काठमाडौंः नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
संसदीय दलको बैठकले कार्यसम्पादन समितिको बैठक अनुसार प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको लेखकले बताए । बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्दै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन सफलताका साथ सम्पन्न गर्न भूमिका खेल्ने सबैप्रति धन्यवाद दिने निर्णय गरेको उनले जानकारी दिए।
बैठकले नेपाली क्रिकेट टोलीको सफलताका लागि खेलाडीलाई बधाई दिने र क्यान प्रशिक्षक लगायत सबैलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको उनले जानकारी दिए।
आइतबार संसद् भवन नयाँ बानेश्वर बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मन्त्री छान्न चारवटा मापदण्डलाई आधार बनाएको छ । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान,समावेशीता र प्रादेशिक सन्तुलनलाई आधार मानिने बताए ।