मुख्य समाचार
क्रिप्टोबाट ३ खर्बको अवैध कारोबार
क्रिप्टोबाट ३ खर्बको अवैध कारोबार

: एघार महिनामा २ खर्ब ८६ अर्ब ४ करोड ५५ लाख ८ हजर ७ सय ५४ रुपैयाँको अवैध कारोबार गरेको आरोपमा रुपेश श्रेष्ठसहित पाँचजना कारागारमा छन्। उनीहरूको समूहले अमेरिकाबाट हुन्डी गरेर नेपाल पैसा पठाउने, क्रिप्टो करेन्सीको अबैध कारोबार गर्ने तथा बेटीङमार्फत गेम खेलाउने गरेको अभियोग दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले गत माघ ८ गते जिल्ला अदालत काठमाडौंमा रुपेश श्रेष्ठलगायत १७ जना प्रतिवादीविरुद्ध अभियोगपत्र दर्ता गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम मुद्दा दर्ता गरिएको हो। नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्र्तगतको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता छ। प्रतिवादीमध्ये काठमाडौं २९ बागबजार बस्ने ४८ वर्षीय रुपेश श्रेष्ठ, थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, सामाखुसीका मीनबहादुर जिसी, मकवानपुरका कुमार परियार र झापाका झनिन्द्रप्रसाद खतिवडा कारागारमा छन्। अन्य १२ जना प्रतिवादी फरार छन्।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत मंसिर ६ गते रुपेश श्रेष्ठलाई पक्राउ गरेको थियो। उनले नेपालमा बसेर अबैध कारोबार गरेको र अस्वाभाविक बैंकिङ कारोबारमा संलग्न भएको सूचना प्रहरीले प्राप्त गरेको थियो। सिआईबीका एसएसपी दिनेश आर्चायका अनुसार रुपेसलाई बागबजारस्थित उनकै घरबाट नियन्त्रणमा लिइएको हो। उनको साथबाट प्रहरीले हिसाबकिताबको खाता, डेस्कटप कम्प्युटर, ल्यापटप, मोबाइलहरू, पैसा गन्ने मेसिन, ८९ लाख नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको थियो।

सीआईबीको नियन्त्रणमा पुगेका रुपेसले उनीसँग भएको रकम र अन्य कारोबारको स्पष्ट स्रोत देखाउन सकेनन्। उनले अमेरिकामा रहेका आफ्ना भाइ दिपेश श्रेष्ठ र भान्जाहरू अन्सुल श्रेष्ठ र आयुष श्रेष्ठले पठाएको पैसा नेपालमा सम्वन्धित व्यक्तिलाई दिने गरेको स्वीकार गरेका थिए।

एसएसपी आचार्य भन्छन्, ‘रुपेशको बयान र उनको घरबाट बरामद भएका कारोबार कागजात र विवरण अलि अस्वाभाविक रूपमा फरक थियो। सीआईवी टोलीले हुन्डी कारोबार गरेको विवरण र क्रिप्टोकरेन्सीको प्रमाण पनि फेला पारेको थियो। रुपेशको मोबाइल, लेजर खाता, ल्यापटप, बैंकिङ कारोबार र व्यापार व्यवसायको लेखाजोखा स्पष्ट विवरण खुलाउन सकेनन्।’

रुपेशले क्रिप्टोकरेन्सी, हुन्डी र बेटिङको कारोबार गर्ने सूचना प्रहरीले पाएको थियो। तर प्रहरीसँगको बयानमा उनले आरोप अस्वीकार गरेका थिए। सूचनालाई आधार मानेर सीआईवी टोलीले पटकपटक उनीसँग बयान लियो। पुनः अर्को बयानका क्रममा उनले हुन्डीको कारोबार गरेको, क्रिप्टोकरेन्सीमा सहजीकरण गरेको र बेटिङका लागि पनि पैसा लोड गरिदिने गरेको स्वीकार गरेका थिए। प्रहरीले श्रेष्ठसँगै मिलेमतोमा काम गर्ने आशिष अग्रवाल र कुमार परियारलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएपछि रुपेशले प्रहरीको आरोप स्वीकार गरेका थिए।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार रुपेशको बैंकिङ कारोबार, हिसाब खाताको अध्ययन र क्रिप्टोकरेन्सीको वालेट तथा क्यास एपको अनुसन्धान गर्दा उनी एक्लैले ११ महिनामा १ खर्ब ८६ अर्ब ३७ करोड ४८ लाख ५४ हजार ७८७ रुपैयाँको कारोबार गरेको प्रमाण भेटिएको थियो। क्यास एप अमेरिकामा मात्रै चलाउन सकिन्छ। छोटो समयमा नै धेरै रकमको अवैध कारोबार गरेका रुपेशको नेपालमा भने खासै काम देखिन्न। केहि समयअघि उनी बालुवा गिटी तथा इटाको डिपो चलाउने गर्थे।

रुपेशको यो अवैध कारोबारलाई सफल बनाउन उनका भाइ दिपेश श्रेष्ठ मुख्य भूमिकामा छन्। उनी अमेरिकामा ग्यास, होटललगायतका विभिन्न व्यवसायमा सक्रिय छन्। रुपेशका भान्जाहरू अन्सुल श्रेष्ठ र आयुष श्रेष्ठ पनि क्रिप्टो कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ। प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी अनुमति लिएर बसेको छ।

नेपालमा भने सुन व्यापारी विमल पोदार र आशिष अग्रवालले उनको कारोबारलाई साथ दिँदै आएका थिए। प्रहरीका अनुसार रुपेश अमेरिकाको ग्रिनकार्ड लिएर बसेका छन्। उनी अमेरिका जाने आउने गरिरहन्छन्। उनको अवैध कारोबारमा श्रीमती रचना शर्माले पनि सहयोग गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...