मुख्य समाचार
युद्ध क्षेत्रमा नेपाली : बाँचे रुसी नागरिकता, मरे शव पनि लापता
युद्ध क्षेत्रमा नेपाली : बाँचे रुसी नागरिकता, मरे शव पनि लापता

— ‘आज (बिहीबार) हामीलाई यहाँ (रुस) का कैदीसँग मिसाएर युद्ध भइरहेको रेड जोन (अग्रमोर्चा) मा लाँदै छ । हाम्रो छुट्टाछुट्टै समूह छ । हाम्रो समूहमा चार जना नेपाली र ६ जना रुसी कैदी छन् । वार भइरहेको ठाउँमा खाल्डोभित्र पाल छ । त्यो पालभित्र दुस्मन लुकेको हुन सक्छ । उनीहरूलाई ग्रिनेड हान्नुपर्छ । फायरिङ चलाउनुपर्छ । त्यहाँ ड्रोनहरू पनि आउँछन् । हामी एकदमै जोखिम ठाउँमा जाँदै छौं । मुटु कामिरहेछ ।’ रुसी सेनामा भर्ती भएका नेपालीले मस्कोमा बस्दै आएका अर्का नेपालीलाई उद्धारको याचना गर्दै बिहीबार बिहानै यस्तो अडियो सन्देश पठाएका छन् ।

सजिलै जित्ने अहम्सहित युक्रेनमाथि हमला गरेको रुस करिब दुई वर्षदेखि युद्धमा अल्झिएको छ । अनपेक्षित क्षति भोगेको रुसले सैनिक संख्या लगातार बढाइरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मात्रै १ लाख ७० हजार सैनिक थप्ने घोषणा गरेका छन् । करिब तीन लाख तलब र एक वर्षपछि सिधै रुसी नागरिकता पाउने आसमा नेपालीहरू भारत तथा तेस्रो देश हुँदै रुस पुगेका छन् । जसमध्ये ६ जनाको मृत्यु भएको छ भने दुई जना युक्रेनी सेनाको बन्धनमा परेका छन् ।


उद्धारका लागि सन्देश पठाउने भएको मारिन्का क्याम्पमा मात्र २८ नेपाली छन् । सबैलाई अलग–अलग समूहमा रुसीसँग मिसाएर ‘रेड जोन’ मा पठाउने तयारी छ । लडाइँमा रुसी सेनाको रक्षाकवचका रूपमा आफूहरूलाई अगाडि धकेल्ने गरेको देखेपछि ‘रेड जोन’ बाटै नेपाली युवाहरूले उद्धारको याचना गर्दै आएका छन् ।

नेपाली सेना, सशस्त्र र प्रहरीबाट राजीनामा दिएर वा अवकाश गएका नेपालीहरू युद्धभूमिमा छन् । उनीहरूलाई रुसी सेनाले पर्याप्त तालिम नदिई युद्धमा पठाउँदै आएको छ । मस्कोदेखि काठमाडौंसम्म फैलिएका मानव तस्करको सञ्जालले नेपालीहरूलाई रुसी सेनामा भर्ती गराउँदै आएका छन् । उनीहरूलाई एक सातादेखि १० दिनसम्म तालिम दिएर ‘रेड जोन’ मा पठाउने गरिएको छ । ‘मलाई १० दिन मात्र तालिम दिएर रेड जोन पठाउन लागेको हो । रेड जोन जानु भनेको ९० प्रतिशत ज्यान जोखिममा राख्नु रहेछ,’ उनको अडियो याचनामा सुनिन्छ ।

‘हामीले रुसी सेनाको भर्तीलाई निकै हलुका ढंगले लिएछौं । अरू देशको सेनामा भर्ती हुने ठानेछौं । केही जोखिम हुन्छ जस्तो लागेको थियो, यहाँ त लगभग पूरै जोखिम रहेछ,’ उनले भनेका छन् । रोस्तोभमा रहेका एक नेपालीका अनुसार करिब ७ सय नेपाली भर्ती भएर विभिन्न क्याम्पमा खटिएका छन् । ‘यहाँ नेपालबाट सिधै मात्र आएका छैनन् । दुबई र रोमानियामा काम गर्ने नेपाली पनि आएको भेटें । पढ्न आएका विद्यार्थी भेटें,’ उनले भने, ‘तालिम लिएका सबैलाई रेड जोनमा पठाइएको छैन । अलि बुढा र भर्खरका युवालाई पोस्टको ड्युटीमा खटाएको पनि छ ।’


आकर्षक तलब र एक वर्षभित्र रुसी नागरिकता पाउने आसमा गएका नेपालीहरू युद्धमा मारिए के अवस्था हुन्छ भन्ने दर्दनाक सन्देश पनि रुसी सेनाले नै दिएको छ । युक्रेनमा मारिएका गोरखाका सन्दीप थपलियाका दाइलाई रुसी सैनिक अधिकारीले यस्तो सन्देश पठाएका थिए, ‘१४ जुलाईको साढे १२ बजे तिम्रो भाइको शव नाभो–ट्यालिस्टीको चिहानघारीमा समाधिस्थ गरिएको छ । मलाई लाग्छ, मैले तिम्रा लागि गर्ने सहयोग यही हो । समवेदना ।’ यसरी आकर्षक तलब र रुसी नागरिकताको आसमा गएका युवाको शवसमेत परिवारले नपाउने गरी कहीं कतै समाधिस्थ गरिएको खबर आउने गरेको छ ।

रुसी सेनामा भर्ती भएका ६ नेपाली मारिएको पुष्टि भइसकेको छ । दुई जनालाई युक्रेनी सेनाले नियन्त्रणमा राखेको छ । घाइतेहरूको विवरण सार्वजनिक भएको छैन । ‘२४ घण्टा नै असिनासरी बम खस्छ । निद्रा लाग्दैन । खान मन लाग्दैन । भाइ मलाई निकाल,’ युद्ध क्षेत्रबाट पठाइएको अर्को एक अडियो सन्देशमा एक नेपालीले भनेका छन् ।

सन्देश प्राप्त गर्ने नेपाली कान्तिपुरसँग भन्छन्, ‘उनीहरू सेनाबाट बाहिर निस्कन चाहेका छन् । अनुनय विनय गरिरहेका हुन्छन्, हामी केही गर्न सकिरहेका छैनौं, विवश छौं ।’ मस्कोस्थित नेपाली दूतावासका अनुसार रुसको विभिन्न सैनिक क्याम्पमा खटिएका नेपाली स्वदेश फिर्ताका लागि सहजीकरण गर्न सम्पर्क गर्नेको संख्या बढिरहेको छ । ‘पछिल्लो एक सातायता विभिन्न समूहको प्रतिनिधित्व गर्दै हामीलाई फर्काइदिनु भनेर सम्पर्क गर्नेहरू बढिरहेका छन्,’ दूतावासका द्वितीय सचिव सुशील घिमिरेले भने, ‘उनीहरूले हामीलाई सम्झौता रद्दका लागि रुस सरकारसँग सहजीकरण गरिदिन आग्रह गरेका छन् ।’

कान्तिपुरको सम्पर्कमा आएका नेपालीहरूका अनुसार रेड जोनमा गइसकेपछि कसैसँग सम्पर्क हुँदैन । उनीहरूलाई फोन दिइँदैन । युक्रेनी फौजले ‘सिग्नल’ बाट ट्रेस गर्छ भनेर हतियार बोकेर मात्र मैदानमा खटाइन्छ । युद्ध मैदानमा कति दिनसम्म खटाइन्छ भन्ने टुंगो हुँदैन । ‘हामी २२ दिनसम्म युद्धस्थलमा खटियौं । त्यहाँ खाना समस्या छैन । जंगल हो । जंगल पूरै हिउँले ढाकिएको हुन्छ । सेतो कपडा लगाएर दुस्मन खोज्न तोकिएको क्षेत्रमा पठाइदिन्छ । टाउको सिधा मात्रै भयो भने गोली खाइन्छ । सबैभन्दा ठूलो डर ड्रोनको टार्गेटमा परिन्छ कि भन्ने हुँदोरहेछ,’ रेड जोनमा घाइते भएर उपचाररत एक नेपालीले कान्तिपुरसँग भने, ‘ड्रोनमार्फत आकाशबाट असिना झरेजसरी बम झर्छ । हामी केही साथी घाइते भयौं । कसैको खुट्टा त कसैको हातमा बम लागेको छ । एक नेपाली साथीको भने मृत्यु भयो ।’

बाँचेर ‘पोस्ट’ मा फर्किएपछि मात्र आफन्तलाई तेस्रो व्यक्तिमार्फत खबर सुनाएको अर्का एक घाइतेले बताए । ‘कमान्डरले एउटा मोबाइल बोकेको हुन्छ । पोस्टमा फर्केर कमान्डर भेटेपछि मात्रै ग्रिन जोनमा बसेको साथीलाई सम्पर्क गर्छौं । ती साथीले घरमा खबर गरिदिन्छ,’ उनले भने, ‘सँगै गएका साथीहरू नभेटेसम्म उसको अवस्था थाहा हुन्न । हामीसँग गएका धेरै साथी सम्पर्कविहीन छन् । कसको के अवस्था छ ? थाहा छैन । धेरै साथीलाई सोध्दा अलि अगाडि देखेको हो । त्यसपछि छैन भन्छन् ।’

‘रेड जोन’ मा खटिएकाहरू आफैं निस्कन सक्तैनन् । उनीहरू एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती भएका हुन् । सेनामा भर्ती भई तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरिसकेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन पाइँदैन । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार रोस्तोभ क्षेत्रमा खटिएका आधुनिक हतियार चलाउन जान्ने ८ नेपाली नोभेम्बर १६ र १७ तारिखमा भागेका छन् । उनीहरू चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा, तिलकबहादुर विश्वकर्मा, दीपक खड्का, लक्ष्मण भट्टराई, जगदीश पहाडी र सुशान्तकुमार रहपाल रहेको त्यहाँका सञ्चारमाध्यमको दाबी छ । मस्कोस्थित नेपाली दूतावासले भने रुसी सेनाबाट भागेका भनिएका ८ नेपाली आफ्नो सम्पर्कमा नआएको जनाएको छ ।

आफ्ना धेरै साथी घाइते भएको अर्का एक नेपालीको भनाइ छ । ‘मलाई बोर्डरमा खटाइएको थियो । मैले फ्रन्टलाइनको खाल्डोमा बसेर कभर गरिराख्ने हो । दुईतिर खाल्डो खनेको हुन्छ । खाल्डो–खाल्डोबाट हिँड्ने हो । टाउको उठायो भने युक्रेनीले उडाइदिन्छ । त्यसबेला जो मर्‍यो मर्‍यो । आफू जोगिने हो । कसैले कसैलाई हेर्ने होइन । बम हानिरहेको थियो । त्यसबाट बच्दै बसियो,’ उनले भने, ‘हाम्रो टोलीमा १५ जना थियौं । धेरै साथी घाइते भए । यहाँ बन्दुकबाट गोली हान्ने त अन्तिममा हुँदोरहेछ । सबै युद्ध ड्रोनबाट चल्दोरहेछ ।’

रेड जोनबाट फर्किएका शिशिर विश्वकर्माले आफूहरूले ‘दुस्साहस’ गरेको बताए । साढे सात लाख खर्चेर उनी अध्ययन गर्न एक वर्ष अगाडि रुस पुगेका थिए । कृषि फार्ममा काम गरेपछि रुसी सेनामा भर्ती भएका थिए । ‘युद्ध रोकिने अवस्था छैन । हिजो हामीले मूर्खता देखायौं । दुस्साहस गर्‍यौं । म कोही पनि नआऊ नै भन्छु । साथीहरूले हातखुट्टा, आँखा, कान केही न केही गुमाएका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...