मुख्य समाचार
'भक्तपुरको जुजु धौ असाध्यै मन पर्छ’
'भक्तपुरको जुजु धौ असाध्यै मन पर्छ’

नेपाल र फिनल्यान्डबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीचको सहकार्य बढ्दो छ । सन् १९९२ मा काठमाडौंमा दूतावास खोले पनि फिनल्यान्डले सन् २०११ को सेप्टेम्बरबाट राजदूत पठाएर कामकाज सुरु गरेको थियो । दूतावास खोल्नुअघि नै फिनल्यान्डले सन् १९८२ बाट नेपालसँग सहकार्य र सहयोगमा भूमिका निर्वाह गर्दै आइरहेको थियो ।

नेपालको एक असल मित्रका रूपमा रहेको फिनल्यान्डकी राजदूत रिना–रिक्का हेइक्कासँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं नेपालमा पहिलो पटक कहिले आउनुभयो र यहाँको भूगोललाई लिएर तपाईंको धारणा कस्तो छ ?

केही वर्षपहिले नै मैले नेपालको भ्रमण गरेकी थिएँ । फिनल्यान्डको एक नागरिक समाज टोलीको प्रतिनिधित्व गरेर म यहाँ आएकी थिएँ । त्यसबेला मैले काठमाडौं उपत्यका र चितवनको भ्रमण गरेकी थिएँ । राजदूतका रूपमा भने सेप्टेम्बर २०२२ बाट कार्यकाल सुरु गरेकी हुँ । नेपाल टेकेदेखि मलाई यहाँको भूगोलले प्रभावित पारेको छ । यहाँको प्राकृतिक सौन्दर्य र नेपालका भौगोलिक क्षेत्रहरू सुन्दर छन् ।

कामका दौरान नेपालीसँग दैनिक भेटवार्ता गरिरहनुभएको छ । तपाईंलाई नेपालीहरू कस्ता लाग्छन् ?



मैले नेपालमा धेरै स्वागत पाएँ । नेपालीहरू आत्मीय र दयालु छन् । स्थलगत भ्रमणका क्रममा म नेपालका धेरै ठाउँ पुगेकी छु । हामीले मुख्य रूपमा कर्णाली र सुदूरपश्चिम क्षेत्रमा काम गर्दै आएका छौं । त्यहाँ हाम्रो विकास सहकार्यका कार्यक्रमहरू सञ्चालित छन् । मलाई सबैभन्दा आनन्द यहाँका स्थानीयसँग भेट्न र कुराकानी गर्न लाग्छ । उनीहरू आत्मीय छन्, जसलाई लिएर म अत्यन्तै हर्षित हुन्छु ।



नेपालको हावापानीलाई लिएर तपाईंको धारणा ?

नेपालको हावापानी एकदमै राम्रो लाग्छ । विशेष गरी जाडोयामको समयमा यहाँको हावापानी राम्रो लाग्छ । सूर्यको उदयसँगै वातावरणलाई मोहित बनाउने अद्भुत कला छ यहाँ । वर्षायाममा पनि यहाँको वातावरण विशेष महसुस हुन्छ । तर यति भन्दाभन्दै मलाई यो पनि थाहा छ कि नेपाल जलवायु परिवर्तनमा एकदमै जोखिमयुक्त छ । जलवायु परिवर्तन र तीव्र वातावरण परिवर्तनका कारणले गर्दा पनि नेपाल जोखिममा छ, त्यो पक्कै पनि चासोको विषय हो ।

नेपाली खानाका बारेमा तपाईंको के धारणा छ ? तपाईंलाई मन पर्ने कुनै विशेष नेपाली खाना छ ?

मलाई नेपालको शाकाहारी खाना असाध्यै मन पर्छ । विभिन्न तरिकाबाट बनाइएका दाल–भात मन पराउँछु । र, मलाई मन पर्ने दुईवटा खानेकुरा

छन् । पहिलो हो, भक्तपुरको जुजु धौ । यो मलाई असाध्यै मन पर्ने दही हो । यसको स्वाद उत्कृष्ट छ । अर्को, मलाई मन पर्ने नेपालमा खानेकुरा भनेको ‘हट लेमन हनी विथ जिन्जर’ हो । नेपालबाट फर्कंदा मैले लिएर जाने बानीको रूपमा यो हुनेछ । मैले त्यसलाई फिनल्यान्डमा आफ्ना साथीहरूलाई पनि खुवाएकी छु । सबैले मन पनि पराए । जब जाडो दिनमा लामो यात्रापछि थकाइ मारेर तपाईं उठ्नुहुन्छ, त्यसपछि ‘हट लेमन हनी विथ जिन्जर’ पिउन मज्जा आउँछ ।

नेपालको भेषभूषाका बारेमा तपाईंको धारणा कस्तो छ ?

नेपालको भेषभूषा धेरै नै सम्पन्न र विविधतापूर्ण छ । त्यसलाई हेर्न र अवलोकन गर्न पाउनुलाई म आफू भाग्यमानी ठान्छु । मलाई सधैं नमस्तेसहित गरिएको सम्बोधनले मन छुन्छ । त्यो तपाईंका लागि परम्परा हुन सक्छ तर मेरा लागि त्यो अनौठो छ । त्यो मेरा लागि धेरै व्यक्तिगत हो, मान्छेले नमस्ते भनेर उनीहरूले न्यानोपन देखाएका छन् । अर्को कुरा मैले न्यानोपन अनुभव गरेको भनेको टीका लगाउँदा हो । त्यो अनुभवलाई म जहिले पनि प्रशंसा गर्छु ।



तपाईंले नेपालका चाडपर्व कत्तिको मनाउनुहुन्छ ? तपाईंलाई मन पर्ने चाडपर्व चाहिँ कुन हो र किन ?

मैले नेपाली चाडपर्व मनाएकी छैन । तर, यहाँका चाडपर्वलाई बुझ्ने कोसिस गरेकी छु । मेरो परिवारका साथमा यहाँका चाडपर्वलाई बुझ्ने र जान्ने प्रयास गरिरहेकी छु । मलाई लाग्छ, हाम्रो मन पर्ने चार्डपर्व चाहिँ तिहार हो । किनकि, तिहारको उज्यालो र रंगहरू निकै मन पर्छन् । हामीले आफ्ना बच्चाहरूसँग कसरी रंगोली बनाउने भनेर सिक्छौं । नेपालको संस्कृति र परम्परालाई बुझ्नका लागि हामीले आफ्नै तरिकाबाट प्रयास गरिरहेका छौं ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ? नेपालमा बोलिने अन्य भाषाबारे कत्तिको जानकारी राख्नुभएको छ ?

मलाई नेपाली भाषाका केही वाक्य बोल्न आउँछ । उदाहरणका लागि ‘मेरो नाम रिना हो’ भन्ने कुरा मज्जाले भन्न सक्छु । मैले बजारमा गएर नेपाली भाषामै फलफूल किन्न सक्छु । यसका साथै मैले नेपाली भाषा जान्ने र बुझ्ने प्रयास पनि गरिरहेकी छु । यसका अतिरिक्त नेपालमा भाषाको विविधता छ भन्ने कुरा मैले राम्रोसँग बुझेकी छु ।

नेपाली गीत/संगीत कत्तिको सुन्नुहुन्छ ? तपाईंलाई मन परेको नेपाली संगीत कुन हो ?

मलाई नेपालमा सबैभन्दा मन पर्ने भनेको ‘कुटुम्ब’ ब्यान्ड हो । मलाई उनीहरूको लय र उत्साह मन पर्छ । मेरा बच्चाहरू ‘रेशम फिरिरी...’ र ‘नमस्ते...’ गीत सधैं गाइरहन्छन् । र, हाम्रो सम्पूर्ण परिवार नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी...’ सुन्न मन पराउँछ । राष्ट्रिय गानले नेपालको एकदम राम्रोसँग प्रतिनिधित्व र न्यानोपनको भावना बोकेको छ ।

तपाईं नेपाली साहित्यका बारेमा जानकार हुनुहुन्छ ?

यहाँको साहित्यका बारेमा म जानकार छु । मैले नेपालको इतिहास र राजनीतिका बारेमा लेखिएका धेरै किताब पढेकी छु । मलाई मन पर्ने पुस्तकमध्येको एक हो– फर्गेट काठमान्डु । उक्त पुस्तक मन्जुश्री थापाले लेखेकी हुन् । र, अहिले मैले पढिरहेको किताब हो– द वुमन हु क्लाइम्ड ट्रिज । यो आख्यान स्मृति रवीन्द्रद्वारा लिखित हो । मेरो डेस्कमा अर्को किताब कर्णाली ब्लुज पनि रहेको छ । उक्त किताबका लेखक बुद्धिसागर हुन् । जब मसँग समय उपलब्ध हुन्छ, म पढ्ने प्रयास गर्छु ।

तपाईंले नेपाली चलचित्र कत्तिको हेर्नु भएको छ ?

साँचो कुरा भन्नुपर्छ– मैले अहिलेसम्म नेपाली चलचित्र हेरेकी छैन । तर, म ‘पासाङ : द स्याडो अफ एभरेस्ट’ नामक फिल्म हेर्न चाहन्छु । जब त्यो फिल्म यहाँ देखाइएको थियो, त्यसबेला मैले हेर्न छुटाएँ ।

तपाईंले नेपालमा कति स्थानको भ्रमण गर्नुभएको छ ? मन परेको त्यस्तो कुनै स्थान छ ?

यत्ति नै स्थान भ्रमण गरें भनेर त म भन्न सक्दिनँ । तर, मैले विशेष गरी सुदूरपश्चिम र कर्णाली क्षेत्रको भ्रमण गरेकी छु । पोखरा र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गरेकी छु । चितवन घुमेकी छु । काठमाडौं उपत्यका र यसवरपर पनि घुमेकी छु । मधेश पनि भ्रमण गरेकी छु । मलाई मन पर्ने एउटा स्थान भक्तपुर पनि हो । भक्तपुर दरबार स्क्वायर क्षेत्र मैले धेरै पटक घुमेकी छु । म भक्तपुरको वास्तुकला र पुरातत्त्व असाध्यै मन पराउँछु । साथै, मैले काठमाडौं दरबार स्क्वायर क्षेत्र, पाटन दरबार स्क्वायर क्षेत्र, स्वयम्भू, महाबौद्धलगायत स्थान पनि घुमेकी छु । मैले आफ्नो परिवारका साथमा ती क्षेत्र घुमेकी छु । जुन मेरो मनमा रहिरहन्छ ।

नेपाली कला र संस्कृतिलाई तपाईं कसरी हेर्नुहुन्छ ?

मेरा लागि नेपालको कला र संस्कृति पूर्ण रूपमा लोभलाग्दो छ । धेरै विविधता छन् । धेरै कुरा अनुभव गर्नयोग्य छन् । विशेष गरी पुराना वास्तुकला र काठमा खोपिएका बुट्टाहरूका कारणले काठमाडौं दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर मन पर्छ । मलाई यी सबैभन्दा मन पर्ने क्षेत्र हुन् । साथमा चाडपर्वमा देखिने रंगहरू, उज्यालो र भावनाले गर्दा नेपालको संस्कृति र कला मन पर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...