मुख्य समाचार
‘छाती र टाउकोमा बल खान तयार छौं’
‘छाती र टाउकोमा बल खान तयार छौं’

— दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टेस्ट क्रिकेट दुई दिन पनि टिकेन । केपटाउनमा भएको पाँच दिनको खेल ६ सय ४२ बलमात्र खेल्न सम्भव भयो । त्यसपछि घरेलु टोली दक्षिण अफ्रिकाले बिहीबार भ्रमणकारी टोलीसामु घुँडा टेकेको थियो । पहिलो दिनमै २३ विकेट झर्दा दक्षिण अफ्रिकाको पहिलो इनिङ्स ५५ रनमै समेटिएको थियो ।

टेस्ट क्रिकेट इतिहासकै यो सबैभन्दा छोटो टेस्ट बन्यो । यसखाले नतिजा टेस्टमा अनेपेक्षित नै हुन्छ । तर, दक्षिण अफ्रिकाको विकेट वाउन्सी हुने हुनाले सानो स्कोर बन्नु कुनै नौलो होइन । तीव्र गतिका बलरको बोलवाला हुँदा ब्याटरले मजाले ब्याट घुमाउने अवसर कम पाउने गर्छन् ।

संयोगले नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोली विश्वकप खेल्नका लागि शुक्रबार दक्षिण अफ्रिका लागेको छ । नेपाली यू–१९ टोली कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ । यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुँदै छ ।

नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउँदै छ । सन् २०१६ यता नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको हो । दक्षिण अफ्रिकामा भने नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्दै छ । यसअघि नेपालले सन् २००० मा श्रीलंका, २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेश, २००६ मा श्रीलंका, २००८ मा मलेसिया, २०१२ मा अस्ट्रेलिया र २०१६ मा बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो ।




पहिलो पटक दक्षिण अफ्रिकामा खेलिरहे पनि नेपालका प्रशिक्षक जगत टमाटा त्यहाँको विकेटबारे स्पष्ट छन् । भने, ‘कन्डिसनले गर्दा दक्षिण अफ्रिकामा अलि फरक पर्छ नै । दक्षिण अफ्रिकाको बाउन्सी विकेट हुन्छ र टप अर्डरको ब्याटिङलाई चुनौती दिन्छ ।’

प्रशिक्षक टमाटाले आफूहरूले कस्तो विकेटमा तयारी गर्न पाउने त्यसले प्रदर्शन निर्धारण हुने बताउँछन् । उनले विकेटबारे थपे, ‘दक्षिण अफ्रिका र भारतबीचको टेस्ट नै दुई दिनमा सकियो । दक्षिण अफ्रिकामा नयाँ सिजन सुरु भएको छ । हामीले कस्तो विकेटमा तयारी पाउँछौं त्यसमा पनि भरपर्छ । २–४ वटा बल छाती र टाउकोमा खान हामी तयार छौं तर विकेट त्यसै छाड्ने छैनौं ।’

नेपाल समावेश समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छ । यो समूहको सबै खेल इस्ट लन्डनमा आयोजना हुनेछ । नेपालले जनवरी २१ मा न्युजिल्यान्डसँग खेलेर प्रतियोगिता सुरु गर्नेछ । जनवरी २४ मा पाकिस्तान र जनवरी २६ मा अफगानिस्तानसँग खेल्दै छ । शीर्ष दुई टोली अर्को चरणमा पुग्नेछन् ।

नेपालले जोहानेसबर्गमा एक साता हाइपर्फोमेन्स क्याम्प बिताउने तथा त्यसक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग जनवरी ९ र ११ मा गरी दुई प्रशिक्षण म्याच खेल्ने छ । त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले व्यवस्थापन गरेको अर्को दुई अभ्यास खेल नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ ।



‘सुपर एटमा जाने लक्ष्य लिएका छौं । खेलाडीहरूले पनि आफूलाई त्यही हिसाबमा तयारी गरिरहेका छन्,’ प्रशिक्षक टमाटा भन्छन्, ‘न्युजिल्यान्डसँगको पहिलो खेल निकै महत्त्वपूर्ण छ । पहिलो खेलबाटै लय समात्नु महत्त्वपूर्ण भएकाले न्युजिल्यान्डसँगको खेल विशेष छ । यसले प्रतियोगिताको बाँकी खेल निर्धारण गर्न सक्छ ।’

अघिल्लो महिना यूएईमा भएको एसीसी यू–१९ एसिया कपको समूह चरणमा नेपालले पाकिस्तान र अफगानिस्तानविरुद्ध खासै ठूलो चुनौती दिन सकेको थिएन । यू–१९ विश्वकपमा तीनवटै टेस्ट राष्ट्रको समूहमा भएकाले निकै ठूलो चुनौती रहेको टमाटा स्वीकार्छन् । ‘हामीले उनीहरूले खेलेको भिडियो नियालिरहेका छौं, उनीहरूले पनि हामीले खेलेको भिडियो हेरिरहेकै होलान्,’ टमाटाले भने, ‘पाकिस्तान र अफगानिस्तानसँग भर्खरै एसिया कपमा खेलेका थियौं, उनीहरूले त्यो टोलीबाट केही खेलाडी परिवर्तन गरेका छन् । हाम्रो टोलीमा पनि केही परिवर्तन आएको छ ।’ तीव्र गतिका बलर हेमन्त धामी ४ दिनअघि घाइते भएपछि उनी दक्षिण अफ्रिका जाने टोली बाहिरिएका छन् ।

देव खनालको कप्तानीमा रहेको टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

नेपालले फागुनमा यूएईमा सम्पन्न आईसीसी एसिया यू–१९ विश्वकप छनोट प्रतियोगिता जितेको हो । त्यसक्रममा नेपालले फाइनलमा कप्तान देवको शतक र दीपेशको ह्याट्रिकसहित ५ विकेटको जादुगरी प्रदर्शनमा यूएईलाई पराजित गरेको थियो । त्यसयता नेपालले एसीसी यू–१९ प्रिमियर कप र एसीसी यू–१९ एसिया कपमा खेलिसकेको छ । प्रशिक्षक टमाटाले अगाडि भने, ‘एक वर्षदेखि हामी यही टोलीलाई लिएर खेलिरहेका छौं । त्यसैले तयारीको हिसाबमा भन्नुपर्दा राम्रै भइरहेको छ । साता दिनअघि नै जानु प्लस प्वाइन्ट हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...