मुख्य समाचार
युक्रेनले सार्वजनिक गर्‍यो ५ नेपाली युद्धबन्दी
युक्रेनले सार्वजनिक गर्‍यो ५ नेपाली युद्धबन्दी

— युक्रेनले आफ्नो नियन्त्रणमा रहेका ५ नेपाली युद्धबन्दी सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भई युद्ध लड्ने क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो ।

युक्रेनी सरकारको ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले आफूहरूको नियन्त्रणमा नेपाली ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक/एक नागरिक रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनले उनीहरूलाई एकै स्थानमा राखेर बयान लिएको थियो । नेपालीहरूसँगको कुराकानीपछि सबैलाई त्यहाँबाट रिहा भएपछि रुस जान र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कन वाचा पनि गराएको छ । युक्रेनले बन्दीहरूलाई कहिले छाड्छ भन्ने बारेमा भने जानकारी दिएको छैन ।

संयोजक यात्सेन्कोले राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा कमजोर आय भएका देशका केही नागरिकलाई रुसले भर्ती गर्ने र युद्धमा आफ्नो हतियारका रूपमा प्रयोग गर्ने उच्च सम्भावना रहेको बताएका छन् । युक्रेनले ग्लोबल साउथका मुलुकहरूलाई आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा सहभागी हुन नदिन पनि सार्वजनिक रूपमै आग्रह गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनको कब्जामा रहेका नेपाली छुटाउन निरन्तर पहल गरिरहेको जनाएको छ । युक्रेनी पक्षसँग मन्त्रालयले आफ्ना संयन्त्रमार्फत गृहकार्य गरिरहेको परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए । नेपालले लामो समयदेखि जर्मनीस्थित नेपाली द्तूावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिक रिहा गर्न कूटनीतिक प्रयास गर्दै आएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लगातारको प्रयासपछि जर्मनीस्थित नेपाली राजद्तू रामकाजी खड्का र युक्रेनी राजद्तूबीच कूटनीतिक संवाद भइरहेको छ ।

युक्रेनले यसअघि कब्जामा भएका नेपालीहरूको पटक–पटक गरेर भिडियो पनि सार्वजनिक गरेको थियो । हालसम्म रुसी सेनामा भर्ती भएका १७ नेपालीको युद्धका क्रममा मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परिवारसँग सम्पर्कविहीनको संख्या कम्तीमा ९६ रहेको छ । अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने बारेमा नेपालले पटक–पटक आग्रह गर्दासमेत रुसले जवाफ दिन मानेको छैन ।

गत बिहीबार परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका ७ नेपालीको मृत्यु भएको विज्ञप्तिमार्फत जानकारी दिएको थियो । धादिङ गंगाजमुना–३ का पूर्णबहादुर गुरुङ, जाजरकोट शिवालय–५ का नवीन शाही, उदयपुर चौदण्डीगढी–३ का पदमबहादुर घिमिरे, झापाको बिर्तामोड–५, गोलधापका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँके बैजनाथ–७ का सञ्जय केसी र रसुवा गोसाइँकुण्ड–५ का सुन्दर मोक्तानको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको थियो ।

यसअघि परराष्ट्रले १० नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो । जसमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाही, धादिङका राजकुमार गिरी, स्याङ्जा, पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र दार्चुलाका कुन्दन सिंह नागल छन् ।

यस्तै, प्यूठानका सोमेश सुनुवार, काठमाडौंका शुक्रबहादुर तामाङ, बाग्लुङका लालबहादुर बुढा, ओखलढुंगाका खोमकुमार भुजेल र दोलखाका राजकुमार रोक्काको मृत्यु भएको परिवारले दाबी गरेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीको स्वदेश फिर्ता र उद्धार समयमै हुन नसक्दा बेपत्ता हुने र मृत्यु हुने संख्या बढिरहेको छ । सरकारले रुसी पक्षसँग नियमित संवाद जारी राखे पनि नेपालीलाई रुसी सेनासँग गरिएको करार रद्द गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ। अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई ...
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ भएको छ । मेधावी विद्यार्थीहरूसमेत अवैध कामदारका रूपमा लुकेर बस्न विवश छन् । यो समस्या केही ठग कन्सल्टेन्सीहरूबाट उत्पन्न भएको हो । नेपालमा शैक्षिक परामर्श व्यवसाय एउटा अनियन्त्रित र नाफामुखी धन्दामा परिणत भएको छ । त्यसैको परिणाम आज विद्यार्थी बनेर गएका विद्यार्थी कोरियामा बिचल्लीमा परिरहेका छन् । ‘लाखौं कमाइ’ ...
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...
: संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए। 'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने। कृषि अध्ययनका ...