मुख्य समाचार
बेलायती राजा चार्ल्सलाई क्यान्सर
बेलायती राजा चार्ल्सलाई क्यान्सर

— बेलायती राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ । ७५ वर्षीय राजाको उपचारका क्रममा क्यान्सर पत्ता लागेको जानकारी बकिङहम दरबारले सोमबार एक वक्तव्यमार्फत् सार्वजनिक गरेको हो । दरबारले सोमबारबाटै उनको उपचार सुरु भएको पनि जनाएको छ ।

प्रोस्टेट शल्यक्रिया गरि गत सातामात्र अस्पतालबाट डिस्चार्ज भएका राजा चार्ल्सलाई त्यही बेला क्यान्सर भएको पत्ता लागेको हो । तर कस्तो क्यान्सर भएको हो दरबारले खुलाएको छैन । उनलाई प्रोस्टेट क्यान्सर भने नभएको दरबारले स्पष्ट पारेको छ ।

राजा चार्ल्सले उपचार गरिरहँदा सार्वजनिक समारोहमा आफ्नो संलग्नता स्थगित गर्ने तर राज्यको कामलाई सामान्य रूपमा जारी राख्ने पनि बकिङहम प्यालेसले बताएको छ ।

राजा चार्ल्सले आफ्नो स्वास्थ्य अवस्थाबारे छोराहरू प्रिन्स विलियम, प्रिन्स ह्यारी र भाइबहिनीहरू राजकुमारी एनी, प्रिन्स एन्ड्र्यू र प्रिन्स एडवर्डलाई जानकारी गराएका बीबीसीले जनाएको छ । अमेरिकामा रहेका कान्छा छोरा प्रिन्स ह्यारीले बुबासँग बोलिसकेका र छिट्टै बेलायत आउने जनाइएको छ ।


बेलायती प्रधानमन्त्री ऋृषि सुनक, विपक्षी लेबर पार्टीका नेता केर स्टार्मरलगायतले राजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । अन्य बेलायती राजनीतिज्ञ र सेलिब्रेटीहरुले पनि उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजाको खबर सुनेर आफू 'चिन्तित' भएको बताएका छन्। पत्रकारहरूले सोधेको एक प्रश्नमा बाइडेनले भनेका छन्, 'हो, म उहाँको स्वास्थ्यबारेमा चिन्तित छु। आशा छ म उहाँसँग छिट्टै कुरा गर्नेछु ।'

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले 'एक्स' मा लेखेका छन्, 'म, देशभरका क्यानाडाली र संसारभरका मानिसहरू जस्तै राजा चार्ल्सको बारेमा सोच्दै छु किनकि उहाँ क्यान्सरको उपचार गराइरहनु भएको छ ।’ उनले अगाडि भनेका छन्, ’हामी उहाँलाई धेरै शुभकामना पठाउँदैछौं र छिटो र पूर्ण स्वास्थ्यलाभको आशा गर्दछौं ।'

क्यानाडा राष्ट्रमण्डल सदस्य हो र राजा यसको राष्ट्र प्रमुख छन् ।

उता, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि राजा चार्ल्सको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 'हामी आशा गर्दछौं कि राजा चार्ल्सको शीघ्र स्वास्थ्य लाभ होस् र सकेसम्म चाँडो आफ्नो जिम्मेवारीमा फर्कनुहोस् ।' क्यानाडा जस्तै, अष्ट्रेलिया पनि राष्ट्रमण्डल सदस्य हो जसको प्रमुख राजा चार्ल्स छन् ।

बेलायतमा दुई मध्ये एक जनालाई आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको क्यान्सर हुने बताइएको छ ।

बेलायतको स्वास्थ्य सेवा नेशनल हेल्थ सर्भिस् (एनएचएस) का अनुसार क्यान्सरका २०० बढी प्रकार छन् जसमा स्तन, फोक्सो, प्रोस्टेट र आन्द्राको क्यान्सर बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...