मुख्य समाचार
छिमेकीले आफ्नो हित अनुभूत गर्ने सहकार्य चाहन्छौं : जयशंकर
छिमेकीले आफ्नो हित अनुभूत गर्ने सहकार्य चाहन्छौं : जयशंकर

— भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसहितका छिमेकीसँग भारतले स्थायी सहकार्य चाहेको र त्यसैअनुसारको रणनीतिका साथ काम गरिरहेको बताएका छन् । त्यस्तो सहकार्यबाट छिमेकीले आफ्नो हित अनुभूत गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

इन्डिया टुडे ग्रुपको युट्युब च्यानल लल्लन टपलाई दिएको अन्तर्वार्तामा उनले नेपालसहित छिमेकीसँगको सम्बन्धमा स्थायी सहकार्यलाई जोड दिएका हुन् ।


नेपालसँग सम्बन्धमा भइरहेको उतार–चढावबारे सोधिएको प्रश्नमा जयशंकरले भने– ‘नेपाल, माल्दिभ्स वा अरू छिमेकी सम्बन्धमा केही तलमाथि भएको देखिन्छ । त्यहाँको आन्तरिक राजनीति पनि त्यसको कारण हो । गठबन्धनको संस्कृतिमा आज यो, भोलि त्यो पनि भइरहन्छ । त्यही बीचमा कसैले भारतबारेमा टिप्पणी गर्न सक्छन् । त्यहाँ कसरी राजनीति भइरहेको छ, त्यसमै निर्भर हुने कुरा हो ।’

उनले राजनीतिभन्दा बाहिर गएर सम्बन्ध मजबुत बनाउनुपर्ने बताए । ‘हामी स्थायी सहकार्य गर्न चाहन्छौं भन्नुको अर्थ विद्युत् प्रसारण लाइन, सडक, वाटरवेज, रेल लाइन बनाऔं, यस्तो सहकार्य जुन राजनीतिक परिवर्तनले पनि नफेरियोस्,’ उनले भनेका छन्, ‘त्यस्तो सहकार्य गर्दा छिमेकीलाई लाग्नुपर्छ, यसबाट हामीलाई हित भएको छ ।’ पत्रकार सौरभ द्विवेदीको ‘भारतमाथि निर्भरता बढाइनुपर्छ भन्न खोज्नुभएको हो ?’ भन्ने प्रश्नमा जयशंकरले भने, ‘होइन सहकार्य गर्ने भनेको हो, जसको लाभ छिमेकीले पाएको महसुस गरोस् । भारतले मात्र गरिरहेको छ, त्यस्तो मात्रै सन्देश जान हुँदैन ।’

नेपालले पहिलो पटक भारतलाई बिजुली बेचिरहेको र त्यसबाट आयआर्जनसमेत गरेको विषयलाई जयंशकरले विशेष जोड दिए । प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी नीतिको पहिलो निचोड नै स्थायी सहकार्य रहेको उनले सुनाए । काठमाडौं वा कोलम्बोमा बसेर त्यहाँका नागरिकले भारतलाई आफ्नो बजारका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए ।

‘भारत हाम्रो बजार हो, ऊर्जाको ग्राहक हो, त्यहाँबाट पर्यटक आउँछन्, मालसामान आउँछ, उपचारका लागि बिरामी भारत आउँछन्,’ उनले भने, ‘उनीहरूले भारतबाट पाइरहेको लाभलाई हेर्न सक्नुपर्छ । जब उनीहरूले आफ्नो लाभ हेर्न थाल्छन् । त्यसबेला भारतलाई लिएर कायम असुरक्षाको भावना हटेर जानेछ ।’

उनले नेपालमा राजनीतिक समीकरण फेरिएको सन्दर्भमा आफूलाई केही पूर्वाभास रहेको संकेत दिएका छन् । अघिल्लो सत्ता गठबन्धनभित्र केही समस्या रहेको थाहा पाएको उनले बताए । ‘प्रचण्डजीसँग जनवरीमा मेरो युगान्डामा भेट भएको थियो । हामीले त्यो बेला कुरा गरेका थियौं । त्यतिबेला नै गठबन्धनमा केही समस्या रहेको आभास भएको थियो । त्यसपछि पनि हामी सम्पर्कमै थियौं’ उनले भने, ‘छिमेकमा हाम्रा अब्बल राजदूतहरू छन् । घटनाक्रमलाई नजिकबाट अवलोकन गर्नुहुन्छ । कतिपयले आफैं पनि हामीसँग सेयर पनि गर्नुहुन्छ ।’

युगान्डाको भेटमा चीनतर्फबाट गठबन्धन तोड्न दबाब आएको प्रचण्डले केही सुनाएको हो ? भन्ने प्रश्नमा जयशंकरले ‘होइन, त्यो कुरा छाड्नुस’ भन्दै पन्छिए । उनले नयाँ गठबन्धनबाट सरकार बनेको र आफूहरू यो सरकारसँग काम गर्न तयार रहेको बताए । उनले नेपालको नयाँ विदेशमन्त्रीलाई बधाई दिएकोसमेत उल्लेख गरे । सत्ता समीकरणको फेरबदल राजनीतिमा सामान्य रहेको र गठबन्धनको राजनीतिमा अझ बढी हुने उनको भनाइ थियो ।

२०१५ मा संविधान जारी हुने बेला परिस्थिति, नाकाबन्दी र सीमा विवाद लगायतका सन्दर्भमा पनि जयशंकरले आफ्नो भनाइ राखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बैठकमा लिखित दस्ताबेजमै जयशंकरले नेपाली राजनीतिक पार्टीलाई संविधान निर्माणका सन्दर्भमा आफूबाट ‘धम्की’ दिएको चर्चा गलत भएको दाबी गरे ।

‘के लाग्छ ? म कसैलाई धम्क्याउन सक्छु ?’ जयशंकरको जवाफ थियो । उनले संविधानको सन्दर्भमा भारतबाट कुनै पनि विषयमा सुझाव नभएको बताए । ‘मधेशमा जुन बन्द र रोकावट भएको थियो, त्यो नेपालतर्फबाटै भएको थियो । हाम्रोतिर थिएन,’ उनले भनेका छन्, ‘उनीहरूले आफ्नैतर्फ गम्भीर परिस्थितिको राजनीति सिर्जना गरेका थिए ।’ त्यतिबेला आफू नेपाल जानुको उद्देश्य परिस्थिति थप खराब हुन नदिन आग्रह गर्नु मात्र रहेको बताए । ‘हामीले कहिल्यै पनि यो गर्नुस्, त्यो गर्नुस् भनेर प्रेस्क्रिप्सन दिएनौं, मेरो जानुको उद्देश्य परिस्थिति थप खराब हुनुपूर्व केबल सोच्नुहोस् भन्ने मात्रै थियो,’ जयशंकरले भने, ‘मधेशमा खराब स्थिति थियो, तनाव कम गर्नुस् । परिस्थिति थप बिग्रन नदिनुस् भन्ने मात्र थियो ।’

सीमा विवादका सन्दर्भमा नेपालले गरेको संविधान संशोधनप्रति भने उनले अप्रत्यक्ष रूपमा असन्तुष्टि व्यक्त गरे । सीमा विवादका सन्दर्भमा सोधिएको प्रश्नमा उनले केही क्षेत्रमा ‘विवाद’ रहेको र त्यो लुकाउने कुरासमेत नभएको बताए । उनले विदेश सचिवस्तरमा त्यस विषयमा छलफल चलिरहेको स्मरण गराए । ‘कुनै विवाद छ र हामी बसेर कुरा गरिरहेका छौं भने त्यो बेला मेरो यो अपेक्षा हुँदैन कि ती कुराहरू बाहिर जाओस्, जसले परिस्थितिलाई भड्काउन सक्छ,’ उनले भने । नेपाल र भारतबीचको खुला सीमा पूरै दुनियाँमा एउटा विश्वासको नमुना रहेकोसमेत उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...