मुख्य समाचार
अस्ट्रेलियाको अध्यागमन नियम परिमार्जन, नेपाली विद्यार्थीसमेत प्रभावित हुने
अस्ट्रेलियाको अध्यागमन नियम परिमार्जन, नेपाली विद्यार्थीसमेत प्रभावित हुने

— अस्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तनको घोषणा गरेको छ । केही दिनअघि घोषित नयाँ अध्यागमन नीतिले नेपाली विद्यार्थीलाई समेत असर गर्ने भएको छ ।

गृहमन्त्री क्लेयर ओनिनले सार्वजनिक गरेको नयाँ नीतिमा समग्र आप्रवासी संख्यालाई दोब्बर संख्यामा घटाउने, विद्यार्थी भिसामा यसपहिले भएका सरल नीतिलाई कडाइ गर्ने तथा उच्च सीप र ज्ञान भएकालाई प्राथमिकता दिनेलगायतका प्रावधान समेटिएको छ । अस्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीले अंग्रेजी परीक्षामा देखाउनुपर्ने अंकलाई बढाइएको छ भने यहाँ अध्ययन सकेपछि काम गर्नका लागि पाइने ‘पोस्ट स्टडी भिसा’ को समय घटाइएको छ ।


त्यसैगरी पोस्ट स्टडी वर्क भिसा आवेदनका लागि आवश्यक पर्ने अंग्रेजी परीक्षाको अंकलाई समेत बढाइएको छ । आफ्नो अध्यागमन नीतिलाई समयसापेक्ष र आफ्नो देशको आवश्यक्ताअनुसार परिमार्जन आवश्यक भएकालाई परिवर्तन गरिएको अधिकारीले जनाएका छन् । गृहमन्त्री ओनिलले अध्यागमन अघिल्लो सरकारले बिगारेको अध्यागमन नीतिलाई परिवर्तन गर्न ढिलाइ भइसकेको उल्लेख गरेकी छिन् ।

१० वर्षको कार्ययोजनाअन्तर्गत जारी गरिएको नयाँ नीतिमा अध्यागमन संख्यालाई कम गरेर २ लाख ५० हजारमा पुरयाउने जनाइएको छ । पछिल्लो समयमा आप्रवासीको संख्या बढेसँगै आवास र पूर्वाधारका क्षेत्रमा समस्या चर्किंदै गएकाले समेत सरकार आफ्नो नीतिलाई परिमार्जन गर्नैपर्ने अवस्थामा पुगेको थियो । परिवर्तित नियमअनुसार उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउने विद्यार्थीले अंग्रेजी परीक्षामा पहिलेको तुलनामा कम्तीमा पनि ०.५ अंक बढी ल्याउनुपर्ने भएको छ भने पोस्ट स्टडी वर्क भिसाका लागि ६ बाट ६ दशमलव ५ ल्याउनुपर्नेछ ।

यसैगरी केही समयअघि अस्ट्रेलियाको उच्च शिक्षा अध्ययन सकेपछि पाइने भिसाको समयसीमालाई समेत घटाइएको छ । ब्याचलर तथा मास्टर्स अध्ययन सकेका विद्यार्थीले दुई वर्षको मात्र पोस्टस्टडी भिसा पाउनेछन् भने पीएचडी गरेकाले ३ वर्षको भिसा पाउनेछन् । दुर्गम भेगमा रहेकालाई स्थान हेरेर थप १ देखि २ वर्षसम्मको भिसा थप गरिने उल्लेख छ । यसैगरी यो भिसा पाउने उमेरलाई समेत ५० वर्षबाट ३५ वर्षमा झारिएको छ ।


अध्यागमन नीतिमा यहाँ कम प्राथमिकतामा रहेका विषयलाई घटाउँदै लैजाने भएको छ भने वार्षिक एक लाख ३५ हजार डलरभन्दा माथि तलब रहेको र जनशक्तिको अभाव रहेका प्रविधि, ऊर्जा र ट्रेड वर्कर, ठूला मेसिन चलाउने ड्राइभरलगायतकालाई उच्च प्राथमिकता दिइने भएको छ । त्यसका साथै कम आम्दानी हुने तर अत्यावश्यक क्षेत्रभित्र पर्ने केयरक्षेत्रमा काम गर्नेलाई समेत भिसा प्रोसेसिङमा प्राथमिकता दिइने बताइएको छ । परिमार्जित नियमले यहाँ आइसकेपछि अध्ययन भिसा परिवर्तन गर्ने प्रवृत्ति अनि अध्ययनलाई भन्दा पनि पैसा वा पीआरलाई प्राथमिकता दिने कार्यलाई निरुत्साहित गर्ने विश्लेषण गरिएको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा अध्यागमन नीति परिमार्जनको मुख्य उद्देश्य दक्ष कामदार लक्षित नीति बनाउनु, उच्चस्तरको अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउनु, तलब तथा कामको माध्यमबाट हुने उत्पीडनलाई कम गर्नु, दुर्गम क्षेत्रमा दक्ष कामदार परिपूर्ति गर्न सहयोग पुर्‍याउन तथा अध्यागमन कोभिड महामारीभन्दा पहिलेको अवस्थामा ल्याउन रहेको उल्लेख गरिएको छ ।

सिड्नीका कानुन व्यवसायी सञ्जीव पाण्डे कोभिडपछि संख्यात्मक रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी ह्वात्तै बढेपछि यसलाई नियन्त्रणमा लिनका लागि र यसले उब्जाएको आवास तथा रोजगारलगायतका समस्यालाई सम्बोधन गर्नका लागि परिवर्तन गरिएको धारणा राख्छन् । संख्यात्मकभन्दा पनि गुणात्मक र आफ्नो देशलाई आवश्यक पर्ने जनशक्ति सिर्जना गर्ने उद्देश्यले नियम परिवर्तन गरिएको उनको बुझाइ छ । उनी नेपालबाट आउने विद्यार्थी आफ्नो अंग्रेजी तथा समग्र अध्ययनको गुणस्तरमा ध्यान दिन सुझाव दिन्छन् । अर्कोतिर विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेकाहरू परिवर्तित नियमले नेपालबाट अध्ययनका लागि आउने समग्र विद्यार्थी संख्यामा असर पर्ने बताए पनि अध्ययनकै लागि आउन चाहने, अंग्रेजीको ज्ञान र आयस्रोत राम्रो भएकालाई भने खासै असर नपर्ने धारणा राख्छन् ।

करिब ७ वर्षदेखि यस क्षेत्रमा कार्यरत अर्जुन थपलिया पछिल्लो समयमा नेपाली विद्यार्थीलाई कडाइ भइरहेका कारण यसले अझ थप कठिनाइ ल्याउन सक्ने सुनाउँछन् । उनी अस्ट्रेलिया अध्ययनका लागि नियम परिवर्तन अपेक्षित भएको र उच्च शिक्षा अध्ययनगर्न आउने विद्यार्थीलाई यसले खासै असर नगर्ने सुनाउँछन् । सरकारको परिवर्तिन नीतिले अस्ट्रेलिया अध्ययन गर्न आउने विद्यार्थीलाई पहिलेको तुलनामा गाह्रो हुने भए पनि यसले उच्च शिक्षा अध्ययनकै लागि आउनेलाई कुनै असर नगर्ने विद्यार्थी स्वयं स्वीकार्छन् ।

म्याक्वारी युनिभर्सिटीमा अध्ययनरत मनस्वी पौडेल अस्ट्रेलियाले आफूलाई चाहिने जनशक्तिका आधारमा आफ्नो अध्यागमन नीति परिमार्जन गर्ने भएकाले यसलाई सहज रूपमा लिनुपर्ने सुनाउँछिन् । उनी भन्छिन्, ‘यस नीतिले वास्तवमा जेहेन्दार र अध्ययनशील विद्यार्थीलाई अझ प्रेरित गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...