मुख्य समाचार
प्याराग्लाइडिङको हब बन्दै उदयपुर
प्याराग्लाइडिङको हब बन्दै उदयपुर

: प्याराग्लाइडिङलाई व्यावसायिक बनाउन उदयपुरको त्रियुगा नगरपालिकामा स्कुल सञ्चालनमा ल्याइएको छ। जिल्लाका पाँच स्थानीय तहका अग्ला डाँडाको अध्ययन र सफल परीक्षण उडानपछि फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा ल्याइएको हो।

२०७९ सालमा कानुनी प्रक्रिया पूरा गरी दर्ता भएको विद्यालयमा पछिल्लो समय चार विदेशी नागरिकसहित ५२ जनाले अध्ययन गरिरहेको प्रशिक्षक सुरेन गुरुङले बताए। उनका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, यूके, बेल्जियमका चार जना र बाँकी नेपालको पहिलो रोडिज विजेता समन श्रेष्ठ, हिमाल आरोहीसहित नेपाली रहेका छन्।

उनीहरूलाई बिगनर, ३०–३५ को ट्र्याङ्लसहित पिवान, पिटु, पिथ्रिका बेसिक र टेन्डम कोर्सको तयारी गराइएको प्रशिक्षक गुरुङले बताए। उनले भने, ‘जमिन र सामान्य डाँडादेखि ठूलाठूला पहाडबाट उडान भर्ने गरी तयारी गरिएको छ।’

खान, बस्नसहित १५ दिनको बेसिक कोर्समा यसअघि उदयपुरबाट एक महिलासहित १८ जना पासआउट भइसकेका छन्। त्यसमध्ये तीन जना व्यावसायिक पाइलट हुने गरी अन्तिम चरणको कोर्सको तयारीमा रहेको उनले बताए। कोर्स पूरासँगै नेपाल एयर स्पोर्ट एसोसिएसनमा लाइसेन्सको परीक्षा पास गरेपछि व्यावसायिक उडान गर्न पाउने कानुनी व्यवस्था छ।

प्रशिक्षक गुरुङका अनुसार रौतामाई गाउँपालिका ६ रौतापोखरी, त्रियुगा नगरपालिका ११ रातेडाँडा, चौदण्डीगढी नपा— १ चौदण्डी र बेलका नपा— ८ बोप्ताङ–चम्पाकोट डाँडा मैनामैनीबाट उडान गरिएको छ। उनले भने, ‘उदयपुरको पाँचवटै पालिकाबाट खोटाङ, भोजपुरहुँदै दुईदेखि चार घण्टासम्म उडान गर्न सकिनेछ, जसको सफल परीक्षण गरिसकिएको छ।’

त्यसैगरी कटारी नगरपालिकाको मर्जितपुरमा दुई वर्षअघि नै परीक्षण उडान सम्पन्न भएकाले त्यसलाई पनि चाँडै जोड्ने योजना रहेको उनले बताए। प्रशिक्षार्थीसँगै नेपालका दर्जन बढी जिल्लाबाट प्याराग्लाइडिङ गर्न भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्षका बारेमा जानकारी लिन आउने गरेको प्रशिक्षक गुरुङले बताए।

उनले भने, ‘उदयपुरका जति पहाडमा हामीले परीक्षण र सम्भावित अध्ययन ग¥यौं, ती सबै ठाउँमा दिनभर नै प्याराग्लाइडिङले उडान भर्न सक्ने देखियो। त्यसैले यसलाई व्यावसायिक बनाउन स्कुल सञ्चालनमा ल्याएका हौं।’ उनले थपे, ‘भूगोल र वातावरणको हिसाबले पनि यो क्षेत्रमा प्याराग्लाइडिङको भविष्य सुनिश्चित देखिएको छ, त्यसैले पनि देशविदेशबाट अभ्यास गर्न आउनु भएको छ।’ प्याराग्लाइडिङ विद्यालय सञ्चालनसँगै आन्तरिक र बाह्य प्रशिक्षार्थी पर्यटकको आवागमन ह्वात्तै बढेको प्रशिक्षार्थी तथा त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितेन्द्र रोइलाले बताए। उनले भने, ‘प्याराग्लाइडिङलाई जति धेरै व्यावसायिक बनाउन सक्यो उति नै यहाँको व्यापार व्यवसाय फस्टाउनुको साथै रोजगारी सिर्जनामार्फत नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्ने सम्भावना देखिन्छ।’

सहायक प्रशिक्षक युकेश गुरुङले उदयपुरको सबै उडान क्षेत्रको स्वीकृति लिइसकेको बताए। परीक्षण उडान तथा प्रशिक्षण दिँदा नजिकको विमानस्थललाई जानकारी दिएर मात्र उडान गर्ने व्यवस्था रहेको बताए। साहसिक खेलका रूपमा मानिएको प्याराग्लाइडिङमा धेरैको आकर्षण बढिरहेकाले यसबाट पर्यटन प्रवद्र्धन र व्यापार व्यवसायमा टेवा पुग्ने प्रशिक्षार्थी तथा व्यापारी भूपाल राउत बताउँछन्।

राउतले यसै स्कुलबाट प्रशिक्षण लिएर जिल्लाका सबै टेकअफबाट उडान भरिसकेका छन्। उदयपुरको उत्तरी भेग पहाडी उच्च भाग र दक्षिणी भेग सहरी क्षेत्र भएकाले प्याराग्लाइडिङ उडानका लागि उपयुुक्त मानिने प्रशिक्षक गुरुङ बताउँछन्। नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा प्रशिक्षार्थी प्रदीप देउजा भन्छन्, ‘हेर्दा जोखिम देखिए पनि अति सुरक्षित रहेकाले यो साहसिक विद्या जसले पनि सिक्न सक्छ।’

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका सदस्य तथा अर्का प्रशिक्षार्थी सुमन कोइरालाले प्याराग्लाइडिङलाई नियमित गर्न सके कोभिडले थला परेको होटल व्यवसायीलाई राहत पुग्ने बताए। उनले कोभिडले थला परेका र बन्द भएका होटल व्यवसायी अझै उठ्न नसकेका र यस्ता खालका पर्यटनलाई सघाउ पु¥याउने योजना ल्याउन सके राहत पुग्ने बताए। स्कुलका सहायक प्रशिक्षक विशाल जलरी भन्छन्, ‘स्थानीय तहले पर्यटन प्रवद्र्धन कार्यक्रममा समावेश गरी लगानी बढाउन सके युवा रोजगारमा सघाउ पुग्ने देखिन्छ।’ उनले न्यूनतम ३० मिटर ओरालो परेको भिरालो ठाउँबाट उडान गर्नुपर्ने भएकोले यस्ता ठाउँको खोजी गरी स्थानीय तहले सडक सञ्जालसँग जोडिदिए मात्र धेरै सहज हुने बताए।

त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले आगामी वर्ष प्याराग्लाइडिङ व्यवसायका लागि नगरपालिकाले योजना बनाउने बताए। उनी भन्छन्, ‘गाईघाटबाट ५० किलोमिटर दूरीमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गरी फर्किने पर्यटकलाई सप्तरी, सिराहासम्मका भूभाग देखिने गरी नवउदय सामुदायिक वनमा स्टेसन बनाउने गरी योजना बनाउँछौं।’

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले नगरलाई आधुनिक र उद्यमशील बनाउन विभिन्न सम्भावनाहरूको खोजी भइरहेको बताए। एसियन गेम २०१८ मा नेपालका कांस्य पदक विजेता पाइलट युकेश गुरुङसँगै उडान भरेका मेयर लामाले भने, ‘सुन्दर, सफा नगरीसँगै पर्यटक लोभ्याउने गरी गन्तव्य स्थलको खोजी, मनोरञ्जन दिन प्याराग्लाइडिङलाई व्यावसायिक रूपले सञ्चालन गर्ने गरी योजना अघि बढाइनेछ।’

उदयपुरको उत्तरी भेग, पहाडी उच्च भाग र दक्षिण भेग सहरी क्षेत्र भएकाले प्याराग्लाइडिङ उडानका लागि उपयुुक्त मानिने प्रशिक्षक गुरुङ बताउँछन्।

कटारीको मर्जितपुरमा तयारी सुरु

कटारी नगरपालिका—७ को पर्यटकीय क्षेत्र मर्जितपुरमा स्थानीय गढीकोट पर्यटन व्यवस्थापन समितिले व्यावसायिक प्याराग्लाइडिङको तयारी थालेको छ। प्याराग्लाइडिङसँगै जिपलाइन र रक क्लाईम्बिङ पनि सुरु गरिनेछ। माथिल्लो सगरमाथा सोलु, ओखलढुंगा र खोटाङको प्रवेशद्वारको रूपमा रहेको कटारी क्षेत्र पर्यटकीय हिसाबले निकै अगाडि छ।

कटारीबाट सोलुमा हिउँ खेल्न जाने, खोटाङको हलेसी मन्दिर जाने र युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो जाने पर्यटकहरूको आवतजावत हुने गरेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई भिœयाउने र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी काम भइरहेको उपमेयर गीता खड्काले बताइन्।

प्याराग्लाइडिङ, जिपलाइन र रक क्लाइम्बिङको रौनकसँगै सिमसार क्षेत्रमा बोटिङ, भूगोलपार्क, महादेवको गुफा, बेतेनी डाँडाको चिसो मौसम र दृश्यावलोकनको मनोरञ्जन लिन सकिने उनले बताइन्। ७५० मिटरको उचाइमा रहेको मर्जितपुरबाट उडान गरी २५० मिटर तल रहेको सिमसार क्षेत्र आसपासमा अवतरण गर्न सकिने गढिकोट पर्यटन व्यवस्थापन समिति कटारीका अध्यक्ष सूर्य लामाले बताए। मर्जितपुर प्याराग्लाइडिङका लागि नेपालकै उत्कृष्ट ठाउँ रहेको परीक्षणका लागि आएका द बाबु एडभेन्चर इन्टरनेशनल स्कुल स्याङ्जाका प्रशिक्षक दिलकुमार सुनुवारले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिउड अभिनेता विद्युत जामवाल हलिउडमा डेब्यु गर्ने तयारीमा छन् । उनले धेरै हिन्दी फिल्म गरे तर समकालिन कलाकारले जति लोकप्रियता पाएनन् । उनी अब काम गराइको शैली र स्वाद बदल्ने तयारीमा छन् । ‘कमाण्डो’ अभिनेताले लेजेन्डरी इन्टरटेनमेन्टको आगामी लाइभ-एक्सन ’स्ट्रिट फाइटर’ फिल्ममा ढलसिमको भूमिका निर्वाह गर्ने बताइएको छ । यो फिल्म प्रसिद्ध भिडियो गेम फ्रान्चाइजीमा आधारित ...
। अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन गरेका छन् । सोमबार साँझ हमालसहित प्रमोद खरेल, गायिकाद्धय मिलन नेवार, मेलिना राई, ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्याल, होस्ट सुशिल नेपाल र टिभी कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले होटल उद्घाटन गरे । ‘यदि तपाईहरूलाई यो होटल मनपर्‍यो भने पक्कै पनि मेरो घर पनि मन पर्नेछ’ पानसमा ...
एउटा डाँडोमा अङ्ग्रेजी शब्द ‘हलिउड’ लेखिएको १०० वर्षभन्दा बढी भइसकेको छ । आजको समयमा उक्त ‘हलिउड’ साइन (बोर्ड) वास्तविक जीवन र फिल्मी पर्दा दुवैमा एक ऐतिहासिक प्रतीक बनेको अवस्था छ । लस एञ्जल्स शहरमाथिको माउन्ट ली नामक डाँडामा बनाइएको उक्त साइन आज अमेरिकाको सबैभन्दा बढी चिनिने साँस्कृतिक प्रतीकहरूमध्येको एक हो । हलिउडलाई चिनाउने एउटा ल्यान्डमार्क हो ...
: भारतीय अभिनेता तथा निर्माता धीरज कुमारको निधन भएको छ। ८० वर्षीय धीरजको मंगलबार मुम्बईको धीरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो। निमोनियाका कारण उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान ११ : ३० बजे निधन भएको बीबीसीमा समाचार छ। उनले 'उधर का सिन्दूर','सरगम', 'रोटी कपडा और मकान','स्वामी','रातों का राजा', 'हीरा पन्ना', 'क्रांति', 'माङ भरो ...
। मीन बहादुर भाम निर्देशित शाम्बाला २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार- २०८२ मा शाम्बालाले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट निर्देशकतर्फको पुरस्कार ...