मुख्य समाचार
सत्ताको निसानामा इमरान
सत्ताको निसानामा इमरान

— दक्षिण एसियाली देशहरू विशेष गरी पाकिस्तान र भारतमा रगतमै बग्छ क्रिकेट । यो क्षेत्रमा क्रिकेटलाई धर्मसरह बनाउने श्रेय इमरान खानलाई पनि जान्छ । औसत टोली रहेको पाकिस्तानलाई खानले आफ्नो कप्तानीमा सन् १९९२ को एकदिवसीय विश्वकप जिताएपछि दक्षिण एसियामा क्रिकेटको लहर झनै बढेको थियो ।

खानले कुशल अलराउन्डर र निडर कप्तानको भूमिका निर्वाह गरेपछि नै पाकिस्तान विश्व च्याम्पियन बनेको हो । १९८० को दशकमा आफ्नो खेल कौशलले प्रभाव बनाएका खान पछि पाकिस्तानी क्रिकेट टिमको कप्तान बन्दै पाकिस्तानलाई पहिलो पटक एकदिवसीय विश्वकप प्रतियोगिता जिताउन उल्लेखनीय भूमिका खेले । पाकिस्तानले जितेको एकमात्र एकदिवसीय विश्वकप प्रतियोगिताका नायक खान अहिले भने पाकिस्तानकै पन्जाबस्थित अटक जेलमा कैद छन् । क्रिकेटबाट राजनीतिमा छलाङ मारेका ७० वर्षीय उनी किन जेल जीवन भोग्दै छन् त ?

लाहोरको कुलीन परिवारमा जन्मिएका खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा लिएका थिए । क्रिकेटमा पारिवारिक लगावले उनलाई पनि बाल्यकालदेखि नै छोएको थियो । १९८० को दशकमा क्रिकेटमा वेस्टइन्डिज, इंल्यान्ड र अस्ट्रेलियाको दबदबा थियो । दक्षिण एसियाली देशका खेलाडी प्रतिभावान् भए पनि मानसिक रूपमा कमजोर र उच्च आत्मबल नभएका मानिन्थे । त्यस समयमा खानले पाकिस्तानलाई तीव्र बलिङ प्रतिभा, ब्याटिङ कौशल र निडर टिमका रूपमा क्रिकेट जगत्मा उभ्याए । विदेशी भूमिमा गएर भारत तथा इंल्यान्डविरुद्ध टेस्ट शृंखला उपाधि दिलाए, १९७६ देखि १९९५ सम्म वेस्टइन्डिजविरुद्ध टेस्ट शृंखला नहार्ने एकमात्र टिमका रूपमा पाकिस्तानको पहिचान बनाए ।

सन् १९९२ को एकदिवसीय विश्वकप प्रतियोगिता पाकिस्तानी क्रिकेटको सबैभन्दा महान् समय थियो । त्यतिबेला सहभागी ९ राष्ट्रले राउन्ड रोबिन लिगमा एकअर्काविरुद्ध आठ खेल खेल्नुपर्ने थियो । जसका सुरुवाती पाँच खेलमा एउटा मात्र पाकिस्तानले जितेको थियो । सबैलाई लागिसकेको थियो कि पाकिस्तान अर्को चरणमा पुग्न अब असम्भव नै छ । खानको नेतृत्वमा पाकिस्तानले बाँकी ३ खेलमा लगातार जित हासिल गर्‍यो र सेमिफाइनल पुग्दै विश्वविजेता नै बन्यो ।

प्रतियोगिताका क्रममा खानको दाहिने काँधको हड्डीमा चोट लागेको थियो तर यसलाई गोप्य राख्दै उनले खेलिरहे । त्यही कारणले पनि उनले पाकिस्तानीको मात्र नभई विश्वभरका क्रिकेटप्रेमीको मन जित्न सफल भए । काँधको चोटका कारणले नै उनी मैदानमा देखा पर्न सकेनन् र विश्वकप फाइनल नै खानको खेल जीवनको अन्तिम खेल बन्न पुग्यो ।

दक्षिण एसियाली देशमा क्रिकेटपछि राजनीतिमा लागेका खेलाडीका उदाहरण थुप्रै छन् । भारतमा त थुप्रै क्रिकेटर सांसद भएका छन् । खानले पनि आफ्नो जीवनको दोस्रो इनिङ्स राजनीतिमा बिताउने निधो गरे र त्यसको सुरुवात भने समाजसेवाबाट थाले । उनले लाहोरमा पाकिस्तानकै पहिलो विशेष क्यान्सर अस्पताल र रिसर्च सेन्टर खोले । पाकिस्तानले विश्वकप जितेपछि पाएको पुरस्कार रकम उनले आफ्नो आमाका नाम बनाइएको क्यान्सर अस्पतालमा खर्च गरेपछि नै पाकिस्तानी क्रिकेटमा विभाजनको मत देखिएको थियो । त्यसपछि १९९६ मा तेहरिक–ए–इन्साफ (पीटीआई) स्थापना गरे ।

भारतमा ब्रिटिस शासन सकिने बेलामा विभाजित भएर बनेको पाकिस्तानको राजनीति सुरुवातदेखि नै अस्थिर छ । विशेष गरी शासन सत्तामा सेनाको हस्तक्षेपका कारण पनि राजनीतिक उतारचढाव पाकिस्तानमा नौलो मानिँदैन । यहाँको राजनीति विशेष गरी दुई परिवारको वरिपरि घुम्दै आएको छ, सरिफ र भुट्टो । पूर्वप्रधानमन्त्री नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग र जुल्फिकर अलि भुट्टोले स्थापना गरेको पाकिस्तान पिपुल्प पार्टी (पीपीपी) नै पाकिस्तानी सत्ताको केन्द्रमा रहँदै आएका छन् । खान नेतत्वको पीटीआईले भने यिनै दुई पार्टीलाई चुनौती दिँदै पाकिस्तानको राजनीतिमा पाइला टेकेको हो ।

क्रिकेटबाटै लोकप्रियता कमाइसकेका खानले राजनीतिको सुरुआतमै भने सफलता पाएनन् । १९९७ को चुनावमा उनको पार्टीले एउटा पनि सिट जित्न सकेन । त्यसबाट निराश नभएका उनी कल्याणकारी राज्य, भ्रष्टाचार अन्त्य, सुशासन र राष्ट्रवादको पक्षमा चर्का नाराका साथ राजनीतिक मैदानमा डटिरहे । २००८ को चुनाव बहिष्कार गरेको पीटीआई २०१३ को चुनावमा भने तेस्रो ठूलो दल बन्यो । पीटीआईले २०१८ मा १ सय १६ सिट जितेपछि भने खान प्रधानमन्त्री बनेका थिए ।

पाकिस्तानको राजनीतिमा खानको उदय सेना तथा इन्टेलिजेन्स ब्युरोको सहयोगमा भएको आरोप लाग्ने गरेको छ । २०१८ को चुनावमा खानलाई जित हासिल गर्न सेनाले सहयोग गरेको भन्दै विपक्षीले आलोचनासमेत गरेका थिए । सेना र खान दुवैले यसलाई अस्वीकार गर्दै आएका छन् । खान प्रधानमन्त्री बनेपछि उनले प्रतिबद्धता गरेअनुसार भ्रष्टाचारप्रति कठोरता देखाए । पुराना नेतालाई भ्रष्टाचारको आरोपमा धमाधम समात्न थाले । अमेरिकासँग दूरी बनाएका उनले चीन र रुससँग पाकिस्तानको सम्बन्ध बढाए ।

२०२२ अप्रिलमा अविश्वास प्रस्तावमा हारपछि उनले सत्ता गुमाउनु परेको थियो । यसको कारण मानिएको थियो, पाकिस्तानी सेना र गुप्तचर निकायसँग उनको बिग्रँदो सम्बन्ध । त्यसयता खानले पनि पाकिस्तानी सेनाको कडा आलोचना गर्दै आएका थिए । पहिले अमेरिकी षड्यन्त्रमा आफूलाई सत्ताबाट हटाएको आरोप लगाउँदै आएका उनले पछि सेना र अन्य राजनीतिक दललाई पनि दोष लगाए । गत वर्ष वाजिरावादमा भएको एक कार्यक्रममा खानमाथि गोली प्रहार पनि भएको थियो । उनको खुट्टामा गोली लागेको थियो । त्यसयता सेना र सरकारविरुद्ध उनको पार्टीको प्रदर्शन झनै बढेको थियो ।

सत्ताच्युत भएयता खानमाथि सयभन्दा बढी मुद्दा परेका थिए । यसअघि गत महिना इस्लामावाद जिल्ला अदालतले सरकारमा हुँदा प्राप्त गरेका उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको तोसाखाना भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । उक्त सजायसँगै पाकिस्तानी निर्वाचन आयोगले खान पाँच वर्षका लागि चुनाव लड्न अयोग्य हुने जनाएको थियो ।

खान गोप्य दस्ताबेजसम्बन्धी मुद्दामा पछिल्लो समय मंगलबार मात्रै दोषी ठहर भएका छन् । गोपनीयता अधिनियमअन्तर्गत स्थापित पाकिस्तानको विशेष अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ । कुरेसीमाथि वासिङ्टन र इस्लामावादबीचको कूटनीतिक दस्ताबेज सार्वजनिक गरेको आरोपमा सजाय सुनाइएको हो । मुद्दाको फैसला भएको भोलिपल्ट अर्थात् बुधबार खान र उनकी पत्नी बुसरा बिबीलाई तोसाखाना अर्थात् सरकारी स्वामित्वको एक विभागबाट पाएका उपहारबारे जानकारी नदिएको मुद्दामा पनि दोषी ठहर गरिएको छ ।

भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामावादस्थित एक अदालतले खान दम्पतीलाई तोसाखानासम्बन्धी मुद्दामा १४/१४ वर्ष जेल सजाय सुनाएको छ । अदालतले उनीहरूलाई उपहारबारे जानकारी नदिएको र बिक्री गरेको विषयमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । कैद सजायसँगै अदालतले खान दम्पतीलाई डेढ अर्ब पाकिस्तानी रुपैयाँ जरिवानासमेत तिर्न आदेश दिएको छ ।

१९७४ मा स्थापित तोसाखाना मन्त्रिपरिषद् मातहतको एक विभाग हो । यसमा राष्ट्रपति, प्रधानमन्त्री, राज्यप्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीले विदेश भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहार राखिन्छ । विदेश भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले अभिलेख राख्ने त्यस्ता उपहार स्वदेश फर्किएपछि तोसाखानामा जम्मा गरिन्छ । त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ । त्यस्ता उपहार ३० हजार रुपैयाँभन्दा कम भएमा पाउने व्यक्तिले आफूसँगै राख्न पाउने र सोभन्दा बढी भएमा लागतको ५० प्रतिशत रकम तिरेर खरिद गर्न सकिने व्यवस्था छ ।

खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा त्यस्तो सम्पत्तिबारे उल्लेख गरेका थिएनन् । त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार बेचेको र उनलाई फौजदारी कानुनमार्फत सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो । त्यसयता उनले उक्त मुद्दामा सुनाइएको तीन वर्षको जेल सजाय काटिरहेका थिए । अदालतको फैसलापछि खानपत्नी बुसराले आत्मसमर्पण गरेकी छन् । खानलाई तोकिएका दुवै सजाय सँगसँगै जाने ठानिएको छ । तर, यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ । २०१८ मा प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै खान र बुसराको विवाह भएको थियो । खान प्रधानमन्त्री हुँदासम्म उनी खासै चर्चामा आएकी थिइनन् ।

बुधबारको फैसलाबारे खानले कुनै टिप्पणी गरिसकेका छैनन् । मंगलबारको फैसलापछि भने खानले आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका थिए । अमेरिकी षड्यन्त्रमा आफूमाथि कूटनीतिक दस्ताबेजसम्बन्धी झूटो मुद्दा लगाइएको उनको दाबी थियो । सामाजिक सञ्जाल एक्समार्फत उनले आफ्ना समर्थकलाई शान्त रहँदै फेब्रुअरी ८ मा हुने मतदानमार्फत प्रत्येक अन्यायको प्रतिशोध लिन आह्वान गरेका थिए ।

खानको पार्टी पीटीआईले फैसलाविरुद्ध उच्च न्यायालयमा चुनौती दिने जनाएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । अदालतले खानलाई प्रतिरक्षाको मौका नदिएको पार्टीको दाबी छ । पीटीआईले ‘कंगारु कोर्ट’ (कसुर पुष्टि गर्न प्रमाण नचाहिने, विरोधीलाई सिध्याउन गठन गरिने निकाय) मा गरिएको सुनुवाइ मान्य नहुने जनाएको छ । दलका नेताहरूले उच्च अदालतले खानलाई तोकेको जेल सजायको फैसला उल्ट्याउने विश्वास गरेका छन् । खानका वकिलले पाकिस्तान उच्च अदालतमा खानविरुद्ध तोकिएका सजायको पुनरावेदन गरिने बताएका छन् । अदालतको फैसलापछि खान १० वर्षसम्म सार्वजनिक पदमा रहन पाउने छैनन् ।

पछिल्लो समय भने खान र कुरेसीमात्र नभई पीटीआईका शीर्षस्थ नेताहरू पनि राज्यको निसानामा पर्न थालेका छन् । उनीहरूमाथि विभिन्न आरोपमा अनुसन्धान तथा पक्राउ गर्ने र मुद्दा लगाउने कार्यलाई आगामी निर्वाचनसँग जोडेर हेरिएको छ । गत अप्रिलमा संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री पद गुमाएका खान अमेरिकाप्रति निकै कठोर रूपमा प्रस्तुत भएका थिए । आफूलाई प्रधानमन्त्री पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र भएको उनको दाबी थियो । त्यस्तै, रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि खानले मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेटेका थिए । जसका कारण अमेरिका तथा उसका साझेदार देशसँग खानको सम्बन्धमा दरार आएको थियो ।

पाकिस्तानको राजनीतिलाई निर्देशित गर्ने सेनाले पटक–पटक ‘कु’ मार्फत सत्ता हातमा लिने गरेको छ । त्यसका साथै चुनावी नतिजामा समेत सेनाको भूमिका मुख्य रहन्छ । यसअघि खान सत्तामा आउनुमा पनि सेनाको भूमिका मुख्य रहेको ठानिन्छ । तर, सत्ता गुमाएसँगै सेना र अमेरिकाप्रति कटु आलोचक बनेपछि भने पाकिस्तानको राजनीतिक समीकरण फेरिएको छ ।

खासगरी पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वदेश फिर्तीपछि खानको दल समस्यामा परेको हो । पाकिस्तानी सेनाका लागि लामो समय ‘काँडा’ का रूपमा रहेका ठानिएका सरिफलाई २०१८ को निर्वाचनअघि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो । उक्त निर्वाचनमा खानको दल विजयी भएको थियो । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष सरिफ पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भइसकेका छन् । चौथो कार्यकाल ताकेका सरिफको पीएमएल–एन, विलावल भुट्टो जर्दारीको पीपीपी र खानको पीटीआईबीच चर्को प्रतिस्पर्धा हुने सर्वेक्षणहरूले देखाएका छन् ।

पछिल्लो समय खानको लोकप्रियतामा केही कमी आएको बताइन्छ । तर, खस्कँदो आर्थिक व्यवस्थालाई यसअघिको शहबाज सरिफको सरकारले सम्हाल्न नसक्दा खानप्रति भरोसा राख्ने पाकिस्तानीको संख्या पनि उत्तिकै छ । पछिल्लो डेढ वर्षमा पाकिस्तानको आर्थिक अवस्था खस्कनुमा सत्ताको नेतृत्व गरेको पीएमएलएन पार्टी जिम्मेवार रहेको विश्लेषक एजाज सैय्यद बताउँछन् । ‘शहबाज सरिफको सरकारले खराब प्रशासनिक निर्णयका कारण अहिलेको अवस्था आएको हो,’ उनी भन्छन् । अर्का विश्लेषक जाहिद हुसेन सत्तामा टिक्न भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण चुनावपछि पनि पाकिस्तान अस्थिर नै रहने जोखिम रहेको बताउँछन् । ‘सत्तामा सेना तथा मुट्ठीभरका कुलीन परिवारको दबदबा छ,’ उनले भने, ‘त्यसैले पाकिस्तानमा राजनीतिक तथा आर्थिक स्थिरता प्राप्त गर्ने खासै अपेक्षा छैन ।’

पाकिस्तानको राजनीतिक अस्थिरताको असर भने आमनागरिकले भोग्नुपरेको छ । कोभिड–१९ का कारण अर्थतन्त्र शिथिल भएको पाकिस्तानमा पछिल्लो वर्ष लाखौं मानिस बाढीले प्रभावित भएका थिए । यस वर्ष पनि बाढीपीडितको संख्या झनै बढेको छ । मूल्यवृद्धि अकासिएको छ भने चरमपन्थीको आक्रमणका घटना बढिरहेका छन् ।

पाकिस्तान सरकारसँग विदेशी मुद्राको सञ्चिति पनि घट्दै गएको छ । लगातारको आग्रहपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई सहयोग गर्ने प्रतिबद्धताले भने अहिले केही राहत दिएको छ । गत अगस्ट १४ मा कामचलाउ प्रधानमन्त्री बनेका अनवार उल हक काकरलाई ९० दिनभित्र चुनाव गराउने जिम्मेवारी दिइएको थियो । तर करिब तीन महिना ढिला गरी अर्को साता (फेब्रुअरी ८) मा निर्वाचन हुन लागेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...