मुख्य समाचार
नेपाली छुटाउन युक्रेनसँग संवाद सुरु
नेपाली छुटाउन युक्रेनसँग संवाद सुरु

— युक्रेनी सेनाको नियन्त्रणमा रहेका चार नेपालीको रिहाइका लागि नेपालले कूटनीतिक पहल सुरु गरेको छ । रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको दुई महिनाअघि खुले पनि बल्ल सरकारले उनीहरूको रिहाइका लागि कूटनीतिक पहल थालेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले युक्रेनी पक्षसँग कुराकानी गर्न चाहे पनि बेवास्ता गर्दै आएको थियो । तर मंगलबार युक्रेन मामिलासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले त्यहाँ रहेको युक्रेनी पक्षसँग संवाद गरेको हो । जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच करिब एक घण्टा भेटवार्तापछि युक्रेनी कब्जामा रहेका नेपालीलाई छुटाउने प्रक्रिया सुरु हुने संकेत देखिएको छ । तर, भेटमा युक्रेनी पक्षले नेपालीहरू आफ्नो नियन्त्रणमा रहेको औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ ।


रुस र युक्रेनबीच २ वर्षदेखि युद्ध जारी छ । ‘दुई देशबीच करिब १७ सय किलोमिटर फ्रन्टलाइन (सीमा क्षेत्र) मा युद्ध चर्किरहेको छ । त्यहाँ पक्राउ परेका नेपालीको विषय परराष्ट्रको नोटिसमा आइसकेको छैन,’ युक्रेनी राजदूतको भनाइ उद्धृत गर्दै परराष्ट्रका एक पदाधिकारीले भने, ‘यदि नेपाली पक्राउ परेका रहेछन् भने हामी अन्तर्राष्ट्रिय कानुनअनुसारको युद्धबन्दीसरह व्यवहार गर्छौं ।’

नेपाली राजदूत खड्काले रिहाइको विषय उठाउँदा युक्रेनी पक्षले समस्यालाई समाधान गर्न सबै खालको सम्भावना हेर्ने जानकारी दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले पनि जर्मनीस्थित दूतावासमार्फत नेपालीहरूको रिहाइका लागि पहल सुरु भएको पुष्टि गरे । ‘दुई पक्षबीच भेटवार्ता भयो । युक्रेनले कब्जामा रहेका नेपाली आफ्नो नोटिसमा छैन भनेको छ,’ उनले भने, ‘हामीे युक्रेनी पक्षलाई फूरा विवरण दिनेछौं ।’

गत असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई युत्रेनी सेनाले नियन्त्रणमा लिएको खुलेको थियो । त्यसपछि काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन पनि युक्रेनी सेनाको नियन्त्रणको रहेको पुष्टि भएको थियो । ‘जहाँसम्म म सकुशल नै हुन सक्छु तर के हुन्छ, पछिको कुरा थाहा छैन,’ ढकालले उक्त भिडियोमा भनेका छन् । ती सबै भिडियोको लिंकसहितको विवरण जर्मनीस्थित नेपाली दूतावासले युक्रेनी पक्षलाई बुझाएको छ । परराष्ट्र मन्त्रालयले ती नेपालीको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अन्य कूटनीतिक माध्यमबाट पनि कूटनीतिक पहल भइरहेको जनाएको छ ।


रुसी सेनामा नेपालीलाई गैरकानुनी रूपमा भर्ती गरेको सम्बन्धमा परराष्ट्र मन्त्रालयले दोस्रो पटक नेपालस्थित रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर सोधपुछ गरेको छ । मन्त्रालय स्रोतअनुसार रुसी राजदूत नोभिकोभसँग रुसी सेनामा गैरकानुनी रूपमा नेपालीलाई भर्ना गर्न रोक्नुपर्ने र भर्ना भएकाहरूलाई निर्बाध रूपमा नेपाल फर्कन दिनुपर्नेबारे नेपाली पक्षले कुरा राखेको थियो ।

परराष्ट्रमन्त्री साउद र परराष्ट्र सचिव सेवा लम्सालले राजदूत नोभिकोभलाई नेपाल सरकारको नीति व्याख्या गर्दै त्यसलाई रुसले अनुसरण गर्नका लागि आग्रह गरेका थिए । स्रोतका अनुसार जवाफमा राजदूत नोभिकोभले नेपालको सन्देशलाई मस्को पुर्‍याउने उल्लेख गरे । परराष्ट्रले मंसिर तेस्रो साता पनि बोलाएर उनीसँग सोधपुछ गरेको थियो । सरकारले यसअघि नै रुसलाई कूटनीतिक नोट पठाए पनि रुसले हालसम्म नेपालीहरूलाई युद्धमा पठाइरहेको छ ।

अब रुस यात्रा गर्नुपरेमा नेपालीहरूले नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य रूपमा लिनुपर्ने भएको छ । रुसी सेनामा नेपालीहरू भर्ती हुन गएपछि सरकारले उक्त प्रावधान ल्याएको हो । ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नुपरेमा एनओसी लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ,’ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालीले रुस यात्रा गर्दा नेपालबाट मात्र नभई अन्य गन्तव्यबाट जाँदा पनि एनओसी लिनुपर्ने भएको छ । नेपालीहरू भारत, बंगलादेश, श्रीलंका, यूएई, साउदी अरबिया, कुवेत, कतार र बहराइनबाट रुस यात्रा गर्नुपरेमा पनि त्यहाँ रहेका नेपाली दूतावास र महावाणिज्य दूतावासबाट एनओसी अनिवार्य रूपमा लिनुपर्ने उल्लेख गरे ।

थप एक नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कुन्दनसिंह नागलको मृत्यु भएको उल्लेख गरेको हो । योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।

मन्त्रालयका अनुसार नागलको राहदानी नम्बर ०९४७३६३२ छ । यसअघि स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाउँपालिका–६, दोलखाका राजकुमार कार्की, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...