एक : लावालस्करसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली उडेको प्रचार हुँदै गर्दा भ्रमण दलको सूचीमा यो पंक्तिकारको समेत नाम समावेश थियो । भारतीय विदेश मन्त्रालयको तर्फबाट जारी गरिने हैदरावाद हाउस प्रवेश पास प्रयोजनका लागि हाम्रो नाम उल्लेख थियो । सूचीमा समावेश भए पनि हामी खासमा भ्रमण मण्डलका सदस्य होइनौं, बरु आफ्नो संस्थाबाट भ्रमणको कभरेजका लागि सबै खर्च र व्यवस्थापनसहित खटाइएका प्रतिनिधि हौं । हामीलाई वितरण गरिएको पासमा भ्रमण मण्डल सदस्य भनेर लेखिएको छैन । तैपनि हाम्रो प्रचार हुन गयो प्रधानमन्त्रीकै टोलीका रुपमा ।
दुई : त्यही पास समेत समयमा पाइएन । हैदरावाद हाउसको गेट नम्बर ३ मा रहेका कर्मचारीसँग अस्थायी पासका लागि आग्रह राख्याैं । काठमाडौंबाट गएको प्रधानमन्त्रीको टिमका सदस्य भन्छन्, ‘दिल्लीस्थित नेपाली दूतावासले समयमा काम गर्न नसक्दा तपाईंहरुले असुविधा भोग्नुपर्यो ।’ दूतावासका कर्मचारी भने आफूहरुलाई विदेश मन्त्रालयले समयमा पास नदिएको, अझ केही नाम काठमाडौंबाट फाइनल हुन बाँकी समेत रहेको भन्दै आफ्नो दोष पन्साउँछन् ।
जे होस् व्यवधानबीच हामी समयमै दुई देशका प्रधानमन्त्रीहरुले छलफल गर्दै गरेको स्थल परिसरभित्र पस्न सक्यौं । हैदरावाद हाउसभित्रका कतिपय प्रक्रिया तथा आन्तरिक गतिविधि नियाल्ने अवसर थियो त्यो । भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता सकेर प्रधानमन्त्री प्रचण्ड बाहिर निस्कँदा हाम्रो आधिकारिक कार्ड बल्ल तयार थियो । प्रवेश पास नभई निष्कासन पासका रुपमा त्यसलाई हातमा लिन पाउनु कम्तीमा हाम्रो दोष थिएन ।
तीन : भ्रमण मण्डलमा गएका उच्च तहका केही नेपाली नेता नै भ्रमणमा उठ्ने एजेन्डाहरुबारे बिल्कुल अनभिज्ञ रहेको पाइयो । प्रधानमन्त्रीका रुपमा आफ्नो चौथो भ्रमण सक्दो सार्थक बनाउन बरु प्रचण्ड आफैं अतिरिक्त खटिरहँदा तालुकदार परराष्ट्र मन्त्रालय सम्हालेका एनपी साउद विषयहरुमा एक हदसम्म बेखबर देखिए । समग्र भ्रमण एजेन्डा निर्धारणमा परराष्ट्रमन्त्रीलाई बाहिर पारिएको हो या उनी स्वयं उदासीन देखिएका हुन् ? यसको जवाफ उनैले देलान् ।
चार : प्रधानमन्त्री प्रचण्ड बसेको होटल मौर्यको चौधौं तलामा बुधबार अपराह्न भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिव विनयमोहन क्वात्रा एकैसाथ पुग्नु आफैंमा अनौठो थियो । उनीहरुलाई स्वागत गर्न यताका समकक्षी त्यहाँ थिएनन् । मुख्यसचिव शंकरदास वैरागी र परराष्ट्र सचिव भरतराज पौडेल डोभाल र क्वात्राको आगमनबारे बिल्कुल बेखबर भएर चाणक्यपुरीकै आसपास बसिरहेका थिए । कारकेडसम्म चियो गर्न पठाउँदा पनि उनीहरु नभेटिएपछि मौर्यको बैठक हलमा उनीहरुलाई स्वागत गर्न पुगिन् प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल ।
बैठकको निकैपछि मात्रै मुख्य सचिव वैरागी र परराष्ट्र सचिव पौडेल आइपुगे । त्यस बेलासम्म कुरा निकै अघि बढिसकेको थियो । भोलिपल्ट मोदी, प्रचण्ड भेटका लागि निर्णायक तयारीको अन्तिम क्षणमा सम्बन्धित नेपाली अधिकारी नहुनुले हाम्रो लापरबाही दर्शाउँछ ।
पाँच : प्रधानमन्त्रीको औपचारिक भ्रमणमा सँगै गएका शिष्टाचार महापालको मूख्य काम कर्तव्य हुन्छ, भ्रमणका सबै प्रोटोकलहरुबारे आफू अवगत हुनु, त्यसै अनुसार प्रधानमन्त्रीका लागि इन्तिजाम गर्नु । यसैका लागि भ्रमणमा चिफ अफ प्रोटोकलका रुपमा सुधीर भट्टराई खटिएका हुन् ।
उच्च तहका संवेदनशील बैठकहरुमा प्रधानमन्त्री प्रचण्डकी प्रमुख स्वकीय सचिवका तस्वीर सर्वत्र भाइरल हुँदै गर्दा नेपाली पक्षका परराष्ट्रमन्त्री साउद या परराष्ट्र सचिव या प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको उपस्थिति देखिंदैन । उनी त्यतै भएपनि तस्वीरहरुमा त्यो प्रतिविम्बित हुँदैन । यो तरिका मिलेन । यस्तो बेला कत्ति पनि धक नमानी शिष्टाचार महापाल भट्टराईले प्रधानमन्त्री र भ्रमण मण्डललाई गर्न हुने, नहुने कुराको बोध गराइदिनुपर्छ ।
छ : तस्वीर खिच्नै पर्छ र ? जस्तो कि दिल्लीको मेट्रोमा अहिले तस्वीर खिच्न निषेध गरिएको रहेछ । कारण मेट्रो स्टेशन र लाइनमै फोटो भिडियो खिच्ने हुँदा दुर्घटनाहरु हुन थालेछन् । कति चिजलाई तस्वीरभन्दा पर्तिर रहन दिएकै बेस ।
तर हाम्रो भ्रमण मण्डलका केही सदस्यलाई महात्मा गान्धीको समाधिस्थलमा गएर पनि फोटो नै खिच्ने रहर जाग्यो । नेपालमा आफूले शहीदको सम्मानमा मौनधारण गर्दा पनि सेल्फी हान्न खोज्ने प्रवृत्ति छ । केही प्रतिनिधिले एकातिर गान्धीको बेइज्जती गरे, अर्कातिर देशको । आफ्नै इज्जतको बारेमा चाहिं उनीहरु स्वयं जानुन् ।
सात : नेपाल दूतावासको रात्रिभोजमा वरिष्ठ पत्रकार भारत भुषणको बिजोग कसैले देखेको भए उसले भन्ने थियो, भाग भारत भाग । नेपालका पत्रकारहरुबीच असाध्यै सम्मानित भारत भुषण आफ्नो सम्पूर्ण विनयशीलतासहित यो पंक्तिकारसँग एउटा टेबुलमा भलाकुसारी गरिरहेका थिए । त्यही बेला लाइभ घुसपैठ गर्न आइपुगे नेपाली टीभी प्रस्तोता । तपाईंले जसको नाम अनुमान गर्नुभयो, उनी तिनै हुन् । ऋषि धमलाले हमारे पास भारतका जानेमाने पत्रकार भारत भुषण है भनेर बुम तेर्स्याउँदा भारत भुषण भाग्न पो थाले । अन्त कहाँ जाने ? उनी हाम्रै टेबुल वरिपरि फनफनी घुम्न थाले । भारत अघिअघि, ऋषि पछिपछि ।
आठ : भारतीय राष्ट्रपति द्रौपदी मुर्मु भेट्न प्रधानमन्त्री मौर्यबाट प्रस्थान गर्ने निर्धारित समयमा केही उच्च अधिकारी नै छुट्न पुगे । चौधौं तलाबाट ओर्लेर प्रचण्ड लबीमा धेरैसँग फूलमाला ग्रहण गरिसक्दा पनि उनीहरु आइपुगेनन् । प्रचण्ड राष्ट्रपति भेट्न हिंडेको १५ मिनेटपछि भुइँतलामा आइपुगे ती उच्च अधिकारी । त्यसपछि उनका लागि कठिन भयो, फुर्सद व्यवस्थापन गर्न ।
नौ : सञ्चारमाध्यममा खबर फैलिइसकेको थियो, काठमाडौं रक्सौल अन्तरदेशीय रेलमार्गको फाइनल लोकेसन सर्वे प्रतिवेदन नेपाली पक्षलाई बुझाउन अस्वीकार गर्यो । यो सूचना प्रवाह गरेका थिए, स्वयं नेपाली पक्षका अधिकारीहरुले ।
प्रधानमन्त्रीको सचिवालयले यसबारे विस्तृत चासो राख्यो । जबकि बुझ्दैजाँदा थाहा भयो, भारतीय पक्षले प्रधानमन्त्रीको भ्रमणभन्दा पहिले नै उक्त प्रतिवेदन नेपाल दूतावासलाई बुझाइसकेको रहेछ । नेपाली पक्षबाट कमेन्ट पठाउनै बाँकी भएपछि प्रतिवेदन बुझाउने कार्यसूची नै अलपत्र पर्न गयो ।
दश : हैदरावाद हाउसको दुईपक्षीय सम्झौता, उद्घाटन, शिलान्यास आदिमा पत्रकारले प्रधानमन्त्रीहरुलाई प्रश्न सोध्न पाउँदैनन् । सोही अनुरुप मोदी र प्रचण्डले बोलेपछि कार्यक्रम स्वतः सकियो ।
त्यसको एकैछिनमा भारतीय विदेश सचिव क्वात्राले दुई प्रधानमन्त्रीहरुको बैठकका छलफल र निर्णयबारे साउथ ब्लकमा पत्रकार सम्मेलन गरेर सबै बताइदिए । प्रश्नोत्तर पनि भयो ।
नेपालबाट परराष्ट्रमन्त्री, परराष्ट्र सचिव, प्रधानमन्त्रीका मूख्य सल्लाहकार सबै गएका थिए । चाहेको भए उनीहरुले पनि दुई प्रधानमन्त्रीको भेटबारे नेपाली पक्षको बुझाइ व्यक्त गर्न सक्थे । त्यस्तो कुनै प्रयास भएन । बरु प्रचण्ड आफैंले शुक्रबार बिहान इन्दोर उड्नुअघि केही सम्पादकसँग दिल्लीमा ब्रिफिङ गर्न पुगे । केही मेहनती अधिकारीहरुलाई छाड्ने हो भने प्रधानमन्त्रीको उच्चस्तरीय टिम केवल पर्यवेक्षक मात्रै प्रतीत हुन्थ्यो ।
एघार : अब सामान्य अवस्थामा ईपीजी प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने छैनन् । ईपीजीको शब्द सुनिसक्दा भारतका नेता, अधिकारी बिच्किँदा रहेछन् । यो पंक्तिकारले भारतको सत्तापक्षका नेता, अनि उच्च तहका अधिकारी र पूर्वराजदूत तथा कर्मचारीहरुसँग गरेका छलफलहरुको निष्कर्ष के हो भने अब १९५० को सन्धि पुनरावलोकनका विषयमा हुने छलफल प्रबुद्ध व्यक्तिहरुको समूह ईपीजीको साझा निष्कर्ष र सुझावभन्दा भिन्न शिराबाट हुनसक्छ । नेपालका लागि पूर्वराजदूत रणजित रायले त मुखै फोरेर भने, ‘अहिले प्रतिवेदन बुझ्न सम्भव छैन भन्ने बुझिसकेपछि पाँच वर्षदेखि एउटै रटना लगाएको लगायै गर्नुको अर्थ छैन ।’
एकातिर मोदी स्वयंले भारत र नेपालबीच सीमा लगायत समस्या रहेको यथार्थबोध गर्नु, अर्कातिर उनको टोलीले यसबारेमा दुवै देशको तर्फबाट गठन गरिएको टोलीले तयार पारेको साझा निष्कर्षलाई ग्रहण समेत गर्न नचाहनुको अर्थ के होला ? यस्तो शैलीले सम्बन्ध सुपरहिट होला ?
बाह्र : सिमाना कृत्रिम हो, तर यथार्थ हो । नेपाली सिमानामा वर्षौंयता भारतीय बलमिच्याइँ छ भन्ने तथ्य खोज्न टाढा जानुपर्दैन । नक्साहरुलाई यथार्थपरक भएर तथ्यगत अध्ययन गर्ने हो भने यसबारे प्रष्ट भइहालिन्छ । आशा गरौं, भारतीय पक्षले पनि तथ्य र प्रमाणहरुलाई पर्गेल्ने अवसरबाट बन्चित नहोस् ।
सिमाना समस्यालाई मोदी स्वयंले स्वीकार गर्नु, अब संयन्त्र बनाएर हल खोज्ने आकांक्षा राख्नु मनासिव छ । यही बेला नेपालका प्रधानमन्त्री प्रचण्डले अति उत्साही भएर अतिक्रमित कालापानी क्षेत्र छाड्नसक्ने, बरु त्यसको विकल्पमा बंगलादेश छिर्ने पूर्वी नाकामा निर्बाध नेपाली प्रवेशको विकल्पबारे सोच्न सकिने बताउन पुगे । जबकि भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल हुँदाको बखतमै नेपालले बंगलादेशको बाटोमा पहुँच पाइसकेको थियो । यसमा भारतले अतिरिक्त केही गर्नुपर्दैन । विगतको सरकारको अविच्छिन्न उत्तराधिकारीका रुपमा कार्यान्वयन र थप सहजीकरण गरिदिए पुग्छ । कालापानीसँग सट्टापट्टा गर्ने कुरा होइन यो ।
सम्झौताको टेबुलमा बस्दा व्यावहारिक हुनु राम्रो हो, व्यवहारवादी हुँदा चाहिं मूल्य चुकाउनुपर्ने हुन सक्छ । विगतमा कहिले चेकपोस्ट राखेर, कहिले अरु कुनै बहानामा भूमि अतिक्रमण गरेको भारतले कालापानीमा नयाँ स्वीकारोक्ति सहित आउनुपर्ने हुन्छ । किनभने त्यो इतिहासका तथ्यहरुमा आधारित विषय हो । यसबारे नेपालका प्रधानमन्त्री किन हतारमा बोल्न पुगेका होलान् ? कतै हिमालयको उचाईमा नेपाल भारत सम्बन्ध पुगेको व्याख्यामा उनी बढ्तै फकिएका त होइनन् ? उनले नेपाल फर्केर यसबारे प्रष्ट पार्नैपर्छ ।