इक्वेडर : इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सो भूकम्पमा कम्तीमा १३ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।
युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्पका कारण देशका धेरै सहरका भवनमा क्षति पुगेको छ । अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्त भएको छ। त्यहाँ ११ जनाको मृत्यु भएको छ । योसँगै अजुए प्रान्तमा एक जनाको मृत्यु भएको जनाइएको छ ।
उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । इक्वेडरको आपतकालीन सेवाले घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार गर्ने काम तीव्र गतिमा भइरहेको बताएको छ ।
भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा बालाओमा रहेको बताइएको छ । घना बस्ती भएको ग्वायाकिलको जनसंख्या करिब ३० लाख छ।
इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले उद्धारकर्मीहरू उद्धार कार्यमा संलग्न रहेको र भग्नावशेषमा फसेका मानिसहरूलाई जतिसक्दो चाँडो बाहिर निकालिने बताए। घाइतेमध्ये केहीको अस्पतालमा उपचार भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । तर, कार्यालयले न त घाइतेहरुको विवरण दिएको छ न त उनीहरुको बारेमा कुनै जानकारी दिएको छ । बीबीसी