मुख्य समाचार
चीनको चिन्ता : जन्मदर बढेन
चीनको चिन्ता : जन्मदर बढेन

— कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू गरेको थियो ।

तर, अहिले त्यही नीतिका कारण जनशक्ति अभाव हुन थालेपछि चीन सरकार तनावमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था द न्युयोर्क टाइम्सका अनुसार जनशक्ति अभावको समस्या सम्बोधन गर्न चीन सरकारले जन्मदर बढाउन विभिन्न प्रयास सुरु गरेको छ ।


चार दशकअघि चीनको जनसंख्यामा तीव्र वृद्धि भइरहँदा शिक्षा, स्वास्थ्य र खाद्यान्नजस्ता आधारभूत आवश्यकता राज्यको स्रोतसाधनले नधान्ने आकलन गर्दै चीनले एक सन्तान नीति लिएको थियो । जसअनुसार एक परिवारले एक सन्तान मात्र जन्माउन पाउने नियम लागू गरिएको थियो ।

अन्तर्राष्ट्रिय थिंक ट्यांक ब्रुकिंग्सका अनुसार एक सन्तान नीति लागू गर्न चीन सरकारले व्यापक मात्रामा गर्भपतन र नसबन्दी अभियान चलाएको थियो । सन् १९८३ मा एक वर्षमै दुई करोडभन्दा बढी नसबन्दी र डेढ करोड गर्भपतन गराइएको थियो । तर, उक्त नियममार्फत चीन सरकारले जनसंख्या वृद्धि दरमा उल्लेखनीय कमी ल्याउन सफल भए पनि यसबाट भविष्यमा निम्तिने नकारात्मक असरका बारेमा ठम्याउन नसकेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

जन्मदर र मृत्युदरबीच सन्तुलन र जनसंख्यालाई स्थिर बनाइरहन हरेक दम्पतीले औसतमा २.१ को दरले जन्म दिनु आवश्यक पर्छ । चीनको कुल प्रजनन दर घटेर १.२ सम्म पुगिसकेको थियो । घट्दो जन्मदरका कारण चीनमा श्रम गर्ने उमेरको जनशक्तिको तुलनामा पाको उमेरको जनसंख्याको हिस्सा बढ्दै गयो । त्यसले परिवारको मात्र नभएर सरकारको ढुकुटीमा पनि चाप पर्न थाल्यो । नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार परिस्थिति असहज बन्दै गएपछि चीन सरकारले ३५ वर्षपछि सन् २०१५ मा एक सन्तान नीति खारेज गर्दै सन् २०१६ देखि दुई सन्तान नीति लागू गरेको थियो ।



त्यसले पनि जनसंख्या घट्ने क्रम रोकिएन । सन् २०२१ को सुरुमा सार्वजनिक गरिएको जनगणनाका अनुसार सन् २०२० मा १ करोड २० लाख शिशु जन्म भएको थियो । जबकि, सन् २०१६ मा त्यो संख्या १ करोड ८० लाख थियो । न्युयोर्क टाइम्सका अनुसार चीनमा सन् २०२२ मा ९५ लाख ६० हजार शिशुको जन्म भएकामा २०२३ सालमा यो संख्या घटेर ९० लाख २० हजार रहन गयो । सोही वर्ष चीनमा मृत्यु भने १ करोड ११ लाखभन्दा बढीको भएको तथ्यांक छ । चीनमा जन्मदर घटेको यो लगातार सातौं वर्ष वर्ष भएको पत्रिकाले लेखेको छ । एक सन्तान नीतिले लैंगिक विभेदसमेत बढाएको पाइएको थियो ।

पपुलेसन रेफरेन्स ब्युरोका अनुसार परिस्थितिको जटिलता र भविष्यमा आउने चुनौती मध्यनजर गर्दै चिनियाँ सरकारले जन्मदर बढाउन अनेक योजना तयार पार्दै विभिन्न प्रयास थालेको छ । जसअन्तर्गत परिवारलाई करमा छुट, सस्तो आवास र नगदको सुविधा सञ्चालनमा ल्याइएको न्युयोर्क टाइम्सले लेखेको छ । सरकारले नै देशको उज्ज्वल भविष्य र राष्ट्रियका निम्ति परिवार विस्तारका लागि अनुरोध गर्न थालेको छ । न्युयोर्क टाइम्सका अनुसार चीनका शीर्ष नेता सी चिन फिङले नै महिलालाई परम्परागत कर्तव्य निभाउँदै विवाह र जन्मलाई जोड दिन अनुरोध गरेका छन् । यस्तो टिप्पणीलाई अभियन्ता र विश्लेषकहरूले नागरिकहरूको स्वतन्त्रता हनन र महिलाको आवाज दबाउन खोज्ने कदमका रूपमा समेत बुझेको पत्रिकाले उल्लेख गरेको छ ।

बीएमसी प्रेगेन्सी एण्ड चाइल्ड वर्थ जर्नलले गरेको सर्वेक्षण अनुसार अहिले अधिकांश चिनियाँ नागरिक भने ठूलो परिवार बनाउने मानसिकता बोक्दैनन् । एक्लो सन्तानले आफ्ना बुबा–आमा र हजुरबुबा–हजुरआमासम्मलाई रेखदेख गर्ने अवस्था रहेको हुँदा धेरैले सानो परिवारमै बाँच्न रुचाउने अध्ययनहरूले देखाएका छन् । त्यस्तै धेरै सन्तान जन्माएर आर्थिक समस्या झेल्नुभन्दा सन्तान नै नजन्माउने विचार बोकेका युवाको पंक्ति पनि बढ्दो छ । यस्तो जटिल अवस्थामा घट्दो जनसंख्या र त्यसका कारण सिर्जना हुन सक्ने चुनौतीहरूको सम्बोधनका लागि चिनियाँ सरकारले के–कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी छ ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...