मुख्य समाचार
विदेशबाट फर्केर सूर्यमुखी फूल खेतीमा तल्लीन
विदेशबाट फर्केर सूर्यमुखी फूल खेतीमा तल्लीन

। चितवन कालिका नगरपालिका र रत्ननगर नगरपालिका सीमामा अहिले सूर्यमुखी फूल ढकमक्क फुलेको छ । पाँच हेक्टर जग्गामा चार जना मिलेर गरेको यो खेतीमा अहिले सूर्यमुखी फूलको दाना लाग्ने बेला भएको छ ।

फूल हेर्न चितवन आसपासका मानिस अहिले खेतमै पुगेर मनोरम दृश्य हेरिरहेका छन् । नेपालमा खासै सुरु नभएको सूर्यमुखी फूलको व्यावसायिक खेती लगाउने चितवनका सञ्जीव गिरी हुन् ।



इजरायलको कृषि क्षेत्रमा काम गरेर आएका गिरी तीन वर्षदेखि व्यावसायिक खेती गरिरहेका छन् । उनले अन्य तीन साथीसँग मिलेर व्यावसायिक सूर्यमुखी फूल खेती पहिलोचोटि गरेका हुन् ।

गिरीले एक बिघाभन्दा धेरै जमिनमा तरकारी खेती लगाएका छन् । आगामी साता १० कठ्ठा जमिनमा मेवा रोप्ने योजना पनि गिरीको छ ।




‘पाँच हेक्टरमा हामी चार जना मिलेर सूर्यमुखी फूल खेती सुरु गरेका छौं । अघिल्लो पटक दुई जनाले भरतपुर महानगरपालिकामा लगाएका थिए,’ गिरीले अनलाइनखबरसँग भने, ‘अहिले मसहित दुई जना मिलेर कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको बोर्डरमा लगाएका हौं । जग्गाबाहेक ७ लाख रुपैयाँ लगानी गरेका छौं । पाँच महिनामा प्रतिफल सहित नाफा निकाल्ने हाम्रो योजना छ ।’

गिरीले बागमती प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र चितवनले तेलहन खेतीमा ५० प्रतिशत अनुदान दिने थाहा पाएपछि खेती गर्न आँट आएको बताए ।

‘अनुदानमा तोरी र सूर्यमुखी लगाउन पाइने थियो, हामीले सूर्यमुखी खेती गर्‍यौं । नयाँ भएकाले पहिलो पटक थोरै लगानी गरेका हौं,’ उनले भने ।

एक किलो दाना उत्पादन गर्न सके आधा लिटर तेल निकाल्न सकिने उनले बताए । ‘हामीले ६ हजार किलो सूर्यमुखी फूलको दाना निकाल्ने अनुमान गरेका छौं । यहाँबाट ३ हजार लिटर तेल उत्पादन हुन सक्छ,’ उनले भने ।



के हो चुनौती ?

किसान गिरीका अनुसार रोपेको पाँच महिनाभित्र पूरै प्रतिफल दिने भए पनि उचित हेरचाह हुनुपर्ने बताए । उनले खेतीका लागि पानी जम्न दिन नहुने बताए ।

‘सूर्यमुखी फूलमा रोग किरा त्यति लाग्दैन, केही गरी लागिहाले निमको तेल र झोल मल प्रयोग गरे हट्छ । फूलमा दाना लाग्न थालेपछि भने सुगा एकदम नै लाग्छ,’ गिरीले भने, ‘सूर्यमुखीको दाना सुगालाई एकदमै मनपर्ने खाना पनि हो । यति जोगाउन सके खासै खेर जाँदैन ।’

उनका अनुसार सूर्यमुखी खेती गर्न राम्रोसँग जोतेर प्रांगारिक मल हालेपछि मकै जसरी नै रोप्नुपर्छ । यो फूलमा प्रशस्त मात्रामा प्रांगारिक मल प्रयोग गर्नुपर्ने हुन्छ । खेती सुरु गर्नु अगाडि खेतलाई राम्ररी जोत्नुपर्छ । माटो एकदम धुलो बनाउनुपर्छ ।

यो खेतीको लागि सुरुदेखि नै जमिन चिस्यान भइरहनुपर्ने उनको भनाइ छ । ‘सुक्खा लाग्ने अवस्थामा सिँचाइको व्यवस्था मिलाउनुपर्छ । यसको तेल निकाल्न तोरी पेल्ने मेसिन प्रयोग गर्दा पनि हुन्छ,’ उनले भने ।



के छ बजार ?

किसान गिरीका अनुसार सूर्यमुखी तेल प्रयोग गर्ने नेपालमा धेरै उपभोक्ता भए पनि आफ्नै उत्पादन भने कम हुने गरेको छ ।

‘आजभन्दा पहिले नेपालमा व्यावसायिक तरिकाले उत्पादन नभएका कारण स्थानीय समुदायमा यसको तेलबारे व्यापक प्रचार भए बजार राम्रो हुने थियो,’ उनले भने, ‘तेलसँगै सूर्यमुखीको दानाबाट पिना पनि निकाल्न सकिन्छ । पिनाको प्रयोग गाइभैंसीको दाना बनाउन पनि सकिन्छ । बहुउपयोगी हुन्छ ।’

गिरीले भनेजस्तै नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ फागुन मसान्तसम्म ११ अर्ब ९१ करोड रुपैयाँ बराबरको ८ करोड ८५ लाख ९५ हजार लिटर सूर्यमुखी तेल आयात भएको छ ।

चितवनमा जस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पनि सूर्यमुखी फूल खेती पहिलोचोटि भएको छ । मकवानपुरगढी गाउँपालिका–३ को धमिले फाँटमा किसान गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा सूर्यमुखी लगाएका हुन् । गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीका अनुसार परीक्षणको रूपमा लगाएको खेतीमा केही दिनदेखि चलेको हावाले भने असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेयर कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जानकारी दिएको हो। आज सूचना प्रकाशित गरेर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१,घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जानकारी दिएको हो।
: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा ...
: नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा ...
: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदा हुँदै पनि रोकिनु परेको तर्फ बैंकहरूको ध्यानाकर्षण ...
— राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि ...