विराटनगरको कोसी अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा बालिका
विराटनगरको कोसी अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा बालिका

विराटनगर : विराटनगरको कोसी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् ।


सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगत चौधरीले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । छातिदेखि पेटसम्मको भाग जोडिएका दुवै सन्तान छोरी हुन् । जन्मिँदा तौल ३.४ किलोग्राम थियो ।

स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छातिदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । टाउको, मुख, आँखा, नाक, कान, हात र खुट्टालगायतका बाहिरी अंगहरु जोडिएका छैनन् । जुम्ल्याहा जन्माएकी महिलाले प्रष्टसँग आफ्नो घर–ठेगाना बताउन सकिरहेकी छैनन् ।

परिवारका सदस्य र आफन्त पनि अस्पतालको सम्पर्कमा आइपुगेका छैनन् । जसका कारण घर–ठेगाना,परिवारका सदस्य,आफन्तदेखि लिएर सुत्केरीको अन्य पृष्ठभूमि यकिन गर्न अस्पताललाई मुस्किल परिरहेको छ ।

उनी आफू सिरहाको लाहानमा डेरा गरेर बस्ने र पति (श्रीमान) आनन्द भगत चौधरीले त्यहीँ मिठाई बनाउने काम गर्ने गरेको बताउँछिन् । उनले आफू बिरामी परेपछि छिमेकी राधादेवी मण्डलले अस्पतालसम्म ल्याइदिएको र छोरा बिरामी परेकाले उनी पनि फर्किएर गएको बताइन् । ‘मलाई यस्तो भएको सुनेपछि अर्काको मोटरसाइकल मागेर श्रीमान आउँदै हुनुहुन्थ्यो । तर, दुर्घटनामा परेर राजविराज अस्पतालमा भर्ना हुनु भयो भन्ने सुनें,’उनले भनिन्, ‘उहाँको खुट्टा भाँचियो अरे । अरु आफन्तले हामीलाई सहयोग गर्दैनन् ।’

उनले यसअघिका आफ्ना २ सन्तान छोरी रहेको बताइन् । ‘एउटी १० वर्षजति कि छ । उसले केही सहयोग गर्नसक्ने कुरै भएन,’उनी भन्छिन्, ‘अर्कीको बिहे भइसक्यो । उसको पनि नानी हुँदैछ ।’

null

अस्पतालको बेडमा जुम्ल्याहा सन्तानको स्याहार गर्दै सुत्केरी आमा । तस्बिर : किशोर बुढाथोकी

चिकित्सकको निगरानीमा जुम्ल्याहा सन्तानसहित उनलाई प्रसूति वार्डमा राखेर अस्पतालले नै उपचार गरिरहेको छ । अरु बिरामीका कुरुवाले उनको स्याहार गरिदिन्छन् । जुम्ल्याहालाई दूध खुवाउन मद्धत गर्छन् । कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहका अनुसार सुत्केरीको आर्थिक अवस्था अति नै कमजोरजस्तो देखिन्छ ।

‘सुत्केरी व्यथाले च्यापेर अवस्था अन्तिम बनिसकेपछि अस्पताल भर्ना गरिएको थियो,’ उनले भने, ‘शल्यक्रियामार्फत् प्रसूति गराएर शरीर जोडिएका जुम्ल्याहा बच्चा बाहिर निकालिएको हो ।’ स्वास्थ्य अवस्था नाजुक देखिएपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञको टोलीले तत्काल शल्यक्रिया गरिदिएको उनको भनाइ छ ।

‘अस्पतालमा अहिले सुत्केरी र उनीबाट जन्मिएका जुम्ल्याहा सन्तान मात्रै छन् । शल्यक्रिया गरेको ५ दिन भइसक्दा पनि परिवारका सदस्य र आफन्त सम्पर्कमा आएका छैनन्,'डा. सिंहले भने, ‘अस्पताल ल्याएर एकजना महिलाले छाडेर गएको पाइयो । महिलालाई अस्पतालसम्म ल्याउनेका बारेमा पनि थाहा हुन सकेको छैन ।’

अस्पतालले आफ्नै खर्चबाट सुत्केरी र जुम्ल्याहा शिशुको हेरचाह, स्याहार एवं उपचार गरिरहेको जानकारी उनले दिए । अस्पतालका अनुसार सुत्केरीका बारेमा थाहा पाउने कोहीपनि सम्पर्कमा नआएका कारण आगामी दिनमा थप समस्या हुने देखिन्छ ।

गर्भवती अवस्थाकी उनलाई यही वैशाख २१ गते बिहीबार बिहान ११ बजेतिर अस्पतालमा भर्ना गरिएको निमित्त मेसु सिंहले बताए । अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवको नेतृत्वमा डा. मधुमीता राभा, डा. प्रकृति आचार्य र एनेस्थेसिया डा. राजकुमार यादवसहितको चिकित्सक टोलीले बिहीबार १२:३० बजेतिर उनको शल्यक्रिया गरिदिएको हो ।

कोसी अस्पतालको प्रसूति तथा स्त्रीरोग विभाग प्रमुखसमेत रहेकी डा. देवका अनुसार भिडियो एक्स–रे गरेर हेर्दा गर्भमा शरीर जोडिएका बच्चा रहेको पत्ता लाग्यो । ‘कोसी आउनुअघि अर्कै अस्पतालमा पनि भिडियो एक्स–रे गर्दा जोडिएका बच्चा रहेको पत्ता लागेछ । त्यसपछि कोसी रेफर गरेर पठाइएको पाइयो,’उनले भनिन्,‘बिरामीको अवस्था अन्तिम बनिसकेको थियो । तत्काल शल्यक्रिया गरेर जीवितै जुम्ल्याहालाई बाहिर निकालियो ।’

डा.देवका अनुसार गर्भ बसेको ४–५ महिनामा ‘स्पेशल’ भिडियो एक्स–रे गर्दा पेटभित्र रहेको बच्चाको अवस्थाका बारेमा थाहा हुन्छ । तर, ती महिलाले सुत्केरी व्यथा लागेपछि मात्रै पहिलोपटक भिडियो एक्स–रे गरेको र त्यसअघि नगरेका कारण बच्चाको अवस्था थाहा हुन नसकेको उनको भनाइ छ ।

‘शरीरको भाग जोडिएका जुम्ल्याहा जन्मिनुलाई नयाँ र अनौठो घटना मानिन्छ । यथार्थमा यस्ता घटना एकदमै कम हुन्छन्,’उनी भन्छिन्, ‘चिकित्सकीय क्षेत्रका लागि भने नौलो होइन । अध्ययनकै शिलशीलामा यस्ता ‘कम्प्लिकेसन’का बारेमा पढ्नुपर्ने हुन्छ ।’

त्यही अनुभवका आधारमा जटिल शल्यक्रियामार्फत् शरीर जोडिएका जुम्ल्याहालाई बाहिर निकाल्न सफल भएको चिकित्सक बताउँछन् । यस्तो बच्चा जन्माउनबाट रोक्न आजकाल धेरै प्रविधि छन् । ‘गर्भ बसेपछि चिकित्सकको सल्लाह अनुसार समय–समयमा भिडियो एक्स–रे गराउनुपर्छ । त्यसले पेटभित्रको बच्चाको अवस्था थाहा हुन्छ,’ डा. देवले भनिन्, ‘भिडियो एक्स–रेमा बच्चा अस्वभाविक देखिए तत्काल उपचार सुरु गरिन्छ । गर्भवतीलाई जोखिम हुने भयो भने शल्यक्रिया गरेर निकालिन्छ ।’

उनका अनुसार शरीर जोडिएको जुम्ल्याहा जन्मिनुलाई चिकित्सकीय भाषामा ‘कन्जोइन्ट ट्वीन्स’ भनिन्छ । ‘सामान्यतया एउटा भ्रुणले एउटा बच्चा जन्मिन्छ । त्यसरी नै गर्भमा भ्रुणको विकास भएको हुन्छ,’ उनी भन्छिन्, ‘तर, एउटा भ्रुण आधाआधा भइदियो भने दुईवटा बच्चा जन्मिने सम्भावना हुन्छ । छुट्टाछुट्टै जुम्ल्याहा वा शरीर जोडिएका पनि जन्मिन सक्छन् ।’ राम्रोसँग विकास नभइकन भ्रुण विभाजित भइदियो भने जुम्ल्याहा सन्तान जन्मिने डा. देवले बताइन् ।

तर, शरीर जोडिने जुम्ल्याहाको जन्मलाई भने दुर्लभ मानिन्छ । उनका अनुसार एकदमै दुर्लभ मानिने यस्तो घटना ५० देखि ६० हजारमध्ये १ जनामा हुन्छ । यस्ता शिशुको बाँच्नसक्ने क्षमता ५ देखि २५ प्रतिशत मात्रै हुने जानकारी उनले दिइन् ।

उनका अनुसार शल्यक्रिया गरेर अलग गराउन सकिएन भने प्राय १ वर्षभित्रमा यस्ता बच्चाको मृत्यु हुने हुन्छ । ‘जुम्ल्याहा जन्मिँदा शरीर जोडिने सम्भावना प्राय छोरीमा बढी हुन्छ । अहिले जन्मिएका पनि छोरी नै हुन्,’ वरिष्ठ प्रसूति एवं स्त्रीरोग विशेषज्ञ डा.देवले भनिन्,‘शरीरको भित्री अंगहरु जोडिएका रहेनछन् भने शल्यक्रिया गरेर अलग गराउन सकिन्छ । नत्र बचाउन मुस्किल पर्छ ।’

कोसी अस्पतालमा भने यस्तो शल्यक्रिया सम्भव नहुने जानकारी उनले दिइन् । उनका अनुसार शल्यक्रियाअघि वृहत परीक्षण गरेर शरीरको भित्री अंगको अवस्थाका बारेमा जानकारी लिइन्छ,सबै कुरा पत्ता लगाइन्छ । ‘आन्द्रा, मुटु, कलेजोलगायत शरीरका भित्री अंगहरु अलगअलग भएमा मात्रै जोडिएका जुम्ल्याहालाई शल्यक्रियामार्फत छुटाउन सकिन्छ । तर, कुनैको भित्री अंगहरु एउटै पनि भइदिन्छन्,’ डा. देवले भनिन्, ‘अंगहरु जोडिएका छन् कि अलगअलग छन्भन्ने कुरा वृहत परीक्षणपछि मात्रै थाहा हुन्छ । बिना परीक्षण केही भन्नै सकिँदैन ।’

भित्री अंग अलगअलग नहुनेको बाँच्नसक्ने क्षमता कम हुने उनको भनाइ छ । उनका अनुसार पूरै परीक्षण गरेर हेरेपछि मिल्ने रहेछ भने मात्रै शल्यक्रिया गरिन्छ । सुत्केरीको आर्थिक अवस्था कमजोरजस्तो देखिएकाले दाताको सहयोग बिना शरीर जोडिएका जुम्ल्याहाको उपचारमा समस्या हुनसक्ने डा. देव बताउँछिन् । ‘उपचार एवं हेरचाहमा सहयोग गर्न ओरेक नेपाललगायतका संघ संस्थासँग समन्वय गरिरहेका छौँ । मद्धत चाहियो भनेका छौँ,’ उनले भनिन्, ‘अस्पतालले डिस्चार्ज दिइसकेपछि अरु सहयोग गर्ने आश्वासन आएको छ । यस्तो बेला सुत्केरी र सन्तानलाई निक्कै हेरचाह र स्याहारको आवश्यक पर्छ ।’

डा. देवका अनुसार शरीर जोडिएका जुम्ल्याहाको स्वास्थ्य अवस्था सामान्य भए पनि आमाको भने नाजुक छ । सुत्केरीलाई उच्च रक्तचापको समस्यासँगै शरीरमा प्रोटिन र रगतको कमी रहेको उनले बताइन् । तर, उपचार जारी राखिएका कारण सुत्केरीको अवस्था सामान्य बन्दै गएको उनको भनाइ छ ।

‘अहिलेसम्म जुम्ल्याहाको स्वास्थ्य सामान्य छ । खानेकुरा खाइरहेका छन्,’ डा. देव भन्छिन्,‘त्यसले शरीरको भित्री अंग अलगअलग छन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अहिले प्रारम्भिक उपचार गर्ने र थप उपचारका लागि सर्जनको जिम्मा लगाउने तयारी छ ।’

तर,आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा रेखदेखमा समस्या भइरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वीरगन्ज महानगरपालिकामा डेंगी संक्रमण बढ्दै गएको छ । यस वर्ष साउनको अन्तिम सातादेखि आइतबारसम्ममा महानगरमा ५७ डेंगी रोगी देखिएका वीरगन्ज महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिलकुमार यादवले जनाए । उनका अनुसार, साउनमा २, भदौमा ३८ र असोजमा १७ गरी कूल ५७ डेंगी रोगी फेला परेका हुन् । उनीहरु वीरगन्जका विभिन्न अस्पताल तथा चिकित्सकको सम्पर्कमा पुगेका छन् ...
— पाँचथर जिल्ला अस्पतालमा पहिलो पटक गेडीको सफल प्रत्यारोपण गरिएको छ । जसलाई चिकित्सकको भाषामा हेमी रिप्लेसमेन्ट आर्थोपोलोजी भनिन्छ । चिकित्सकहरुका अनुसार गेडी प्रत्यारोपण र यसको पूर्व तयारीमा गरिने अप्रेसनलाई जटिल प्रकृतिको मानिन्छ । यसअघि यो अप्रेसन कोशी अञ्चलका कुनै सरकारी अस्पतालमा भएको थिएन । देशभरका जिल्ला अस्पतालहरुमा गेडीको सफल प्रत्यारोपण गर्न पाँचथर अस्पताल पहिलो पटक ...
— सरकार र स्वास्थ्यकर्मीबीच सहमति भएको २४ घण्टा बित्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिट भएको छ । उपचारका लागि केएमसी आएका बिरामीका आफन्तले डा. मनीष खड्कामाथि हातपात गरेको अस्पतालले जनाएको छ । कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले सिनामंगल क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए । ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिएको डा. हेमा चन्दले जानकारी दिइन् । मिर्गौलाको ...
— ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर चाबहिलमा विपन्न, असहाय, बेवारिस बिरामीको निःशुल्क उपचारका लागि शय्या छुट्याएको कोठामा ताला लगाइएको छ । तर, अस्पतालले २०७९ साउन २६ मा ६५ हजार ८ सय ९९ अमेरिकी डलर पर्ने इको कार्डियोग्राफी मेसिन भन्सार छुटमा ल्याएको थियो । काठमाडौं महानगरपालिकाले मापदण्डबमोजिम कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसका लागि निःशुल्क नगरेको ...
— देशभरका चिकित्सकलगायत स्वास्थ्यकर्मीले चार दिनदेखि गरेको आन्दोलनले सर्वसाधारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । देशभरका अधिकांश अस्पतालको सेवा अवरुद्ध बनेको छ । आकस्मिक सेवा मात्रै सञ्चालन गर्ने डाक्टरहरूले घोषणा गरेका छन् । वीर अस्पतालमा उपचारको प्रतीक्षामा रहेका धादिङका टंकलाल अर्यालले तोकिएको दिनमा डाक्टर भेट्न नपाएको गुनासो गरे । ‘शरीर सुनिएर वीरमा उपचार गराएर डिस्चार्ज भएको थिएँ, डाक्टरले ...