मुख्य समाचार
कहाँ छन् टी-२० विश्वकप खेल्ने नेपाली खेलाडी ?
कहाँ छन् टी-२० विश्वकप खेल्ने नेपाली खेलाडी ?

सन् २०१४ को मार्च १६ । यो दिन बंगलादेशको चट्टोग्राममा नेपालले हङकङसँग खेल्दै टी-२० विश्वकपमा डेब्यू गर्दै थियो । ऐतिहासिक दिनमा पूरै देश क्रिकेटमय बनेको थियो । देशमा क्रिकेट माहोल तीव्र गतिमा बढेको थियो । क्रिकेट नबुझ्नेले पनि चाख दिन थालेका थिए ।

नेपालको खेल जहुर अहमद चौधरी स्टेडियमा साँझको समयमा थियो । तर, बिहान उज्यालो भएदेखि नै साँझको प्रतीक्षा थियो । त्यो समयमा स्टार स्पोर्ट्समा नेपालको खेल प्रत्यक्ष प्रशारण हुने भनेपछि शान नै बेग्लै हुन्थ्यो । सहरका चोक चोकमा प्रोजेक्टरबाट ठूलो पर्दामा क्रिकेट देखाउने तय भइसकेको थियो । दशकअघि पहाड र हिमाली भेगमा सामाजिक सञ्जाल त्यति प्रयोगमा थिएन । जसको घरमा टिभी छ त्यसैकोमा गएर हेर्ने योजना गाउँमा थियो ।


तत्कालीन कप्तान पारस खड्का र हङकङका जेमी एट्किन्सन टस गर्न मैदान छिरे । पारसले सिक्का फ्याले । हङकङका कप्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिए ।

स्टेडियममा नेपालको राष्ट्रिय गान गुञ्जियो । त्यो हरेक नेपालीको लागि गर्व, खुसी र भावुक क्षण थियो । हरेक नेपाली खेलाडीको सपना नै विश्वकपमा राष्ट्रिय गान र झण्डा फहराउने थियो । हङकङ त्यो समय एसोसिएटको मजबुत टोली मानिन्थ्यो ।


नेपाली ओपनर सागर पुन १३ र सुवास खकुरेल २२ रनमा आउट हुँदा नेपालको स्थिति ५.१ ओभरमा ३६-२ थियो । त्यसपछि नेपालका उत्कृष्ट ब्याटिङ जोडी ज्ञानेन्द्र र पारसले इनिङ सम्हाल्लेका थिए । दुवै ब्याटरले नाम अनुसार प्रदर्शन पनि गरे ।

ज्ञानेन्द्र सुरुवातमा १७ बलमा ८ रनमा थिए । १३औं ओभरको दोस्रो बलमा एजिज खानलाई मिडविकेटमा चौका प्रहार गर्दै ब्याट खोलेका थिए । ज्ञानेन्द्र र पारसले तेस्रो विकेटका लागि ६७ बलमा ८० रनको साझेदारी गरेपछि नेपाल १६.१ ओभरमा ११४-२ को मजबुत अवस्थामा थियो ।

नाजिव अमरको बलमा ठूलो सट खेल्न खोज्दा लङअनमा निजाकत खानबाट पारस ३७ बलमा ४ चौकासहित व्यक्तिगत ४१ रनमा क्याच आउट भए । शरद भेषावकरले १९औं ओभरको अन्तिम दुई बलमा इफरान अहमदलाई दुई चौका हाने । अन्तिम ओभरको पहिलो बलमा ज्ञानेन्द्रले विश्वकपमा नेपालको लागि पहिलो छक्का हाने । लगत्तै अर्को बलमा उनी आउट हुँदा ४८ रन जोडेका थिए ।

चौथो बलमा शरद दुई रन बटुल्ने क्रममा रन आउट, पाँचौं बलमा नरेश बुढाऐर र अन्तिम बलमा शक्ति गौचन आउट भएका थिए । यसरी नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । त्यो समय यतिको योगफल वर्तमान अवस्थामा २ सय बराबर थियो ।

बंगलादेशको स्पिनर सहयोगी पिचमा नेपालले जित्ने सहज हुने अनुमान थियो । इनिङको पहिलो बलमै पारसले इफरान अहमदलाई आउट गरे । नेपाली क्रिकेटका उदीयमान सोमपाल कामीको गतिको खुब चर्चा थियो । सोमपालले दोस्रो ओभरको अन्तिम बलमा हङकङका कप्तान जेमीलाई ६ रनमा बोल्ड आउट गरे ।

त्यसपछि त नेपालका दुई स्पिनर शक्ति गौचन र वसन्त रेग्मीले हङकङको इनिङ ध्वस्त पारे । न्युजिल्यान्डका स्टार ब्याटर मार्क च्यापम्यान हङकङबाट त्यो विश्वकप खेल्दा वसन्तले १३ रनमा बोल्ड गरिदिएका थिए । उनैले प्रमुख ब्याटर बाबर हायतलाई २० रनमा बोल्ड गरेका थिए ।

विकेट लिएपछि मैदानमा दौडिएर गर्ने शक्तिको सेलेब्रेसन झनै उत्कृष्ट थियो । ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका शक्ति नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

हङकङलाई १७ ओभरमै ६९ रनमा अल आउट गर्दै नेपाल ८० रनले विजयी भएको थियो । पहिलो खेलमा शानदार प्रदर्शनपछि विश्व क्रिकेटमा नेपालले नयाँ तरङ्ग ल्याएको थियो । १८ मार्चमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भयो । २० मार्चमा नेपालले अफगानिस्तानलाई ९ रनले हराउँदै झनै सनसनी मच्चाएको थियो ।

दुर्भाग्य नेट रनरेटका कारण नेपाल दोस्रो चरणमा पुग्न सकेन । समान ४ अंक भएपनि बंगलादेशको नेटरनरेट १.४६६ र नेपालको ०.९३३ थियो ।

त्यो नेपालले खेलको पहिलो टी-२० आई खेल पनि थियो । विश्वकप खेलेर आएपछि नेपालमा क्रिकेट माहोल हृवात्तै बढ्यो । चोक, गल्ली, खेत बगर जताततै क्रिकेट खेलेको देखिन थाल्यो ।

पहिला क्रिकेट खेल्दा गाली गर्ने बुबाआमा आफैं छोराछोरी लिएर क्रिकेट एकेडेमी पुग्न थाले । विस्तारै फ्रेन्चाइज क्रिकेटको आकर्षण बढ्न थाल्यो ।

पछिल्लो एक दशकमा नेपाली क्रिकेटले ठूलो फड्को मारेको छ । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बन, डिभिजन टुमा करण केसीको मिराकल ब्याटिङ, २०१८ मा ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता, २०२३ मा ओडीआई मान्यता निरन्तरता, एसिया कपमा स्थान र पुन: विश्वकपमा छनोट जस्ता घटना यसबीचमा भए ।

सन् २०२४ सम्म आइपुग्दा नेपाल एसोसिएटको नम्बर वान बन्ने दौडमा छ । टेष्ट मान्यता सपना देख्ने स्तरमा पुगेको छ । भारत र पाकिस्तान जस्ता देशसँग खेलिसकेको छ । विश्वका कुनैपनि टोलीसँग खेल्ने स्तरमा पुगेको छ । सबैभन्दा मुख्य कुरा खेलाडीले खेलेरै बाँच्ने आधार बनेको छ । देशमा सबैभन्दा लोकप्रिय खेल कि्रकेट बनेको छ । १० वर्षअघि विश्वकप खेल्दा नेपालले पनि कि्रकेट खेल्छ भन्ने प्रश्न उठ्ने समय थियो, अहिले नेपालको खेलको विश्वले तारिफ गर्ने खालको भइसकेको छ ।



क्रिकेटमा सरकार र निजी क्षेत्रको लगानी बढ्न थालेको छ । तर पहिलो विश्वकप खेलेपनि पुनः खेल्न नेपालले एक दशक नै पर्खनुपर्‍यो । नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा पनरागमन गर्नेछ ।

नेपालले विश्वकप खेलेको टिभीमा देखेर क्रिकेटमा लागेका रोहित पौडेल सन् २०२४ को विश्वकपमा नेतृत्व गर्नेछन् । २०१४ विश्वकप नेपाली कि्रकेट विकासको टर्निङ प्वाइन्ट मानिन्छ । त्यसमा पनि हङकङसँगको खेल सधैं स्मरण र यादगार हुनेछ ।

कहाँ छन् विश्वकपमा खेल्दाका ती नेपाली खेलाडी ?

ओपनर सुवास खकुरेल सन् २०२२ देखि अष्ट्रेलिया र सागर २०१८ मा चोटपछि अमेरिकामा बस्दै आएका छन् । सागर २०२२ मा घरेलु क्रिकेट खेल्न नेपाल आएका थिए ।

गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्यास लिएका ज्ञानेन्द्र मल्ल नेपाल ए टोलीका मुख्य प्रशिक्षक छन् । पारस क्यानको सचिव, विनोद नेपाली टोलीबाट खेल्दैछन् भने शरद भेषावकर घरेलु क्रिकेट खेल्नुका साथै क्रिकेट विश्लेषक र कमेन्टेटरको रुपमा छन् । वसन्त २०१९ पछि नेपाली टोलीमा नरहेपछि अमेरिकामा बस्दै आएका छन् । नरेश बुढाऐर क्यानडाबाट क्रिकेट खेल्ने तयारीमा छन् । शक्ति भैरहवामा स्टार क्रिकेट एकेडेमीमा खेलाडी उत्पादन गर्न ब्यस्त छन् ।

सोमपाल कामी वर्तमान टोलीका प्रमुख सदस्य हुन् । जितेन्द्र मुखिया, अविनाश कर्ण र अनिल मण्डल त्रिभुवन आर्मी क्लबमा छन् । प्रदीप ऐरी एपीएफबाट घरेलु क्रिकेट खेल्दैछन् । अमृत भट्टाई अष्ट्रेलिया, पृथु बास्कोटा अमेरिका र राहुल विश्वकर्मा युरोपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...