मुख्य समाचार
७ लाख लिएर रुसी सेनामा पठाइन्थे नेपाली, म्यानपावर सञ्चालक पनि पक्राउ
७ लाख लिएर रुसी सेनामा पठाइन्थे नेपाली, म्यानपावर सञ्चालक पनि पक्राउ

। नेपाली युवालाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ती गराउने लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन् ।

पासपोर्ट बाहकमध्ये कतिपयलाई रुस लैजाने तयारी गिरोहले गरिरहेको एसएसपी खत्रीले बताए ।
अनुसन्धान अधिकृतहरुका अनुसार, सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् । ईश्वरले पनि इन्कारी बयान दिएका छन् ।

तर, उनका दाजु भने नेपालीलाई रुस लैजान प्रत्यक्ष संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । उनको खोजी भइरहेको छ ।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी हुन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् । काठमाडौं प्रहरीका डीएसपी अंगुर जिसीका अनुसार, उनले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।

‘सुरुमा ११ जना र दोस्रो पटक गरेर ७ जना पठाएको भनेका छन्’, उनले भने, ‘पहिले नेपालबाटै पनि उनीहरुलाई लगिएको देखिएको छ । पछि यूएई र भारतबाट लगिएको देखिन्छ ।’

प्रहरीका अनुसार हरिबहादुर पूर्वसैनिक समेत हुन् । उनले ५ वर्षअघिदेखि मेनपावर कम्पनी चलाउँदै आएका थिए । उनले नेपाली सुरक्षा निकायका अधिकृतहरुलाई नै समेत प्रलोभन देखाएर रुस पठाएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, यो गिरोहले रसियामा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेको थियो ।

‘पहिले टिकटक, पछि फेसबुक र अन्य माध्यमबाट ७ लाख जति खर्च हुन्छ, मासिक २ लाख रुपैयाँ कमाई हुन्छ भनेर प्रचार गरेको देखिन्छ’, उनले भने, ‘योग्यता र समयअवधि अनुसार वृद्धि हुँदै जाने भन्ने विभिन्न माध्यमबाट प्रचार भएपछि नेपाली युवा प्रलोभनमा परेको देखिन्छ ।’

कसरी जान्थे रसिया ?

प्रहरीका अनुसार, विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरेर सम्पर्कमा आएका युवाहरुको कागजात एजेन्टले संकलन गरेर ५/१० जनाको समूह बनाएर भिसा प्रक्रिया थाल्ने गरेका थिए ।

त्यसपछि एजेन्टमार्फत रसिया जान लागेका व्यक्तिहरुको पासपोर्ट जम्मा गरेर नेपालस्थित रसियन दूतावासमा अनलाइन फर्म भर्ने गरेका थिए । यसका लागि पक्राउ परेकी सुजाताले सहजीकरण गर्ने गरेको प्रहरीको भनाइ छ ।

पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि र निमन्त्रणा पत्र राख्नुपर्नेमा त्यो कार्ड अनुप दनुवारले बनाएर पठाएको देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीले बताए ।

श्रम कार्यालयबाट सामूहिक रुपमा स्वीकृति लिएर जानुपर्नेमा भिजिट भिसा, नियन्त्रणा पत्र लगायतको आधारमा पठाउने गरेको पाइएको उनी बताउँछन् ।

यसरी रसिया पुगेकामध्ये दुई जना युवा फर्किएर नेपाल आएका छन् । उनीहरु प्रहरीको सम्पर्कमा भएपनि जाहेरी नदिँदा कानुनी प्रक्रिया जटिल बनेको छ । उनीहरुलाई गिरोहका सदस्यले पैसा फिर्ता दिएपछि जाहेरी दिन मानेका छैनन् ।

थप पीडित भए सम्पर्क गरिदिन समेत जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुरोध गरेको छ । ‘यो एउटा सानो पिक्चर मात्र हो, थप आउनै बाँकी छ’, एसएसपी खत्री भन्छन्, ‘थप अनुसन्धानपछि सार्वजनिक गर्छौं ।’ यो गिरोहबाट जम्मा कति जान रुस गएका थिए भन्ने खुलेको छैन ।

पक्राउ पर्ने अन्यमा काठमाडौं, जोरपार्टीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन, बुढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन् ।
त्यस्तै, बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताएका छन्। सिंहदरबारभित्र प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन्। उनले सरकार जनताबाट टाढा हुँदै गएको आरोपसमेत ...
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...