मुख्य समाचार
जापान पठाइदिने भन्दै लाखौं ठगी
जापान पठाइदिने भन्दै लाखौं ठगी

: वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेर मोरङको सुनवर्षीका एकै परिवारका ४ जना फरार भएका छन्।

राम्रो कमाई हुने प्रलोभन देखाउँदै जापान पठाइदिने भनेर सर्वसाधारणसँग रकम असुल्दै आएका सुनवर्षी नगरपालिका-६ का अजय राजवंशी, उनका भाइ रञ्जित राजवंशी, बहिनी विद्या राजवंशी र बुहारी (रञ्जितकी पत्नी) अनुराधा राजवंशी फरार बनेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

प्रशासनका अनुसार अजयको अगुवाइमा विभिन्न व्यक्तिसँग २ करोड ७९ लाख २० हजार रूपैयाँभन्दा बढी रकम असुली गरेको देखिन्छ। पीडित मोरङको सुनवर्षी र रंगेली नगरपालिका तथा कटहरी गाउँपालिकाका छन्।

आफूहरूसँग असुलेको रकम फिर्ताका लागि पहल गरिदिनुपर्ने र ठगी गर्नेलाई कारबाही हुनुपर्ने माग गर्दै पीडितले प्रशासनमा उजुरी दिएपछि यो विषय बाहिर आएको हो। वैदेशिक रोजगार सम्बन्धी ठगीमा परेकालाई न्यायका लागि सहजीकरण गर्दै आएको संस्था आप्रवासी स्रोत केन्द्रमार्फत ४१ जना पीडितले बिहीबार मोरङ प्रशासनमा उजुरी दिएका हुन्।

नेपाल सरकार र स्वीस सरकारबीच सम्झौता भएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार हुँदै स्थानीय तहद्वारा विराटनगर महानगरपालिकामा सञ्चालित यो संस्थाले वैदेशिक रोजगारमा जानेलाई विभिन्न सूचना दिने, पीडितको न्याय र विदेश जानेलाई सीपका लागि सहजीकरण गर्ने काम गर्छ। केन्द्रकी परामर्शकर्ता मुना कोइराला (निरौला)का अनुसार जापान पठाइदिने भन्दै अजयसहितको समूहले ६ महिनाअघिदेखि रकम असुल्न थालेको पाइएको छ।

‘१ जनासँग ५ लाखदेखि १६ लाख रूपैयाँसम्म असुलेको पाइयो,’ उनले भनिन्, ‘ठगीमा पर्नेको संख्या अझै धेरै हुनसक्छ।’ निरौलाका अनुसार ३ साताअघिसम्म रकम असुलेर राजवंशी परिवारका चारै जना सम्पर्कविहीन भएको पाइएको छ।

‘विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको छ,’ उनले भनिन्, ‘रकम असुल्ने कामको नेतृत्व अजय राजवंशीले गरेको देखिन्छ।’

उनका अनुसार पीडितहरूले विभिन्न बैंक खातामा रकम जम्मा गरिदिएको भौचरसहित उजुरी दिएका छन्। अजयले चितवन घर भएका राजन अधिकारीको नाममा समेत पैसा जम्मा गर्न लगाएको पाइएको निरौलाले बताइन्। उनले भनिन्, ‘विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गरेको देखिन्छ । त्यसको प्रमाणसहित पीडितहरु न्याय माग्दै आइपुग्नु भएको छ ।’

सुनवर्षी-५ का दिपेशकुमार राजवंशी, सुनवर्षी-९ का रमेशकुमार राजवंशी, योगेश राजवंशी, हरि राजवंशी, रंगेली-८ का राजेश्वर राजवंशी, कटहरी गाउँपालिका-२ का विजयकुमार राजवंशीलगायतका पीडितले प्रशासनमा उजुरी दिएका हुन् ।

उनीहरूका अनुसार आफूहरू ठगिएको चाल पाएपछि रकम फिर्ताको माग गर्दै घरमा पुग्दा अजयसहित परिवारका कोही पनि भेटिएनन्।

‘राम्रो कमाई हुने भनेर जतिसक्दो चाँडो जापान पठाइदिने प्रलोभन देखाउँदै पैसा मागे । चिनजानकै व्यक्ति भएकाले हामीपनि विश्वासमा पर्‍यौँ,’ पीडितमध्येका दिपेशले भने, ‘गाउँघरमा रोजगारीको विकल्प थिएन । अहिले आएर ठगिएको थाहा भयो।’ उनले ऋण खोजेर दिएको पैसा खाएर अजयसहितका व्यक्ति फरार बनेपछि तनाव थपिएको गुनासो पोखे ।

दिपेशका अनुसार अजयले आफ्नोसहित भाइ, बहिनी र बुहारीका नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए। चितवनका राजेन्द्र अधिकारीको नाममा समेत पीडितहरूलाई पैसा जम्मा गर्न लगाएको उनले बताए ।

रकम जम्मा गर्न लगाएर अजयसहित परिवारका अन्य सदस्य सम्पर्कविहीन बनेपछि बेरोजगार आफूहरू थप मर्कामा परेको गुनासो अर्का पीडित हरि राजवंशीको छ। उनले आफूबाट अजयले ७ लाख रूपैयाँ लिएको पनि बताए। ‘१ जनाबाट १६ लाखसम्म रकम उठाएको भौचर छ,’ हरि भन्छन्, ‘ठूलो रकम उठाएर अजयसहितका व्यक्ति फरार बनेपछि हामी बिचल्लिमा परेका छौँ।’

पीडितको उजुरी परेसँगै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वैदेशिक रोजगारीका नाममा रकम उठाएर ठगी गर्ने व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिएर प्रशासनमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरीले उपस्थित गराएपछि ठगीमा संलग्न भनिएका र पीडितलाई राखेर छलफल गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताए।

‘ठगी गर्ने मानिसहरु उपस्थित गराउन प्रहरीलाई प्रशासनबाट निर्देशन भइसकेको छ,’ उनले भने, ‘पहिलो चरणमा दुई पक्षबीच छलफल गराउने छौँ ।’

सहायक प्रजिअ साहले प्रशासनमा छलफल गराउँदा रकम फिर्ता हुने अवस्था नदेखिए थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइने जानकारी दिए । ‘पीडक भनिएकाहरु प्रशासनमा उपस्थित भएमा छलफल गरेर समस्याको समाधान खोज्ने प्रयत्न हुने छ । उनीहरु भेटिएनन् भने पक्राउ पूर्जी जारी गर्नुपर्ने अवस्था आउनसक्छ,’ उनले भने, ‘थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागलाई आग्रह गरिने छ । अहिले पीडितले दिएको उजुरीको अध्ययन गर्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वसन्त ऋतुको आगामनसँगै आपासी मेलमिलापको सन्देश लिएर आउने फागु पर्व (होली) जापानमा रहेका नेपालीले पनि मनाएका छन् । विभिन्न पेशा व्यवसाय गर्न जापान पुगेका नेपालीहरुले टोकियोको सिन्जुकु स्थित तोयामा पार्कमा भेला भएर होली मनाएका हुन् । होली खेल्न जापानीज नागरिकसमेत तोयामा पार्क पुगेका थिए । राजधानी टोकियोमा आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुन खानागावा केन, चिवा ...
जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो । चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ...
: हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १९ जना विपन्न छात्रालाई निःशुल्क रुपमा अध्ययनका लागि जापान पठाइने भएको छ। जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल विद्यालयले हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडाका एक/एक जना विपन्न छात्राहरूलाई अध्ययनका लागि सत प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने भएको हो। जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच केही दिनअघि विपन्न छात्राहरूलाई छात्रवृत्तिमार्फत् ...
: १६ देशका १० हजारभन्दा बढी स्वयम्सेवकले तीन वर्ष लगाएर बनाएको ‘विश्व शान्ति मण्डला’ विगत ८ वर्षदेखि नेपालमा हराएको छ। विश्वको सबैभन्दा ठूलो मण्डला दाबी गरिएको मण्डला सन् २०१६ मा नेपाल ल्याइएको थियो। त्यसयता यो मण्डला गायब छ। यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र इज्जत र छविमा नै आँच पुर्‍याएको छ। पछिल्लोपटक सन् २०१६ मा यो मण्डला ...
: राष्ट्रपति रामचन्द्र पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। आइतबार नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५० औँ वार्षिक समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गरेका हुन्। उनले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभूत बनाउन नेपाल जाइका ...