मुख्य समाचार
आयरल्यान्ड ‘ए’ सँग खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली थप तयारीका लागि भारत जाँदै
आयरल्यान्ड ‘ए’ सँग खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली थप तयारीका लागि भारत जाँदै

— नेपाली राष्ट्रिय टोलीविरुद्ध आयरल्यान्ड उल्भस (ए) ले लगातार दोस्रो खेलमा पनि खासै ठूलो चुनौती तेर्स्याउन सकेन । फलस्वरुप नेपालले दोस्रो ट्वान्टी–२० क्रिकेटमा पनि सजिलो विजय हात पार्‍यो । कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिएपछि नेपालले मंगलबार आयरल्यान्ड ‘ए’ लाई ७१ रनले हरायो ।


१ सय ९९ रनको लक्ष्य पाएको आयरल्यान्ड १८.३ ओभरमा १ सय २७ रनमा अलआउट भयो । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङमा आएको नेपालले २० ओभरमा ७ विकेट गुमाई १ सय ९८ रन बनायो ।

ओपनर आसिफ शेख ९ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरी ११ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले १६ बलमा २ चौका र २ छक्कामा २५ रन बनाए । अनिल साहले ११ बलमा २ चौकासहित १२ रन बनाए ।

गुलशन झाले सर्वाधिक ४६ रन बनाए । उनले ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरे । कुशल मल्लले ३४ रन बनाए । उनले स्पिनर गेभिन होयको बलमा लगातार तीन छक्का प्रहार गरे । कुशलले १३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।

कप्तान रोहित पौडेलले ३३ रन बनाए । उनले २४ बलमा ५ चौका प्रहार गरे । सन्दीप जोरा इनिङ्सको अन्तिम बलमा आउट भए । उनले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए । विवेक यादव ८ बलमा ७ रनमा अविजित रहे ।

आयरल्यान्ड ‘ए’ बाट म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । तर, दुवै महँगा साबित भए । फोस्टरले ४ ओभरमा ४२ र ह्वाइटले ४० रन खर्चे ।

जवाफमा आयरल्यान्डले पनि उत्कृष्ट सुरुआत गरेको थियो । रोस एडाएर र स्टेफन डहनीले ४ ओभरमा ४२ रन जोड्दै आइरिस टोलीलाई उत्कृष्ट सुरुआत दिलाए । डहनीलाई सोमपालले पाॅचौं ओभरको अन्तिम बलमा आउट गरे । उनले १३ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए ।

त्यसको दुई बलपछि कुशल मल्लले एडाएरलाई पनि १७ रनमा आउट गरे । उनले १७ बलमा ३ चौका प्रहार गरे । त्यसपछि आइरिस टोलीलाई अर्को बाउन्ड्री प्रहार गर्न झन्डै ८ ओभर लाग्यो । केड केर्माइकलले १८, मोर्गन टपिङले २१, कप्तान निल रकले १७ र ग्यारेथ डेलानीले १५ रन बनाए ।

नेपाल सोमबार पहिलो खेल ६ विकेटले जितेको थियो । नेपालले पहिलो खेल खेलेका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई खेलाएन । उनीहरूको स्थानमा अनिल र विवेकलाई खेलाएको थियो । दीपेन्द्रले अविजित २० रन बनाएका थिए भने लतिलले २ विकेट लिएका थिए ।

घरेलु मैदानमा थप एक शृंखला

आयरल्यान्ड ‘ए’ सँगको खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला सकिएको छ । नेपाली टोली बिहीबार भारतको भापीमा हुने गुजरात र बडौदाको टोलीसम्मिलित त्रिकोणात्मक शृंखला खेल्न त्यसतर्फ लाग्नेछ ।

नेपालले अर्को महिना ओमानमा एसिया कप ट्वान्टी–२० छनोट तथा जुनमा अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरअनुसार यसबीचमा कुनै अन्तर्राष्ट्रिय खेल छैन । तर, प्रशिक्षक मोन्टी देसाईले यस सिजनको अन्तर्राष्ट्रिय घरेलु शृंखलामा अझै नसकिएको बताए ।

‘ट्वान्टी–२० विश्वकप खेल्न जानुअघि हामी अझै एउटा घरेलु शृंखलाको तयारी गरिरहेका छौं, यसका लागि हाम्रो प्रयास जारी छ, तर अहिले नै केही भन्न सक्ने स्थिति छैन,’ आयरल्यान्ड उल्भससँगको खेलपछि देसाईले भने, ‘यस्तो भएमा हाम्रो तयारी अझ राम्रो हुनेछ ।’ उनले कस्तो टोली नेपाल आएर खेल्न लागेको भने केही खुलाएनन् ।

एसिया कप ट्वान्टी–२० छनोट अप्रिल १२ देखि २१ मा ओमानमा हुनेछ । क्यानले मे महिनाभर विश्वकप तयारीका लागि नेपाली टोलीलाई वेस्ट इन्डिज र अमेरिका पठाउन प्रयास गरिने जनाएको थियो । जुन ४ मा नेपालले नेदरल्यान्ड्ससँग खेलेर ट्वान्टी–२० विश्वकपमा यात्रा सुरु गर्नेछ । आयरल्यान्ड ‘ए’ ले भने नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र तीन ५० ओभरको खेल खेल्ने छ । पहिलो ट्वान्टी–२० बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ । चिनियाँ राजदूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले मंगलबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँबराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । राखेपका उपाध्यक्ष ...
— क्रोएसियाली कप्तान लुका मोड्रिचले सोमबार एसी मिलानसँग एक वर्षको अनुबन्ध गरेको इटालीको सिरी ‘ए’ क्लबले जनाएको छ । गत साता मात्रै मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सन् २०१८ को बालोन डी’अर विजेता ३९ वर्षीय खेलाडी रियल म्याड्रिडबाट सान सिएरो आउने बताएका थिए । उनी सेप्टेम्बरमा ४० वर्षमा पुग्नेछन् । सन् २०१२ मा उनी टोटनहमबाट रियल गएका थिए । रियलसँगको ...
— भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले सहयोग जुटाएर रंगशाला निर्माण थालेको थियो । तर सहयोग जुट्ने अवस्था नरहेको भन्दै फाउन्डेसन कामबाट अलग भएपछि भरतपुर महानगरपालिकाले स्वामित्व लिएर फेरि काम सुरु गरेको हो । महानगरले स्वामित्व लिएपछि गत वर्षको असार २३ गते ...
— नेपालले साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । निर्धारित समयभन्दा ढिला सुरु भएको मंगलबारको खेलमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको हो । नेपालको जितमा मीना देउवाले ह्याट्रिक गरिन् भने पूर्णिमा राईले दुई गोल गरिन् । थप दुई गोल समीक्षा मगर र सरिता कुमारीका नाममा रह्यो । बंगलादेशको ढाकास्थित ...
। इंग्ल्याण्डले एन्डरसन-टेन्डुलकर ट्रफीअन्तर्गत भारसँगको तेस्रो टेस्टमा रोमाञ्चक जित निकालेको छ । लर्ड्स मैदानमा भएको तेस्रो टेस्टको पाँचौं दिन तेस्रो सेसनमा इंग्ल्यान्डले भारतलाई २२ रनले पराजित गर्दै सिरिजमा २–१ को अग्रता लिएको हो। पाँच दिनसम्म उतारचढावले भरिएको खेल अन्ततः इंग्ल्यान्डले जित्दै रोमाञ्चक अन्त्यमा पुर्‍यायो। १९३ रनको लक्ष्य पछ्याएको भारत अन्तिम पारीमा १७० रनमै समेटियो। रविन्द्र जडेजाले अविजित ...