मुख्य समाचार
नाका खुलेको पहिलो दिन ५४ कन्टेनर केरुङ पुगे
नाका खुलेको पहिलो दिन ५४ कन्टेनर केरुङ पुगे

— पूर्णरूपमा रसुवागढी नाका खुलेको पहिलो दिन लोड भएका र खाली गरी ५४ कन्टेनर केरुङ पुगेका छन् । सामान लोड भएका २२ र खाली भएका ३२ कन्टेनर केरुङ पुगेका हुन् । शनिबार बिहानदेखि रसुवागढी नाका कोभिडभन्दा अगाडि जस्तै गरी मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन आएको हो ।

रसुवागढी नाका चीनतर्फको भूभागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा दुवै देशका अधिकारीले औपचारिक कार्यक्रम गरेर शनिबारदेखि पूर्णरूपमा रसुवागढी नाका खुलेको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए । रसुवागढी नाकाबाट आंशिक रूपमा आयात–निर्यात हुँदै आएको थियो ।

नाकाबाट हुने सामान निर्यात पनि ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । यसअघि नाकाबाट प्रतिदिन चिनियाँ १४ कन्टेनरले सामान नेपालतर्फ ल्याइदिने गरेका थिए । निर्यात हुने सामान पनि तिनै कन्टेनरले लैजान्थे । शनिबार पैठारी भएका २२ कन्टेनरमा मूर्ति, कार्पेट, बाँसको मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायत वस्तु रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । शनिबार रसुवागढी नाकाबाट २५ जना आएको र १२ जना गएको पनि अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । अध्यागमन कार्यालय रसुवागढीले जारी गर्दै आएको नेपाल–चीन सीमा क्षेत्रका नागरिकका लागि प्रस्थान प्रवेश अनुमतिपत्र लिएका २ सय ४० जनाको नवीकरण पनि शनिबार भएको छ ।

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रे बैठकले ल्हासामा गत बुधबार आयात निर्यात गर्ने सहमति गरेपछि रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएको हो । बैठकले रसुवागढीबाट निकासी पैठारी र मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नवराज ढकालले बताए । अब सीमा क्षेत्रमा व्यवसायीले कुनै किसिमको समस्या भोग्नुनपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको भनाइ छ । तातोपानी नाका पनि एक महिनापछि पूर्णरूपमा खुल्ने चिनियाँ अधिकारीले जनाएका छन् । रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएपछि व्यवसायी, सीमा क्षेत्रका बासिन्दा तथा सरोकारवाला उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हिमाली जिल्ला मुस्ताङमा १२ महिनाको अवधिमा ४ लाख २५ हजार ९६४ जना पर्यटक भित्रिएका छन्। २०८० को वैशाखदेखि चैत महिनाको अन्तिमसम्म बेनी–जोमसोम सडकमार्ग तथा पोखरा–जोमसोम हवाईमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको रेकर्डका लागि म्याग्दी र मुस्ताङको सीमाना घाँसा ...
। अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ भने खरिदर मूल्य १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा डलरको मूल्य १३ पैसा बढेको हो भने यो मूल्य हालसम्मकै उच्च हो । इरान र इजरायलको ...
। अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २३ पैसा कायम भएको छ । इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्न लिएको ऋणको चैतको किस्ता भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नेवानिले चैत महिनाको किस्ता भुक्तानी गरेको हो । नेवानिले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न ती दुई कोषबाट ऋण लिएको थियो । नेवानिका अनुसार दुई न्यारोबडी जहाजको चैत ...
: पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।