मुख्य समाचार
ब्याजदर घट्न थालेपछि बजारबाट पैसा तान्दै राष्ट्र बैंक
ब्याजदर घट्न थालेपछि बजारबाट पैसा तान्दै राष्ट्र बैंक

— बैंकहरूबीचको सापटी दर (अन्तरबैंक ब्याजदर) तीन प्रतिशतभन्दा तल जान नदिन नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम पैसा तानिरहेको छ । ब्याजदरलाई स्थायित्व दिन भन्दै पछिल्लो डेढ महिनामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट मात्र २ खर्ब ८२ रुपैयाँभन्दा बढी तानिसकेको छ ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनमा प्रयोग गर्ने अल्पकालिन उपकरण हो, निक्षेप संकलन । यिनको परिपक्व अवधि थोरै हुन्छ । यसकारण पछिल्लो डेढ महिनामा निक्षेप संकलनमार्फत पौने ३ खर्ब रुपैयाँ बजारबाट ताने पनि सोमबारसम्म करिब ७५ अर्ब रुपैयाँ मात्र लगानीमा (आउटस्ट्यान्डिङ) रहेको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदरमा स्थिरता कायम गर्न भन्दै नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर लागु गरेको छ । दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउन अल्पकालीन ब्याजदर अर्थात् अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर हो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इंगित गर्दछ । स्थायी तरलता सुविधा उपलब्ध हुने दरले माथिल्लो सीमा र निक्षेप संकलन दरले तल्लो सीमाका रूपमा काम गर्छ । यी दर मौद्रिक नीतिले आवश्यकता हेरी समयसमयमा परिवर्तन गर्दछ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले बैंकदर (ब्याजदर करिडोरको माथिल्लो सीमा) ७, नीतिगत दर ५.५ र निक्षेप संकलन ३ प्रतिशत तय गरेको छ । यसको अर्थ अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ (तान्नु) भने ७ प्रतिशतभन्दा बढी हुँदा बजारमा पैसा पठाउनुपर्छ ।

पछिल्ला सातामा अन्तर बैंक दर ३ प्रतिशतभन्दा कम रहेकाले राष्ट्र बैंकले धमाधम पैसा तानिरहेको हो । सोमबारसम्म अन्तरबैंक ब्याजदर २.८४ प्रतिशत छ । यहीकारण राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि बजारबाट ३५ अर्ब रुपैयाँ तान्न सोमबार नै सूचना आह्वान गरिसकेको छ । दीर्घकालीन ब्याजदरलाई स्थायित्व दिन ब्याजदर करिडोरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नकै लागि निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गरिरहेको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभाग प्रमुख पीताम्बर भण्डारीले बताए ।

‘अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल जान नदिन बजारबाट पैसा तानिएको हो । गत बिहीबार र शुक्रबार दुई दिन अन्तरबैंक दर ३ प्रतिशतभन्दा माथि थियो । आइतबारदेखि पुनः ३ प्रतिशतभन्दा तल झरेपछि निक्षेप संकलन उपकरण जारी गरिएको हो,’ उनले भने, ‘अहिले ब्याजदर घट्दो क्रममा छ, यस्तो अवस्थामा धेरै तल नझरोस् र स्थायित्व होस् भन्नकै लागि ब्याजदर करिडोरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको हो ।’ गत मंसिर ६ देखि यही पुस १९ सम्म राष्ट्र बैंकले करिब पौने ३ खर्ब रुपैयाँ ताने पनि लगानीमा रहेको रकम ७५ अर्ब मात्र रहेको र त्यो पनि आवश्यकताअनुसार बजारमा पठाइने भण्डारीले बताए । बजारबाट कति तानियो भन्नुभन्दा पनि तानेकोमध्ये अहिले राष्ट्र बैंकसँग कति रकम छ भन्ने महत्त्वपूर्ण भएको भण्डारीको भनाइ छ । ‘मंगलबार पनि ८ अर्ब ७० करोड रुपैयाँको निक्षेप संकलनको अवधि सकिँदै छ, त्यसपछि त्यो पैसा बजारमा आउँछ,’ उनले थपे, ‘सोमबारसम्म वित्तीय प्रणालीमा करिब ४२ अर्ब रुपैयाँ अधिक तरलता (सीआरआर बाहेक) छ ।’


राष्ट्र बैंकले आन्तरिक ऋणमार्फत पनि बजारबाट पैसा उठाइरहेको छ । सोही क्रममा हालसम्म १ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले जनाएको छ ।

बजारमा पर्याप्त तरलता रहेको भन्दै राष्ट्र बैंकले दोस्रो त्रैमासका लागि तय गरिएको विकास ऋणपत्र अघि सारेर पहिलो त्रैमासमै आन्तरिक ऋण उठाएको थियो । सरकारले सुरुमा चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा ५५/५५ अर्ब रुपैयाँका दरले आन्तरिक ऋण उठाउने योजना थियो । तर अहिलेसम्म १ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । यसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । तर हाल वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण पनि अहिले धमाधम उठाइरहेको हो ।

गत कात्तिकसम्म वाणिज्य बैंकहरूको औसत आधार दर ९.७४, विकास बैंकहरूको १२ र वित्त कम्पनीहरूको १३.३३ प्रतिशत छ । अघिल्लो वर्षको कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.६० प्रतिशत थियो । ०८० कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.७६, विकास बैंकहरूको ९.११ र वित्त कम्पनीहरूको १०.०२ प्रतिशत छ । ०७९ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.३२ प्रतिशत कायम थियो । सोही अवधिमा कर्जाको भारित औसत ब्याजदर ०८० कात्तिकमा ११.९६ प्रतिशत छ । गत कात्तिकमा यस्तो दर १२.६५ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशत अर्थात् ९९ अर्ब ४० करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोडले बढेको राष्ट्र बैंकको तथ्यांक छ । वार्षिक बिन्दुगत आधारमा गत कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.४ र निक्षेप संकले १४.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...