पटक बोलिदिएको भए पनि मन बुझाउन त हुन्थ्यो नि !’

यसअघि पनि एक पटक उनका श्रीमान् युद्धमा गएर फर्केका थिए । त्यो बेला केही समय सम्पर्कविहीन भएका थिए । यस पटक भने लामो समय भइसक्दा पनि कुनै खबर छैन । ‘अहिलेसम्म कुनै खबर त आएको छैन, तर सकुशल हुनुहुन्छ होला भन्ने लागिरहन्छ’ उनले भनिन्, ‘नभए किन पो अनलाइन देखाउँथ्यो होला र ?’

३०० नेपाली सम्पर्क बाहिर

२४ फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको पछिल्लो युद्धका क्रममा ठूलो संख्यामा दुवै देशका सैनिक मारिएका छन् ।

युद्धका क्रममा रूसले आफ्नो सैनिकसँगै निजी सैनिक कम्पनी वाग्नर, रेडुट लगायतको फौजलाई प्रयोग गरेको छ । उसले अहिलेसम्म आधिकारिक रूपमा आफ्नो कति सैनिक मारिए भनेर बताएको छैन । बीबीसी न्यूजका अनुसार रूसले १ लाख २३ हजारभन्दा बढी रूसी सैनिक युद्धका क्रममा मारिएको अनुमान गरेको छ ।

रूसी सेनामा भर्ना भएका १७ जना नेपालीको मृत्यु भएको नेपाल सरकारले नै पुष्टि गरेको छ । यद्यपि मृतकको संख्या योभन्दा धेरै बढी रहेको पीडितहरु बताउँछन् ।

रूसी सेनामा गएर मृत्यु भएका वा सम्पर्कविहीन भएकाहरुको खबर कन्सुलर सेवा विभागले लिइरहेको छ । विभागमा झण्डै चार सय जनाका परिवारले निवेदन दिएका छन् ।

रूसी सेनामा भर्ना भएकाहरूको परिवारलाई एकीकृत गरिरहेको ‘रूसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’सँग अहिलेसम्म दुई हजार बढी परिवार सम्पर्कमा आएका छन् । जसमध्ये साढे ६०० जनाको नाम सहितको विवरण नै तयार गरिएको अभियानकी अभियन्ता कृतु भण्डारीले बताइन् ।

उनीहरुमध्ये करिब ३०० नेपाली सम्पर्कविहीन छन् । ‘रूसी सेनामा भर्ना भएर ५/६ महिनादेखि हराइरहेको मात्रै तीन सय परिवार जोडिनुभएको छ’ भण्डारीले भनिन्, ‘परिवारलाई स्रोत मानेर रूसमा गएर हराइरहेका र मृत्यु भएकाहरुको रेकर्ड नै राखेका छौं । यो संख्या अझै थपिइरहेको छ ।’

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भने रूसी सेनामा भर्ना भएकाे विषयलाई सम्बोधन गर्न कूटनीतिक प्रयास जारी रहेको बताए ।

उनले रूसी सेनाका मृतकको शव फिर्ता, सम्पर्कविहीन भएकाहरुकाे खोजी, घाइतेको उपचार, रूसमा रहेकाहरुलाई फिर्ता ल्याउने सवालमा सैद्धान्तिक छलफल भइरहेको बताए । ‘यो संख्या कति छ भन्न सकिने अवस्था छैन’ श्रेष्ठले भने ‘सम्बोधनका लागि प्रयत्न गरिरहेका छौं, तर ठोस कुरा आउन सकेको छैन ।’

उनले रूसमा फसेका नेपालीहरुको हकमा करार सम्झौता रद्द गरेर नेपाल फर्काउने विषयमा सैद्धान्तिक रूपमा छलफल पनि भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...