मुख्य समाचार
पुरानो साख ब्युँताउँदै तातोपानी नाका
पुरानो साख ब्युँताउँदै तातोपानी नाका

— साढे आठ वर्षअघिको भूकम्पले भौतिक रूपमा तहसनहस बनाएको नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका बिस्तारै पूर्वावस्थामा फर्कन सुरु गरेको छ । चालु वर्षको सुरुवातसँगै चीन सरकारले आयात–निर्यात र मान्छेको आउजाउमा देखाएको खुकुलोपनले तातोपानी नाकाप्रतिको आकर्षण बढेको छ ।

भन्सार दिवसका अवसरमा १२ गते शुक्रबार नेपालबाट पहिलो पटक तातोपानीबाट चीनको बाटो हुँदै सीजी फुडको नेपाली उत्पादन चाउचाउ तेस्रो मुलुक जापान निर्यात भएको छ । यसले नाकाप्रतिको आकर्षण बढाएको व्यवसायीको भनाइ छ ।

सहज वातावरण बन्दै गएका कारण पुराना र स्थापित व्यापारी नाका फर्कन थालेको तातोपानी भन्सार प्रमुख दयानन्द केसीले जनाए । पछिल्लो तीन महिनायता व्यापारिक कारोबार बढेको छ । भूकम्पपछि पहिलो पटक राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा तीन अर्ब २७ करोड राजस्व संकलन भएकामा चालु वर्षको ६ महिनामै ५ अर्ब ५८ करोड अर्थात् लक्ष्यको ६६ प्रतिशत संकलन भइसकेको छ । चालु वर्षको राजस्व लक्ष्य भने ८ अर्ब ४२ करोड छ । चीनसँग स्थलमार्गबाट झन्डै शतप्रतिशत व्यापार हुने नाका ०७२ वैशाखदेखि ०७६ जेठसम्म पूर्ण रूपमा बन्द भयो । यस अवधिमा व्यापारीले चीनबाट गरिने आयात व्यापार रसुवाको केरुङ र समुद्री बाटो भएर भारतसँग जोडिएका तराईका नाका भएर गर्दै आए ।

भूकम्पको पाँच वर्षपछि ०७६ जेठमा तातोपानी खुले पनि सामान्यतया भन्सार मूल्यांकन न्यून भएका फलफूल र मेसिनरी सामान मात्र आयात हुने गरेका थिए । चालु वर्ष सुरु भएसँगै राजस्व दर धेरै भएका ‘कमर्सियल गुड्स’ तातोपानी नाका भएर भित्रन थालेका छन् । खासगरी तयारी पोसाक, जुत्ता, चप्पल, व्याग, कस्मेटिक सामान, गार्मेन्टका कच्चा सामग्री, स्टेसनरी सामान, किचनका सामग्री, मोबाइल तथा कम्प्युटर पार्ट्स, मखमल, विद्युत् आयोजनाका मेसिनलगायत व्यापारिक वस्तुको आयात बढेको छ । चीनले गत वैशाख १८ बाट निर्यात व्यापारको अनुमति दिएको थियो । मान्छेको आउजाउ भने गत भदौ १५ बाट मात्र सुरु भएको हो । निर्यात खुलाएको, मान्छेको आउजाउको अनुमति दिएको र पुलपारि (खासा क्षेत्र) मा हुने बजारबाट किनमेल गर्ने वातावरण बनाएका कारण सीमामा चहलपहलसँगै व्यापारिक कारोबार वृद्धि भएको हो ।

भूकम्प, कोभिड, बाढीपहिरोलगायत अवरोधका कारण अविश्वास बढेको तातोपानी नाकाप्रतिको आकर्षण अहिले भने पूर्वावस्थातिर उन्मुख भएको स्थानीय बताउँछन् । ०७६ देखि नै महिना–महिनामा बन्द हुने र खुल्ने गरेका कारण व्यापारिक कारोबार अन्य नाकामा ‘डाइभर्ट’ भएका थिए । समय समयमा अवरोध नहुने हो भने चीनसँगको व्यापारमा तातोपानी नाका समय र लगानीका हिसाबले सबभन्दा उपयुक्त रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत बताउँछन् ।


चीनबाट आयात हुने प्रायः मालवस्तु काठमाडौंबाट अन्य क्षेत्रमा जाने भएकाले तातोपानीको रुट छोटो भएको उनको भनाइ छ । ढुवानी भाडा, समयको बचत र सामानको सुरक्षाका कारण तातोपानी व्यवसायीका लागि रोजाइको नाका भएको धारणा उनको छ ।

‘आयात–निर्यात दुवै व्यापार सहज बनाउन नेपालतर्फको सडकलगायतका भौतिक संरचनाको स्तरोन्नति जरुरी छ । हामीले निर्यात बढाउन सकेका छैनौं । सरकारले त्यसका लागि कूटनीतिक पहल गर्नु जरुरी छ,’ बस्नेतले भने । अहिले पनि मितेरी पुलबाट करिब ९ किमि दूरीमा रहेको खासामा नेपाली कन्टेनर जान भने दिइएको छैन । चीनको विभिन्न सहरबाट ल्याएको सामान मितेरी पुल नजिकै चिनियाँ भागमा अनलोड गरिँदै आएको छ ।

चिनियाँ कार्गोले पठाएको सामानलाई मितेरी पुलपारि गएर नेपाली कन्टेनरले तातोपानीको लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याउने गरेका छन् । भूकम्पपछि खासामा भौतिक संरचना निर्माणको काम भइरहेकाले नेपाली कन्टेनर जाने अनुमति नदिएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै तातोपानी भन्सारले जनाएको छ । ‘सयम–समयमा खासा क्षेत्रका चिनियाँ अधिकारीसँग गरेको समन्वय बैठकले पनि नाकामा सहजीकरण भएको छ,’ भन्सार प्रमुख केसीले भने ।

मितेरी पुलपारि जान सीमा क्षेत्रका जिल्लावासीलाई मात्र दिइएको कोदारी अध्यागमन कार्यालय प्रमुख सुरेश खतिवडाले बताए । दैनिक ५०–६० जनालाई एकदिने पास दिने गरिएको छ । चिनियाँ र केही अन्य देशका नगारिक पनि तातोपानी नाका भएर आउजाउ गर्न थालेका छन् । चिनियाँ धेरै र अन्य देशका न्यून संख्यामा आउने गरेको खतिवडाको भनाइ छ । गत वैशाखसम्म कुनै पनि मुलुकका नागरिक मितेरी पुल पारी जान अनुमति थिएन । नेपालतर्फको अध्यागमन कार्यालयको भने आफ्नै भवन छैन । भन्सारको पुरानो भवनबाट अध्यगमनको काम सञ्चालन हुँदै आएको छ ।

निर्यात बढ्न सकेन

गत वैशाखमा निर्यात व्यापार खुला गरे पनि नेपालले आफ्नो उत्पादन चीन पठाउन सकेको छैन । ०७२ अघि तामाका भाडा, हस्तकलाका सामान, मैदा, चाउचाउ, अण्डा, वनस्पति घ्यु, जडिबुटीलगायत वस्तु निर्यात गर्ने गरिएको थियो । त्यति बेला झन्डै १८२ प्रकारका नेपाली वस्तु चीन निर्यात हुने गरेको भन्सारले जानकारी दिएको छ । भूकम्पपछि निर्यात खुलेको दिन नेपालबाट बाँसको मुडा, कुर्सी म्याट्रेसलगायत करिब ३७ लाख बराबरको वस्तु निर्यात भएको थियो । त्यसपछि गत शुक्रबार भन्सार दिवसको अवसर पारेर तेस्रो मुलुक लैजाने गरी १२ लाख मूल्यको २५ सय कार्टुन चाउचाउ निर्यात भएको छ । यो निर्यातसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालमा चीनसँग गरेको पारवहन तथा यातायात सम्झौता आठ वर्षपछि कार्यान्वयनमा आएको छ ।

भन्सारको तथ्यांकअनुसार ०७१/७२ मा झन्डै वार्षिक झन्डै पौने तीन अर्बको सामान निर्यात भएको छ । भूकम्पपछि लगातार ८ वर्ष पर्यात पूर्ण रूपमा बन्द भएपछि पुनः सञ्चालन हुन सकेको छ । ‘मुख्यतया खासा, कुतीलगायतका स्थानीय बजारमा प्रयोग हुने सामान पठाउन सके पनि निर्यात बढ्न सक्छ,’ भन्सार प्रमुख केसी भन्छन् । तर भूकम्पपछि चीन सरकारले खासालाई अति संवेदनशील भन्दै मान्छे बस्न दिएको छैन । सुरक्षाकर्मी र अध्यागमनका अधिकारी मात्र बस्दै आएको खासामा अहिले सर्वसाधारणलाई फाट्टफुट्ट पसल राख्न दिइएको छ । जडिबुटी र हस्तकलाका सामान तिब्बतको मुख्य सहरमा पठाउनुपर्छ । त्यसका लागि निर्यातकर्ताले माग अनुसारको सामान तयार गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४.१२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, ...
: आर्थिक वर्ष २०८१/०८२ मा करिब पौने ३ खर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । सरकारले विभिन्न परियोजना विकास र कार्यान्वयनका लागि विकास सहायता निकायसँग ऋण र अनुदानको प्रतिबद्धता पाएको हो । अर्थमन्त्रालयले आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक गरेको तथ्यांकअनुसार विकास सहायता निकायहरूले नेपालका विभिन्न परियोजना विकासका लागि २ खर्ब ७३ अर्ब रुपैयाँबराबरको प्रतिबद्धता व्यक्त गरेका ...
: आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा ...
: वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय भन्सार विभागले दिएको लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा बढी नै राजस्व संकलन गरेका छन्। नेपालमा हुने आयात–निर्यातको अन्तर्राष्ट्रिय कारोबारको ७० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाटै ...
। आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ ...