मुख्य समाचार
टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका, चीनले भन्यो : जवाफ दिन्छौं
टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका, चीनले भन्यो : जवाफ दिन्छौं

— अमेरिकामा सामाजिक सञ्जाल प्लाटफर्म टिकटक प्रतिबन्ध हुनसक्ने विषयले अहिले सामाजिक सञ्जाल क्षेत्र तरंगित बनेको छ । अमेरिकी संसदको तल्लो सदनले यो साता एक विधेयक पारित गरेसँगै चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका एक कदम अघि बढेको छ ।

टिकटकलाई स्वामित्व बिक्री वा प्रतिबन्ध लगाउने कानुनको पक्षमा ३२६ र विपक्षमा ६५ सांसदहरूले यही बुधबार मतदान गरेका थिए । आफ्ना ३६ राज्य र संघीय रूपमै सरकारी स्वामित्वका डिभाइसहरूमा अमेरिकाले यसअघि नै कुनै न कुनै रूपमा टिकटकको प्रयोग रोकिसकेको थियो । पछिल्लो कानुनमार्फत अमेरिकाले टिकटकको प्यारेन्ट कम्पनी ‘बाइटडान्स’लाई सो एपको स्वामित्व छोड्न वा अमेरिकी एपस्टोरहरूमा प्रतिबन्धको सामना गर्ने व्यवस्थासहितको कानुन पारित गरेको हो ।



उक्त कानुन अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित हुन बाँकी नै छ भने राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै औपचारिक रूपमा लागू हुनेछ । संसद्ले पठाउनासाथ आफूले तुरून्तै सो कानुनमा हस्ताक्षर गरिदिने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरिसकेका छन् । तथापि, उनीसम्म पुग्न केही समय लाग्ने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

झन्डै १५ करोड अर्थात अमेरिकी जनसंख्याको लगभग आधाले टिकटक चलाउने र औसत एक घण्टा सो एपमा बिताउने गरेको विभिन्न तथ्यांकले देखाएका छन् । विश्वव्यापी रूपमा झन्डै एक अर्ब सक्रिय प्रयोगकर्ता रहेको सो एपको स्वामित्व राख्ने कम्पनी बाइटडान्सको कूल बजार मूल्य सन् २०२३ को अन्त्यमा झन्डै दुई खर्ब २३ अर्ब डलर पुगेको थियो । अमेरिकी संसद्को पछिल्लो कानुनले बाइटडान्सलाई आफ्नो टिकटक स्वामित्व बिक्री गर्न १६५ दिनको समय दिने प्रस्ताव गरेको छ ।

नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तानजस्ता देशमा टिकटक पूर्णरूपमा प्रतिबन्धित छ । अमेरिका, क्यानडा, युरोपेली संघ, अस्ट्रेलिया, बेलायतलगायत देशमा भने सरकारी स्वामित्वका डिभाइससहित विभिन्न सार्वजनिक संस्थामा प्रतिबन्धको सामना गरिरहेको छ । चीन सरकारसँग साँठगाँठ रहेको र अमेरिकी लगायतका प्रयोगकर्ताहरूबारे विभिन्न तथ्यांक चिनियाँ कम्युनिस्ट पार्टीसम्म पुर्‍याएको आरोप टिकटकमाथि लाग्ने गरेको छ । सो एपले अमेरिकी संसदीय समिति र विभिन्न सार्वजनिक फोरमहरूमा आफूहरूले अमेरिकी प्रयोगकर्ताका कुनै पनि तथ्यांक दुरूपयोग नगरेको र दुरूपयोग रोक्न 'प्रोजेक्ट टेक्सस' नामक नयाँ अभियानसमेत सुरु गरेको दाबी गर्दै आएको छ ।

गएको तीन वर्षयता उन्नत प्रविधिका सेमिकन्डक्टर चिपसँगै प्रविधिका अन्य विभिन्न विषयमा अमेरिका-चीन एकअर्काको आमने-सामने र एक किसिमको व्यापार युद्धमा छन् । टिकटकमाथिको अहिलेको रबैयाका कारण थप तनाव उत्पन्न हुनसक्ने चीनको प्रतिक्रिया छ । 'यो अमेरिकाको धम्कीपूर्ण कदम हो र यस्तो व्यवहार अमेरिकाकै लागि प्रत्युत्पादक हुनसक्छ,' चीनको विदेश मन्त्रालयले भनेको छ, 'अमेरिकाले यतिका समय प्रयास गरेर टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने कुनै पक्ष नभेट्दा पनि शत्रुतापूर्ण व्यवहार गर्न छोडेन ।' विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिन भन्छन, 'खुला प्रतिस्पर्धामा आफूले जित्न नसकेका क्षेत्रमा धम्कीपूर्ण व्यवहार गर्ने अमेरिकाको चलन नै हो, यस्तो व्यवहारले बजार र लगानीकर्ताको मनोभावनामा असर गर्नुका साथै विश्वव्यापी वित्तीय व्यवस्थामै क्षति गर्नसक्छ ।'

चीनले खुला बजार प्रतिस्पर्धाको हवाला दिने गरे पनि आफ्नो देशमा भने अमेरिका र अन्य देशका चर्चित एपहरूलाई प्रतिबन्ध लगाउने गरेको छ । चीनमा गुगल, युट्युब, एक्स (ट्वीटर), इन्स्टाग्राम, फेसबुकलगायत एपको प्रयोगमा प्रतिबन्ध छ । गुगलले सन् २०१० मै चीनको मुख्य भूमिमा आफ्नो सेवा बन्द गरेको थियो । चीन सरकारको प्रयोगकर्ताहरूका बारेमा तथ्यांक उपलब्ध गराउनुपर्ने कठोर शर्तका कारण कम्पनीहरूले चीनमा बजार छोडेको र हाल टिकटकले पनि झन्डै १७ करोड अमेरिकीहरूको व्यक्तिगत तथ्यांक चीन सरकारलाई बुझाउनसक्ने भयका कारण अमेरिका सो एपमा कठोर बन्दै आएको छ ।

साइवर सुरक्षा विज्ञहरूले चाहिँ सो किसिमको जोखिम हालसम्म शंकामै सीमित रहेको बताउँदै आएका छन् । तथापि, कम उमेरका प्रयोगकर्तामाझ अत्यन्तै लोकप्रिय टिकटकको सम्बन्धमा चीन सरकार आफैंले सुरु गरेको प्रतिबन्धजस्ता खराब अभ्यासको सिकार बनेको सीएनएनको निष्कर्ष छ । टिकटक प्रतिबन्ध लगाउने विषयको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रयोगकर्ताहरूले प्रदर्शनी गरेका छन् ।

बाइटडान्सले बुधबार नै जारी गरेको विज्ञप्तिमार्फत सांसदहरूले अमेरिकी अर्थतन्त्र, त्यहाँका ७० लाख व्यवसाय र १७ करोड प्रयोगकर्तामाझ टिकटकले पुर्‍याएको सकारात्मक प्रभावको मूल्यांकन गर्नेछन् भन्ने विश्वास रहेको जनाएको छ । युवामाझ चर्चित रहेका टिकटकका प्रमुख कार्यकारी अधिकृत सोउ जी चीउलाई बाइटडान्सले अमेरिकी संसद् क्यापिटल हिलमा पठाउनुका साथै सम्भावित प्रतिबन्धबारे प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरहरूलाई अवगत गराउने जिम्मासमेत दिएको छ । उनले एक्समा सेयर गरेको भिडियोमार्फत अमेरिकी कन्टेन्ट क्रिएटरहरूलाई प्रतिबन्धविरुद्ध सांंसदहरूलाई घच्चघच्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...