मुख्य समाचार
कमजोर बलिङ र फिल्डिङले तुहियो सपना
कमजोर बलिङ र फिल्डिङले तुहियो सपना

— कमजोर बलिङ र फिल्डिङपछि नेपालको महिला एसिया कप क्रिकेटमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपाल शुक्रबार एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएको थियो । प्रतियोगिताको शीर्ष दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । तर, नेपाल फेरि एक पटक सेमिफाइनलमै रोकियो ।


टस जितेको नेपालले मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाई १ सय १५ रन बनायो । नेपालको यो स्कोर मजुबत देखिएको थियो । यही मैदानमा शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा यूएईले पहिला ब्याटिङ गरी ७ विकेट गुमाई ७० रनमात्र बनाउन सके पनि एसोसिएटको निकै बलियो टोली थाइल्यान्डसँगको खेल ४ रनले जितेको थियो ।

तर ब्याटिङलाई बढी नै केन्द्रित गर्दा नेपालको बलिङ कमजोर हुन पुग्यो, जसको कारण मलेसियाले १ बलअगाडि लक्ष्य पूरा गर्‍यो । प्रमुख बलरका रूपमा रहेका अलराउन्डरद्वय पूजा महतो र अस्मिना कर्माचार्यलाई प्लेयिङ ११ मा नखेलाउने नेपालको निर्णय निकै घातक बन्यो । फिल्डिङ नेपालको झनै खराब रह्यो । हातमै आएको ग्राउन्ड बल राम्रोसँग नसमात्दा मलेसियाले मजाले २ रनहरू लिइरहेको थियो ।

इल्सा हन्टरले उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई निराश बनाइन् । प्लेयर अफ द म्याच उनले ५३ बल खेल्दै ६ चौकासहित अविजित ६९ रन बनाइन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो । यसै प्रतियोगितामा इल्साले बहराइनविरुद्ध ६८ रन बनाएकी थिइन् । यो उनको तेस्रो अर्धशतक थियो ।


इल्साको प्रयासमा मलेसियाले अन्तिम ४ ओभरमा ३६ रन जोडेर निकै रोमाञ्चक पारामा खेल जितेको थियो । अन्तिम दुई ओभरको समीकरणमा मलेसियालाई १८ रन बनाउनुपर्थ्यो । अन्तिम ओभरमा मलेसियालाई विजयनिम्ति ११ रन चाहिँदा कविता कुँवरको बलिङमा सबै रन इल्साले बटुलेकी थिइन् । अन्तिम ओभरको पहिलो र तेस्रो बलमा इल्साले चौका प्रहार गरिन् । पहिलो १० ओभरमा ४२–३ को स्थितमा रहेको मलेसियाले त्यसपछि १० ओभरमा ७४ रन जोडेको थियो ।

मलेसियाबाट मास इलिसाले १३, माहिराही स्माइलीले १६ र वान जुलियाले ११ रन बनाए । नेपालबाट कविता जोशी र सीता रानामगरले २–२ विकेट लिएका थिए । सीताले फालेको १८ औं ओभरमा मलेसियाले १२ रन जोडेको थियो, त्यसमा इल्साले ११ रन बटुलिन् । कविताले ३ ओभरमा १७ र सीताले ४ ओभरमा २७ रन खर्चिएका थिए । रुबिना क्षेत्रीले ४ ओभरमा १९ र कविता कुँवरले ३.५ ओभरमा २५ रन खर्चेर १–१ विकेट लिए ।

नेपालले सन् २०१२ र २०१६ मा गरी दुई पटक एसिया कप खेलेको छ । त्यसयता छनोट आधार रहेको एसीसीको क्षेत्रीय प्रतियोगितामा नेपाल सधैं सेमिफाइनलमा रोकिँदै आएको छ ।

यसअघि नेपालको सुरुआत राम्रो थिएन । नेपालले पावर प्लेको ६ ओभरमा १८ रनमात्र बनाउन सक्यो । सीता १३ बलमा ६ रन जोड्दै रनआउट भइन् । कविताले ३१ बलमा २ चौकासहित २३ रन जोडिन् । कप्तान इन्दु बर्मा र पूर्व कप्तान रुबिनाले तेस्रो विकेटमा ३१ बल खेल्दै ३२ रन जोडे । इन्दु ३७ बलमा २ चौकासहित २९ रन बनाइन् । रुबिनाले १८ बलमा २ चौकासहित २० रन बनाइन् ।

डली भट्टको आक्रामक इनिङ्सपछि नेपालले १ सय रन कटाएको थियो । लगातार दुई छक्का प्रहार गरेकी उनले १४ बलमा २५ रन बनाइन् । कविता जोशी (२) र डली इनिङ्सको अन्तिम दुई बलअघि रनआउट भइन् । मलेसियाबाट स्माइलीले २ र विनिफ्रेड दुराइसिंगमले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० शृङ्खलाको अन्तिम खेल शनिबार केर्न्सको केजली स्टेडियममा खेलिएको थियो। खेलमा आयोजक अष्ट्रेलियाले २ विकेटले रोमाञ्चक जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जित्नका लागि १७३ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाले एक बल बाँकी रहँदा हासिल गर्‍यो। यो जितसँगै अष्ट्रेलियालीले टी–२० शृङ्खला २–१ ले जितेको छ। टी–२० अन्तर्राष्ट्रिय ...
: एसिया कप २०२५ का लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा गरिएको छ। आइतबार गरिएको टोलीको घोषणा अनुसार प्रतियोगितामा सलमान अली आघाले पाकिस्तानी टोलीको कप्तानी गर्नेछन्। स्टार खेलाडी बाबर आजम र मोहम्मद रिजवानले १७ सदस्यीय पाकिस्तानी टोलीमा स्थान पाएका छैनन्। बाबर र रिजवानले पछिल्ला केही टी–२० शृङ्खलामा मौका पाएनन्। उनीहरूलाई एसिया कपमा पनि टिममा राखिएको छैन। ...
: भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न जाने यू–१७ राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका पदाधिकारीहरूले यू–१७ राष्ट्रिय महिला टिमलाई बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा यू–१७ राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिपको टिम भन्दा अहिलेको यू–१७ टिम राम्रो बनेको बताए। ...
: टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको मरारा क्रिकेट मैदान २ मा भएको खेलमा नेपालले बंगलादेश एसँग ३२ रनले पराजित भएको हो। नेपालका मिडलअर्डर ब्याटर कुशल मल्लको अर्धशतकीय पारीले पनि नेपाललाई हारबाट बचाउन सकेन । बंगलादेश एले दिएको १८७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: यो सातादेखि प्रीमियर लिग सुरु हुँदैछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शुक्रबार एन्फिल्डमा बोर्नमाउथको सामना गर्दैछ। म्यान्चेस्टर युनाइटेडले आर्सनलको स्वागत गर्नेछ भने लिड्स युनाइटेडले इभर्टनलाई स्वागत गर्दै शीर्ष लिगमा फर्किने लक्ष्यमा छन्। प्रीमियर लिगको २०२५–२६ सिजनमा केही नयाँ परिवर्तन भएका छन्। यो सिजनमा धेरै रोचक र नयाँ अनुभव हुने जनाइएको छ। नयाँ प्रबंधक र ...