मुख्य समाचार
युक्रेनको कब्जामा रहेका नेपालीलाई छुटाउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय
युक्रेनको कब्जामा रहेका नेपालीलाई छुटाउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

— रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपालीहरूलाई छुटाउनका लागि सरकारले निरन्तर पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूलाई छुटाउन युक्रेनी पक्षसँग परराष्ट्र मन्त्रालयले आफ्ना संयन्त्रहरूमार्फत गृहकार्य गरिरहेको परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए । युद्धका क्रममा विभिन्न स्थानबाट कब्जामा लिइएका नेपालीहरूलाई युक्रेनले एकै स्थानमा भेला गरिसकेको छ ।

शुक्रबार भने युक्रेनले ८ जना रुसी सेनामा कार्यरत अन्य मुलुकका नागरिकहरूलाई एकै पटक सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । युक्रेनले ग्लोबल साउथका मुलुकहरूलाई आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा रोक लगाउनका लागि पनि सार्वजनिक रूपमै आग्रह गरेको छ ।



युक्रेनी सरकार ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले सार्वजनिक गरेको नागरिकहरूको सूचीमा नेपालका ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक/एक नागरिक छन् । राजधानी किभमा भएको पत्रकार सम्मेलनमा कमजोर आय भएका देशका केही नागरिकहरूलाई रूसले भर्ती गर्ने र युद्धमा आफ्नो हतियारका रुपमा प्रयोग गर्ने उच्च सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।

युक्रेनले नेपालका ५ जनालाई एकै स्थानमा राखेर बयान लिएको थियो । रुसी सेनामा भर्ना भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका छन् ।

युक्रेनले नेपालीहरूसँग कुराकानी गरेर सबैलाई युक्रेनबाट रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गराएका छन् । युक्रेनले बन्दीहरुलाई कहिले छाड्छन् भन्ने बारेमा पनि जानकारी दिएको छैन । नेपालले लामो समयदेखि जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिकहरुलाई रिहाई गर्नको लागि कूटनीतिक कदम चालेको थियो ।



नेपालको लगातारको प्रयासपछि मात्र युक्रेन नेपालसँग कूटनीतिक संवाद गर्न सहमत भएको थियो । अहिले नेपाल र युक्रेनबीच कूटनीतिक संवाद भइरहेको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच कुराकानी भइरहेका छन् । युक्रेनले यसअघि कब्जामा भएका नेपालीहरूको विभिन्न समयमा भिडियो पनि सार्वजनिक गरेको थियो ।

रुस–युक्रेन युद्ध लड्न रुसी सेनामा भर्ती भएर गएका १९ जना नेपालीहरूको मृत्यु भइसकेको छ । अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने बारेमा नेपालले पटक–पटक रुसलाई आग्रह गर्दासमेत जवाफ दिन मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ। अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई ...
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ भएको छ । मेधावी विद्यार्थीहरूसमेत अवैध कामदारका रूपमा लुकेर बस्न विवश छन् । यो समस्या केही ठग कन्सल्टेन्सीहरूबाट उत्पन्न भएको हो । नेपालमा शैक्षिक परामर्श व्यवसाय एउटा अनियन्त्रित र नाफामुखी धन्दामा परिणत भएको छ । त्यसैको परिणाम आज विद्यार्थी बनेर गएका विद्यार्थी कोरियामा बिचल्लीमा परिरहेका छन् । ‘लाखौं कमाइ’ ...
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...
: संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए। 'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने। कृषि अध्ययनका ...