मुख्य समाचार
भारतको हरित क्रान्तिका अभियन्ता : स्वामिनाथनको नेपाल साइनो
भारतको हरित क्रान्तिका अभियन्ता : स्वामिनाथनको नेपाल साइनो

भारतले यसपटक गहुँ तथा चामलको निर्यातमा प्रतिबन्ध लगायो । नेपालसहित विश्वभर खाद्यान्नको भाउ अकासियो । देशभित्र मूल्यमाथि नियन्त्रण पाउन खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउँदा त्यसको असर विश्वभर देखिएको हो । भारत यसरी खाद्यान्न निर्यातक मात्रै नभएर आत्मनिर्भर देश बनेको भने धेरै भएको छैन ।

लामो समयदेखि भोकमरीसँग जुध्दै आएको भारत धान र गहुँमा आत्मनिर्भर भएको ५० वर्ष पुग्न लागेको छ । भारतमा खाद्यान्न संकटको अवस्था कस्तो थियो भने १९६४ मा खाद्यान्न बचाउन तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले ‘सातामा एक दिन व्रत’ बस्न नागरिकलाई आग्रह गरेका थिए । त्यसैलाई भारतमा ‘शास्त्री व्रत’ भन्ने गरिन्छ ।

त्यसअघिसम्म भारतका नीति निर्माताका लागि जनसंख्या र त्यसलाई पर्याप्त मात्रामा पुग्ने खाद्यान्न उत्पादन गर्ने विषय ठूलो चुनौतीका रूपमा रहेको थियो । त्यसलाई अन्त्य गर्न भारतले ‘हरित क्रान्ति’ सुरु गरेको थियो । त्यही हरित क्रान्तिको नेतृत्व गर्ने कृषि वैज्ञानिक एमएस स्वामिनाथनको गत बिहीबार चेन्नईमा निधन भएको छ । उनी ९८ वर्षका थिए ।

’६० देखि ९० को दशकसम्म भारतका विभिन्न संस्थाको नेतृत्व स्वामिनाथनले गरेका थिए । उनलाई संसारले ‘भारतीय हरित क्रान्तिका पिता’ भन्ने गरेको छ । उनको नेतृत्वमा जे जस्ता काम भए, त्यसले भारतलाई खाद्यान्नको प्रमुख उत्पादक देशका रूपमा उभ्याएको थियो । ’६० को दशकमा जनसंख्याका विज्ञहरूले भारतको जनसंख्या र खाद्यान्न उत्पादनको अन्तरलाई हेरेर भोकमरीले जनताको अवस्था भयावह हुने प्रक्षेपण गरेका थिए । खाद्यान्न अभावका कारण वधशालामा मारिने भेडाको जस्तै अवस्था हुन अब बेर नलाग्ने उनीहरूको भनाइ थियो ।





स्वामिनाथनको निधनपछि न्युयोर्क टाइम्सले उनका बारेमा लामो आलेख प्रकाशित गरेको छ । जसमा ’६० को दशकमा प्रकाशित हुने धेरै पुस्तकमा उनले भारतले सबैलाई खुवाउन नसक्ने बताउने गरेको उल्लेख छ । स्वामिनाथनले जे जस्तो काम गरे, त्यसले लाखौं मानिसलाई भोकमरीबाट जोगाएको छ । आनुवांशिक वैज्ञानिक स्वामिनाथनले किसानलाई गहुँ तथा धानका विभिन्न प्रजाति प्रयोग गरेर कसरी उत्पादकत्व बढाउन सकिन्छ भनेर बुझाउने गरेका थिए । उनले सात दशकको व्यावसायिक जीवनमा वाली विज्ञान तथा खाद्यान्न उत्पादनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

युवा वैज्ञानिकका रूपमा उनले तीन महादेशमा काम गरे । सोही क्रममा किसानसँगै हिलोमा पस्नेदेखि प्रयोगशालामा घण्टौंसम्म अनुसन्धानमा बिताउने गर्थे । भारत र विश्वका विभिन्न कृषि अनुसन्धान संस्थाको वरिष्ठ कार्यकारी भूमिकामा रहेर उनले काम गरेका थिए । उनी धेरै देशका विभिन्न आयोगमा बसेका थिए । सन् १९७९ देखि १९८२ सम्म भारतको कृषि तथा सिँचाइ मन्त्रालयको प्रमुख सचिव, योजना आयोगको वरिष्ठ कार्यकारी र मन्त्रिपरिषद्को विज्ञान सल्लाहकार समितिको अध्यक्षका रूपमा उनले काम गरेका थिए । सन् १९८२ देखि १९८८ सम्म इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट (इरी) को महानिर्देशक बनेका थिए ।

‘इरीमा जोडिनुपूर्व उहाँले भारतमा विभिन्न संस्थाको नेतृत्व गर्दै हरित क्रान्तिको नेतृत्व गर्नुभयो,’ इरीमा नेपालका पूर्वप्रतिनिधि रहेका कृष्णदेव जोशीले भने, ‘भारतलाई भोकमरीबाट जोगाउनमा स्वामिनाथनको योगदान अतुलनीय छ । उहाँले आफैंले अनुसन्धानभन्दा पनि भएका अनुसन्धानलाई तल्लो तहसम्म पुर्‍याउन योगदान गर्नुभयो ।’ जोशीका अनुसार प्रयोगशालामा भएको अनुसन्धानलाई नवीनतम तरिकाले छिटोछरितो ढंगले गाउँगाउँमा पुर्‍याउने काम स्वामिनाथनले गरेका थिए । ‘उनीहरूको अनुसन्धान नेपालसँग प्रत्यक्ष सम्बन्धित नभए पनि त्यसको स्पिल ओभर इफेक्ट भने पक्कै परेको छ,’ उनले भने ।

भारत फर्किएपछि स्वामिनाथन राष्ट्रिय वातावरण नीति तयार पार्ने समिति र भूमिगत जल अध्ययनको अध्यक्ष बनाइए । सन् २००८ मा सरकारले उनलाई माथिल्लो सदन राज्यसभाको सांसदमा मनोनीत गरेको थियो । ’६० को दशकको सुरुमै उनी आफ्नो क्षेत्रमा विश्वभर चिनिन थालेका थिए । इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युटको बाली अनुवांशिक वैज्ञानिकका रूपमा कार्यरत रहेर उनले अमेरिकी वैज्ञानिक नर्मन ई. बोरलागसँग काम गरेका थिए । बोरलागले मेक्सिकोमा नयाँ प्रजातिको विकास गरेका थिए । जसले गहुँको उत्पादकत्व निकै बढाएको थियो । ‘बोरलागले गहुँलाई सिन्दुरे रोग प्रतिरोधी बनाउनु भयो भने बाली अग्लो नभई होचो बनाउन लाग्नुभयो,’ जोशीले भने, ‘जसले गर्दा बालीमा बढी मल हाल्दा पनि नलड्ने भयो र बढी उत्पादन दिन थाल्यो । यसअघि रैथाने भने अग्लो हुने र अलिकति मलखाद दिँदा नै लड्ने थियो ।’ बोरलागले भारत र पाकिस्तान दुवैतर्फ परीक्षण गरेको जोशीले बताए ।

न्युयोर्क टाइम्सका अनुसार स्वामिनाथनले नै तत्कालीन अनुसन्धान केन्द्रका प्रमुखलाई बोरलागलाई भारतमा आमन्त्रण गर्नेमा जोड दिएका थिए । सन् १९६३ मा बोरलाग भारत आए र स्वामिनाथनसँग मिलेर पन्जाब र हरियाणामा पुगे । दुवैको साझेदारी परिणाममुखी भयो र स्वामिनाथले बोरलागको प्रजातिसँग मेक्सिको र जापानको प्रजातिसँग क्रस ब्रिडिङ गराए । आनुवांशिक मिश्रणको परिणामस्वरूप कडा डाँठ भएको सेतो प्रजातिको गहुँ सुनौलो रंगमा उत्पादन हुन थाल्यो । ‘नर्मन बोरलागले गहुँमा विकास गरेको जातलाई भारतमा ल्याएर लगाउन धेरै काम गर्नुभयो । त्यसलाई नेपालसहित दक्षिण एसियामा फैलाउनका लागि स्वामिनाथनको भूमिका महत्त्वपूर्ण छ,’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ बाली वैज्ञानिक रेशमबाबु अम्गाईंले भने, ‘भारत र नेपालको हावापानी उस्तै हो । भारतमा गहुँको होचा र नयाँ जात आएपछि नेपालमा पनि आएको हो ।’ अम्गाईंका अनुसार स्वामिनाथन इरीको प्रमुख हुँदा धानका होचा जात विकास गर्न महत्त्वपूर्ण भूमिका खेले । इरीले नै नेपालमा पनि धानको होचो जातको बीउ उपलब्ध गराएको हो । ‘त्यसरी नयाँ प्रजातिको धान र गहुँको विकास हुँदैनथ्यो भने भोमकरी निश्चित थियो,’ अम्गाईंले भने ।

सन् १९६६ मा स्वामिनाथन इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युटको निर्देशकमा नियुक्त भए र आफ्नो पदको प्रयोग गर्दै सरकारलाई १८ हजार टन मेक्सिकन गहुँ आयात गर्न सरकारलाई मनाए । त्यो गहुँले अपेक्षा गरिएजस्तै ३ गुणा बढी उत्पादन दिएको थियो । त्यसबाट प्रभावित भएकी तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वामिनाथनलाई उत्पादन बढाउनका लागि भारतको प्रशासन, अनुसन्धान तथा कृषि नीतिको पूर्वाधारलाई पुनःसंरचना गर्ने जिम्मेवारी सुम्पिइन् । सन् १९७४ सम्म आइपुग्दा गहुँ र धानमा भारत आत्मनिर्भर बन्यो । सन् १९८२ सम्ममा गहुँको उत्पादन करिब ४ करोड मेट्रिक टन पुग्यो । जुन परिणाम ६० को दशकमा भारतले उत्पादन गर्ने परिणामभन्दा झन्डै तीन गुणा बढी थियो ।

बोरलागका कारण संसारबाट १ अर्ब मानिस भोकमरीको चपेटामा पर्नबाट जोगिएको अनुमान गरिन्छ । धेरै मानिसलाई भोकमरीबाट बाहिर निकालेको र संसारलाई खाना खुवाएको भन्दै सन् १९७० मा प्रदान गरिएको नोबेल पुरस्कार ग्रहण गर्दा बोरलागले भारतसँग सहकार्य नभएको भए आफूले पुरस्कार पाउन सम्भव नभएको प्रतिक्रिया दिएका थिए । स्वामिनाथनलाई सम्झिँदै उनले मेक्सिकन प्रजातिको सामर्थ्य बुझेको प्रतिक्रिया दिएका थिए । ‘त्यो नभएको भए एसियामा हरित क्रान्ति हुने सम्भावना निकै कम थियो,’ बोरलागले भनेका छन् ।

कृषि क्षेत्रमा काम गर्नेहरूलाई पुरस्कृत गर्न बोरलागले स्थापना गरेको वर्ल्ड फुड प्राइज पहिलो पटक स्वामिनाथनलाई प्रदान गरेका थिए । राष्ट्रसंघका तत्कालीन महासचिव ह्याभिएर पेरेज डे क्वेयरले स्वामिनाथनलाई विश्व विज्ञानको दुर्लभ प्रजातिको ‘लिभिङ लिजेन्ड’ भन्दै प्रशंसा गरेका थिए । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले विश्वभरको खाद्यान्न आपूर्ति शृंखलामा सशक्त र महत्त्वपूर्ण प्रभाव पार्ने कार्यका कारण स्वामिनाथनको विश्वको खाद्यान्न तथा कृषि समुदायले लामो समयसम्म स्मरण गर्ने बताएका थिए । स्वामिनाथनले भारत र विश्वभरबाट एक सय बढी सम्मान पाएका थिए ।

वर्ल्ड फुड प्राइजबाट प्राप्त २ लाख अमेरिकी डलरबाट उनले चेन्नईमा स्वामिनाथन रिसर्च फाउन्डेसन स्थापना गरेका थिए । सो फाउन्डेसनले भारतको नवप्रवर्द्धन, प्रयोगात्मक विज्ञान र प्रविधिदेखि महिला एवं ग्रामीण विकासमा सहयोग गर्दै आएको छ ।

स्वामिनाथन आलोचनाबाट पनि मुक्त हुन सकेनन् । प्रतिद्वन्द्वी वैज्ञानिकहरूको निसानामा उनी बेलाबखत पर्दै आएका थिए । उनका एक सहकर्मीले ’७० को दशकमा आफूले विकास गरेको गहुँको प्रजातिमा प्रोटिन तत्त्व रहेको भन्दै अतिरञ्जन रूपमा प्रस्तुत गरेर भारतमा लोकप्रिय बनाएको आरोप पनि लगाएका थिए । एउटा सरकारी छानबिन समितिले उनीमाथिको आरोपलाई खण्डन गरेको थियो । औद्योगिक कृषिमा जोड, अत्यधिक मलखाद एवं विषादीको प्रयोगलाई बढावा दिएको र आनुवांशिक रूपमा परिमार्जित खाद्यान्नलाई समर्थन गरेको भन्दै वातावरणवादी समूहले उनको चर्को आलोचना गरेका थिए । स्वामिनाथन र उनका सहकर्मीहरूले भने पूरै जीवन सुरक्षित तथा कम प्रदूषण गर्ने बाली उत्पादन गर्ने अभ्यासमा संलग्न रहेको बताएका छन् ।

सन् १९२५ अगस्ट ७ मा तामिलनाडु प्रदेशको कुम्बाकोनाममा जन्मिएका स्वामिनाथन चार सन्तानमा माइलो थिए । उनी महात्मा गान्धीका अनुयायी थिए । सन् १९४६ मा गान्धीले बंगालमा भएको भोकमरीमा ईश्वरलाई पुकार्दै सबैको घरमा रोटी पुर्‍याइदिन आग्रह गरेपछि स्वामिनाथन कृषि वैज्ञानिक बन्ने अठोट गरेका थिए । बंगालको भोकमरीमा एक वर्षमा ३० लाख मानिसको मृत्यु भएको अनुमान गरिन्छ । त्यसपछि उनी चिकित्साशास्त्रको पढाइ छाडेर कृषि अनुसन्धानमा लागेका थिए ।

तामिलनाडुको प्रमुख कृषि कलेजबाट ग्राजुएसन गरेपछि उनी इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युट दिल्लीमा भर्ना भए । त्यसपछि थप अध्ययन नेदरल्यान्ड्स र इंग्ल्यान्डबाट गरे । क्याम्ब्रिज विश्वविद्यालयबाट उनले १९५२ मा पीएचडी गरेका थिए ।

युवा अवस्थामा स्वामिनाथनले आलु प्रजननमा विशेषज्ञता हासिल गरेका थिए । जसलाई हेरेर अमेरिकाको विस्कन्सिन विश्वविद्यालयले उनलाई पोस्टडकको फेलोसिप उपलब्ध गराएको थियो । उनका सहकर्मी निकै प्रभावित थिए र उनलाई त्यहीं अध्यापनका लागि आग्रह गरियो । तर विश्वविद्यालयको प्रस्तावलाई अस्वीकार गर्दै उनी सन् १९५४ मा इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युटमै फर्किए । ‘मैले आफैंलाई सोधें जेनेटिकको किन अध्ययन गरें भनेर ?’ उनले सन् १९९९ को अन्तर्वार्तामा भनेका थिए, ‘यसले भारतमा पर्याप्त परिणाममा खाद्यान्न उत्पादन गर्छ । त्यसैले म स्वदेश फर्किएँ ।’

उनले हरियाणा र पन्जाबलाई केन्द्रमा राखेर आफ्नो अध्ययन अनुसन्धान र प्रयोग गरेका थिए । जसले पन्जाब र हरियाणालाई भारतको खाद्य भण्डारका रूपमा विकास गर्‍यो । नेपाल र त्यसमा पनि तराईका क्षेत्रबाट शारीरिक श्रम गर्न मलेसिया र खाडीतर्फ जानुअघिसम्म पन्जाब र हरियाणा प्रमुख श्रम गन्तव्यका रूपमा रहेका थिए । ‘इन्दिरा गान्धीको समयमा पन्जाब र हरियाणमा भारत सरकारले बाँध पनि बनायो र नयाँ जातको धान र गहुँ पनि लगाउन थाल्यो । त्यसपछि तराईतिरबाट हरियाणा र पन्जाबका खेतमा काम गर्न कामदारका रूपमा नेपाली जान थाले,’ अर्थविद् सुरेन्द्र लाभले भने, ‘तर अहिले त्यो श्रम शक्ति तराईबाट खाडी र मलेसियातर्फ गइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदानको वितरण कार्यविधि निर्धारण गरी यसबारे मापदण्ड बनाएको हो। सम्बन्धित स्थानीय सरकारको विकासको स्थिति अर्थात् कम विकसित भएको क्षेत्रमा न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८० प्रतिशतसम्म दिन कार्यविधि बनाइएको आयोगको भनाइ छ। अनुदान वितरणको कार्यविधि परिवर्तन गर्नुको मुख्य उद्देश्य समानता कायम गर्न खोजिएको बताइएको छ। यसअनुसार अब वितरण फरक ...
— बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संगठित अपराधको कसुरमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध दायर मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । पहिलो दिन बिहीबार सरकारी पक्ष र जाहेरवालाका तर्फबाट बहस भएको छ । अदालतले थनछेक बहस नगरी प्रतिवादी लामिछानेलाई जिम्माजमानीमा छाडेकामा दुवै पक्षले प्रश्न उठाएका छन् । थुनछेक ...
: हिमाली जिल्ला मुस्ताङमा बुधवार बिहानदेखि निरन्तर बेजोडको हावाहुरी चल्ने क्रम रोकिएको छैन । निरन्तरको हावाहुरीले स्थानीय नागरिकको दैनिकी प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा बेजोडको उत्तरी हावाहुरीका कारण जोमसोम स्थित पर्यटन तथा उद्योग कार्यालयको जस्ताको छानो उडाएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । कार्यालयको जस्ताले छाएको छानो ...
— काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै ...
: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् उक्त दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी छन्। बुधबार भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा चारनेपालीसहित ११ जनाको ज्यान गएको छ । मन्त्री राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ...