मुख्य समाचार
रुसी सेनामा आबद्ध नेपालीको सुरक्षा चिन्ता
रुसी सेनामा आबद्ध नेपालीको सुरक्षा चिन्ता

अवैध रूपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा होमिएका नेपाली युवाहरूले ज्यान गुमाएका र बेपत्ता भएका खबर आइरहेकै छन् । कतिपय नेपाली युक्रेनी सेनाको बन्दी बनेका छन् । आफूलाई फसाइएको भन्दै उद्धारका लागि गुहार माग्नेहरू पनि बढिरहेका छन् । तर सरकारले उद्धार गर्न त सकेको छैन नै, रुसी सेनामा आबद्ध आफ्ना नागरिकको स्थिति पहिल्याउन सार्थक कूटनीतिक पहलसमेत गर्न सकेको छैन ।

पीडित परिवारको उजुरी लिने र गन्नेबाहेक सरकारबाट देखिने गरी कुनै भूमिका निर्वाह भएको पाइँदैन । अहिले युद्धमा कसैको मृत्यु भइहाले परिवारले खबरसमेत नपाउने स्थिति छ, शव झिकाउने र राहत उपलब्ध गराउने त टाढाका विषय भए ।


रुस–युक्रेन युद्धमा नेपाली सामेल भएको खबर आएको साढे पाँच महिना भएको छ । यस बीचमा ७ जनाको मृत्यु भएको तथ्यांक सरकारसँग छ । परिवारजनको भनाइ र उजुरी हेर्दा कैयन् नेपाली हताहत भएको आशंका छ । परराष्ट्रमन्त्री एनपी साउदकै भनाइमा करिब सय नेपाली हराइरहेको र घाइते भएको उजुरी परिवारजनबाट आएको छ । उजुरी नदिइएका अरू पनि हराएका वा घाइते भएका हुन सक्छन् । त्यहीँ रहेका नेपालीका अनुसार कम्तीमा सात सय नेपाली रुस–युक्रेनको सीमा क्षेत्रमा खटाइएका छन् । यति ठूलो संख्यामा आफ्ना नागरिक जोखिममा परिरहेका बेला फिर्ता वा उद्धारका लागि परराष्ट्र मन्त्रालय औपचारिक/अनौपचारिक संवाद वा पहलमा सक्रिय हुनुपर्ने हो । तर मन्त्रालय नेपालीलाई भर्ती

नगर्न र भर्ती गरिएको भए फिर्ता गर्न रुस सरकारलाई पत्र लेख्ने र कसैको मृत्यु भए सार्वजनिक गर्नेजस्ता औपचारिकतामा मात्र सीमित देखिन्छ ।

युक्रेनविरुद्ध २०२२ फेब्रुअरीदेखि युद्धमा होमिएको रुसले सैनिक संख्या बढाउन सेनामा एक वर्ष काम गरे नागरिकता सहजै दिने र परिवारका सदस्यलाई पनि त्यो सुविधा हुने नीति ल्याएपछि नेपाली युवा आकर्षित भएको देखिन्छ । युद्धको वस्तुस्थिति नबुझी नेपाली युवा रुसी सेनामा भर्ती हुन थालेका बेला दलालहरू सक्रिय भए । उनीहरूले आकर्षक कमाइ हुने प्रलोभन देखाउँदै पहिले नेपालबाट सिधै र पछि नयाँदिल्ली, दुबई हुँदै सयौंलाई रुस पुर्‍याए । यस्तो अवैध धन्दा चल्दा राज्यले थाहा पाएन वा रोक्न चाहेन । युवाहरूको मृत्युको खबर दोहोरिन थालेपछि मात्र केही दलाल पक्राउ गरेर सक्रियता देखाउन खोजिएको छ ।


नेपाली युवा आठ–नौ लाख रुपैयाँसम्म खर्च गरी रुस पुगेर सेनामा भर्ती भएका छन् । प्रायःलाई तीनमहिने तालिम लिइसक्दा युद्ध रोकिन्छ भनेर दलालले झुक्याएको पाइएको छ । सेनामा भर्ती भएपछि १५ दिन वा एक महिनाको तालिम दिएर युद्धग्रस्त क्षेत्रमा खटाइएको छ अर्थात् हतियार राम्ररी चलाउन नजान्दै युवा युद्धग्रस्त क्षेत्रमा पुर्‍याइन्छन् । जोखिम बुझेपछि कतिपय युवा भागेर घर फर्केका छन् । सीमा क्षेत्र र युक्रेनी भूमिमा खटाइएका युवा सकुशल फर्कने सम्भावना नै न्यून रहेको बताउँछन् । घाइते भइहाले राम्रो उपचार पनि नपाउने स्थिति छ । युद्धग्रस्त क्षेत्रमा खटाइएका प्रायःले उद्धार चाहेको देखिन्छ । लहैलहैमा लागेर वा प्रलोभनमा परेर अवैध रूपमा रुसी सेनामा भर्ती हुनु कमजोरी थियो तर रोजगारीका लागि यति विवश नागरिकलाई दोष दिएर सरकार उम्कन मिल्दैन । आफ्ना नागरिक जुनसुकै ठाउँमा रहे पनि सुरक्षा सुनिश्चित गराउने दायित्व सरकारको हो रुसी सेनामा नेपाली युवा भर्तीका विषयमा दुई देशबीच कुनै समझदारी वा सम्झौता भएको छैन । नेपालीलाई भर्ती गरेर युद्धमा खटाउने क्रममा रुसले यहाँको सरकारलाई जानकारी पनि गराएको थिएन । अर्को मुलुकका नागरिकलाई आफ्नो सेनामा सामेल गराउँदै युद्धमा होम्ने रुसको कदम गैरकानुनी छ । यही आधार टेकेर सरकारले नेपाली युवा फर्काइदिन रुसी सरकारसँग आग्रह गर्न र कूटनीतिक दबाब बढाउन ढिला गर्नु हुँदैन । त्यस्तै चार नेपालीलाई युक्रेनी सेनाले बन्दी बनाएको खुलिसकेको छ । अरू पनि बन्दी भएको आशंका छ । उनीहरूलाई रिहा गराउनसमेत सरकारको सक्रिय कूटनीतिक पहल गर्नुपर्छ । औपचारिक–अनौपचारिक संवाद–वार्ताका लागि सम्भव सबै संयन्त्र परिचालन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...