मुख्य समाचार
चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड
चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड

— नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठ र विदेशमन्त्री वाङबीच नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे भने सामान्य छलफल मात्र भएको छ । चीनले नेपाललाई बीआरआई कार्यान्वयन योजना सम्झौताका लागि आग्रह गरे पनि हालसम्म अघि बढ्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका दौरान दुवै पक्षले बीआरआईलाई गति दिन प्रतिबद्धता व्यक्त गरेका थिए । साथै दुई पक्षले परामर्श गरी छिट्टै बीआरआई कार्यान्वयन योजनाको प्रस्तावलाई अन्तिम रूप दिनेबारे त्यस बेला जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

भेटमा कार्यान्वयन योजनाको प्रस्तावको टुंगो नलगाए पनि उपप्रधानमन्त्री श्रेष्ठले बीआरआईका सम्बन्धमा भने नेपालका तर्फबाट धारणा राखेका थिए । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ विश्वको विकास र समृद्धिका लागि अनुकूल छ । नेपाल बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माणका लागि चीनसँगको सहकार्यलाई सुदृढ गर्न इच्छुक छ,’ उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । त्यसको जवाफमा विदेशमन्त्री वाङले चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, दुई पक्षबीचको राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ संयुक्त रूपमा निर्माण गर्न र आपसी रणनीतिक सहकार्यको साझेदारीलाई प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङ नेपाल मामिलामा विज्ञ मानिन्छन् । उनले चार पटक नेपालको औपचारिक भ्रमण गरिसकेका छन् । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विदेशमन्त्री वाङले नेपालमा सरकार पुनर्गठनपछि परराष्ट्रमन्त्रीको चीन भ्रमणले नेपाल–चीन मित्रताको परम्परा र चीनसँगको सहयोगलाई मजबुत बनाउने बताए ।

‘चीनले नेपाललाई सधैं एक मित्रवत् र रणनीतिक साझेदारका साथै महत्त्वपूर्ण निकट छिमेकीका रूपमा हेरेको छ । सबै नेपालप्रति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू पालन गर्दै आएको छ । सधैं ठूला वा साना सबै देशहरू समान हुन जोड दिँदै आएको छ,’ वाङको भनाइलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको उल्लेख गर्दै त्यसबाट दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको तथा दुई मुलुकको सम्बन्ध द्रुत गतिमा अघि बढेको बताए । गत वर्ष प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण पनि निकै सफल रहेको वाङले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने नयाँ र उच्चस्तरमा विकास र समृद्धिका लागि दिगो मित्रतामा नेपाल र चीनबीच परम्परागत मित्रता र एकअर्कामाथि निर्भरता रहेको उल्लेख गरे । ‘चीनले भूकम्प र महामारीको प्रतिकार्यमा नेपाललाई निःस्वार्थ सहयोग गरेको छ, जसलाई नेपाल सरकार र जनताले सधैं सम्झनेछन्,’ उनले बैठकमा भनेका थिए, ‘नेपालको नयाँ सरकारले चीनसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएको छ । र, द्विपक्षीय सम्बन्धको विकासको स्तरलाई निरन्तर सुधारका लागि चीनसँग सहकार्य गर्न इच्छुक छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) को समूहमा सामेल हुने पनि उल्लेख गरे । नेपाल चीनले अघि सारेको यो विकास कार्यक्रममा यसअघि नै सामेल भइरहेको छ ।

नेपाल र चीनले यसअघि सहमति भएअनुसार १४ परम्परागत सीमा व्यापार नाका खोल्न तथा व्यापार, लगानी, पर्यटन र अन्य क्षेत्रमा व्यावहारिक सहयोग सुदृढ गर्ने विषयमा फेरि सहमति जनाएका छन् । उक्त सहमति कार्यान्वयनमा भने जान सकेको छैन । भेटवार्तामा दुवै पक्षले साझा सरोकारका अन्य विषयमा पनि विचार आदान–प्रदान गरेका थिए ।

चीनको ९ दिने भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका अध्यक्ष तथा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङ हुनिङ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) की विदेश विभागकी उपमन्त्री सुन हायनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । आर्थिक विकास र समृद्धिमा केन्द्रित उनीहरूबीचको छलफलमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङपछि बुधबार छोङछिङ निस्कने छन् । त्यसपछि ल्हासा र छेन्दु भ्रमण गरेर नेपाल फर्कने कार्यक्रम छ ।

चिनियाँ लगानीकर्तालाई निम्तो

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताहरूलाई आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्तो दिएका छन् । बेइजिङस्थित नेपाली राजदूतावासमा मंगलबार आयोजित कार्यक्रममा चिनियाँ लगानीकर्ताहरूलाई सम्बोधन गर्दै श्रेष्ठले आसन्न लगानी सम्मेलनमा उत्साहजनक सहभागिताका लागि आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...