मुख्य समाचार
भारतको अहिलेसम्मकै ठूलो टेस्ट जित
भारतको अहिलेसम्मकै ठूलो टेस्ट जित

— यसस्वी जैसवालको अविजित दोहोरो शतकको मद्दतले भारतले आइतबार आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट जित आत्मसात् गरेको छ । उसले इंग्ल्यान्डलाई तेस्रो टेस्टमा ४ सय ३४ रनले हराएको हो । यससँगै भारत पाँच टेस्टको सिरिजमा २–१ ले अगाडि रह्यो ।

जितका लागि ५ सय ५७ रनको लक्ष्य पाएको इंग्ल्यान्डको ब्याटिङ तासको पत्तिझैं एकपछि अर्को ढलेको थियो । टेस्टको चौथो दिन इंग्ल्यान्ड १ सय २२ रनमै अलआउट भयो । दिनको अन्तिम सेसेनमा इंग्ल्यान्डले आठ विकेट गुमाएको थियो ।


प्रभावशाली जितपछि जैसवालले भने, ‘टेस्ट क्रिकेटमा जति बेला राम्रो खेलिरहेका हुनेछौं, त्यही बेला त हो, ठूलो स्कोर बनाउने । टेस्ट क्रिकेट आफैंमा कठिन छ । त्यसैले जति बेला म खेलिरहेको हुनेछु, आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछु ।’

रवीन्द्र जडेजाले मार्क उडलाई ३३ रनमा आउट गरे र यो नै अन्तिम विकेट रह्यो । जडेजाको आफ्नै भने यो यस इनिङ्सको पाँचौं विकेट रह्यो । रनका आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित सम्भव भएपछि जडेजाले पिचलाई झुकेर चुम्बन गरे । इंग्ल्यान्डका लागि भने यो अहिलेसम्मकै दोस्रो ठूलो अन्तरको हार हो । यसअघि सन् १९३४ मा इंग्ल्यान्ड अस्ट्रेलियाको हातबाट ५ सय ६२ रनले पराजित भएको थियो ।

इंग्ल्यान्डले चिया सेसन अगाडि नै आफ्ना दुवै ओपनरलाई गुमाएको थियो । त्यसमा अघिल्लो इनिङ्समा शतक बनाएका बेन डकेट चार रन मात्र बनाएर रनआउट भए । त्यसपछि जडेजाले आफ्नो बायाँ हाते स्पिन आक्रमणको मद्दतले इंग्ल्यान्डको मध्यक्रमलाई ध्वस्त पारे । उनी नै प्लेयर अफ द म्याच भए । पूरा टेस्टमा उनले सात विकेट लिए ।


त्यस्तै उनले भारतको पहिलो इनिङ्समा १ सय १२ रनको सानदार शतकीय प्रदर्शन पनि गरेका थिए । इंग्ल्यान्डका लागि खराब लयबाट गुज्रिरहेका जोनी बियरस्टो र जोए रुट दुवै फेरि एकपल्ट असफल रहे । बियरस्टोले चार रन मात्र बनाए भने रुटको ब्याटबाट सातै रन मात्र निस्क्यो । कप्तान बेन स्टोक्सले भारतीय बलिङ आक्रमणविरुद्ध आक्रामक रहेर धावा बोल्ने प्रयास गरे पनि उनी आफ्नो सयौं टेस्टमा १५ रन बनाएर बायाँ हाते स्पिनर कुलदीप यादवको सिकार बने । हारपछि स्टोक्सले भने, ‘अब हामी सिरिजमा २–१ ले पछाडि पर्‍यौं । तर अझै दुई टेस्ट बाँकी छन् । अब हामी यो खेललाई बिर्सन चाहन्छौं । हामीलाई अबको बाँकी दुई टेस्ट नै जित्नुपर्नेछ, यदि सिरिज पनि आफ्नो नाममा लेखाउने हो भने ।’

बायाँ हाते ओपनर जैसवालले दोहोरो शतक बनाएपछि भारतले चार विकेट गुमाएर ४ सय ३० रनमा आफ्नो दोस्रो इनिङ्सको समाप्ति घोषणा गरेको थियो । त्यसमा २ सय ३६ बलको सामना गरेर २ सय १४ रन बनाएका जैसवालले अघिल्लो दिन रिटायर्ड हर्ट भएयता फेरि खेल्न सुरु गरेका थिए । त्यति बेला उनी १ सय ४ रनको स्थितिमा थिए । ढाडको समस्याले उनले त्यति बेला क्रिज छाडेका थिए । ‘आज म फेरि फर्कें किनभने खेललाई आफैं अगाडि बढाउन चाहन्थें र अन्त्यसम्म ब्याटिङ गर्न चाहन्थें,’ उनले थपे ।

रुटको बलमा एक रन बटुल्नै उनले सिरिजमा लगातार दोस्रो दोहोरो शतक पूरा गरे र उफ्रिँदै खुसी मनाए । उनले १२ छक्का प्रहार गरे । यसमा जेम्स एन्डरसनविरुद्ध लगातार तीन छक्का पनि सामेल थियो । इंग्ल्यान्डका लागि १ सय ८५ टेस्टमा ६ सय ९६ विकेट लिएका भेट्रान एन्डरसनले लगातार तीन बलमा छक्का खाएको यो नै पहिलो पटक हो । जैसवालले टेस्टको एकै इनिङ्समा १२ छक्काको प्रदर्शन पनि बराबर गरेका छन् ।

यसअघि वासिम अक्रमले सन् १९९६ मा जिम्बावेविरुद्ध एकै इनिङ्समा १२ छक्का प्रहार गरेका थिए । जैसवालले डेब्यु गरिरहेका सरफराज खानसँग नटआउट १ सय ७२ रनको म्याराथन साझेदारी पनि गरे । खानले आफ्नो दोस्रो अर्धशतक पूरा गर्ने क्रममा ६८ रन बनाए । दोस्रो टेस्टमा पनि जितका लागि निर्णायक सावित २ सय ९ रनको इनिङ्स खेलेका २२ वर्षीय जैसवालले यस शृंखलामा ५ सय ४५ रन बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...