मुख्य समाचार
इजरायलका नेपाली संशयमा
इजरायलका नेपाली संशयमा

: इजरायली भूमिमा इरानले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलमा रहेका नेपाली अब के होला ? भन्ने चिन्तामा छन्। इरानले शनिबार राति इजरायलमा आक्रमण गर्‍यो। त्यहाँका नेपालीले आफूहरू त्रासमा रहेको प्रतिक्रिया दिएका छन्।


इजरायलस्थित नेपाली दूतावासले भने इजरायलमा रहेका अधिकांश सबै नेपाली सुरक्षित स्थानमा रहेको स्पष्ट पारेको छ। दूतावासले त्यहाँ रहेका नेपालीलाई सजग रहन पनि अपिल गरेको छ।

इजरायलको तेलअभिभमा कार्यरत स्याङ्जाका शंकर पौडेलले ड्रोन र क्षेप्यास्त्र आक्रमणमा परिने हो कि भन्ने तनाव रहेको बताए। साइरन बज्नेबित्तिकै आपूmहरू बंकरभित्र छिर्ने उनले बताए। उनले भने, ‘अब के हुन्छ ? भन्ने तनाव त छ। तर, इजरायलको सुरक्षाको विषयप्रति हामीलाई विश्वास छ। शनिबार क्षेप्यास्त्र हानिसकेपछि विभिन्न सञ्चारमाध्यममा आएका समाचारले पनि अब के होला भन्ने लाग्छ। तर, हामी अहिले सुरक्षित छौं।’


एनआरएन इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इरानले किन आक्रमण गर्‍यो ? भन्ने कुरा महत्वपूर्ण भएको बताउँदै भने, ‘सिरियामा दुइटा आणविक भट्टीमा इजरायलले आक्रमण गरेको थियो। त्यसकै बदला स्वरूप इरानले बारम्बार धम्की दिइरहेको थियो। उसले बारम्बार इजरायलमा प्रहार गर्छौं भन्दै आएको थियो। अचानक शनिबार सयौं मिसायल पठायो। इजरायल प्रवेश गर्नुअघि ती ९५ प्रतिशत मिसायललाई निस्क्रिय बनाएको थियो। उक्त मिसायलका कारण इजरायलमा कुनै मानवीय र आर्थिक क्षति भएन।’

भण्डारी भन्छन्, ‘इजरायलले जवाफी कारबाही गरेको खण्डमा अब के हुन्छ ? भनेर हामी पनि ससंकित भएका छौं। इजरायल सरकारले सर्तकताको आह्वान गरेपछि नेपालीहरू केही आत्तिए पनि अहिले समस्यामा हुनुहुन्न। हामी सँग सबै नेपालीहरू सकेसम्म सम्पर्कमा आउनुभएको छ। हामीले यदि समस्या परेदेखि तुरुन्त सम्पर्कमा आउनुहोला पनि भनेका छौं।’
तेलअभिभमै कार्यरत अर्का पाँचथरका सरोज राईले हमास विद्रोहीले गरेको आक्रमणजस्तो शनिबार रातिको आक्रमण नभए पनि अब के हुन्छ ? भनेर सात्तो लाने काम भएको बताए।

‘म हस्पिटलमा काम गर्छु। शनिबार रातिको आक्रमण पछि एक्कासि साइरन बज्यो हामी बंकरमा पुगिहाल्यौं। सबैजना आत्तिएको अवस्था थियौं। परिवारसँग पनि सम्पर्क गर्न पाइँदैन कि भन्ने त थियो। तर, राजदूतावास लगायतका अरू नेपाली साथीहरूले नआत्तिनुस्। ठूलो समूहको मिसायल डिस्पोज भइसकेको छ। केही प्रतिशत आएको पनि डिस्पोज भइसकेको छ। भनेर हामीलाई बारम्बार सूचना आइरहन्थ्यो आपूm सुरक्षित रहनुहोस् भन्नुहुन्थ्यो।’

इजरायली डिफेन्स फोर्स आईडीएफका अनुसार इरानले तीन सयभन्दा बढी मिसाइल हानेको भनेको छ। तीमध्ये ९९ प्रतिशत मिसाइल डिस्पोज गरिएको दाबी छ। उक्त मिसाइलबाट १२ जना सामान्य घाइते भएको आईडीएफको दाबी छ।

त्यसोत गत अक्टोबर ७ मा हमास विद्रोहीले आक्रमण गर्दा इजरायलमा करिब १४ सय मारिएका थिए। त्यसमा १० नेपाली विद्यार्र्थी परेका थिए। एक जना भने अझै बेपत्ता छन्। इजरायलले सिरियाको दमस्कसस्थित आफ्नो वाणिज्य दूतावासमा आक्रमण गरेकाले उसले बदला स्वरूप इजरायलमाथि प्रत्याक्रमण गरेको प्रतिक्रिया पनि दिएको छ।

यता नेपालस्थित परराष्ट्र मन्त्रालयले पनि नेपालीहरू सुरक्षित रहेको बताएको छ। पश्चिम एसियामा बढ्दो तनावलाई लिएर परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कूटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्नको लागि आह्वान गरेको हो।
संयम अपनाउँदै वार्ता र कूटनीतिको प्रयोग गर्न भन्दै मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ। हामी यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताको वृद्धिप्रति गम्भीर रूपमा चिन्तित छौं।

मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले इजरायलमा रहेका नेपाली सुरक्षित रहेको सूचना आइरहेको बताए, उनले भने, ‘इजरायलमा रहेका नेपाली सुरक्षित रहेको र आवश्यक सहयोग परेको खण्डमा दूतावाससँग सम्पर्कमा आउन सूचना इजरायलस्थित नेपाली दूतावासले दिएको छ। हामी दूतावाससँग निरन्तर सम्पर्कमा छौँ।’

नेपाली दूतावास भन्छ : इजरायलमा रहेका नेपाली सबै सुरक्षित छन्

इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीलाई इरानी आक्रमणले कुनै असर नपरेको स्पष्ट पारेको छ। दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली सुरक्षित रहेको जानकारी गराएको हो। दूतावासको तथ्यांकअनुसार इजरायलमा हाल ५ हजार नेपाली ‘केयरगिभर’का रूपमा कार्यरत छन्।

केही महिनाअघि कृषि क्षेत्रमा विदेशी कामदार खुला गरिएपछि पनि धेरै संख्यामा नेपालीहरू भारतको बाटो हुँदै त्यहाँ पुगेका छन्। इजरायलमा रहेका नेपालीलाई नेपाली दूतावासले पनि आवश्यक सुरक्षाका लागि स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, सुरक्षामा विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन आग्रह गरेको छ।

अक्टोबर ७ मा हमास विद्रोहीले आक्रमण गर्दा इजरायलमा करिब १४ सय मारिएका थिए। जसमा १० नेपाली विद्यार्थी थिए। एकजना नेपाली विपिन जोशी हमास विद्रोहीको कब्जामा छन्। हमासको आक्रमणपछि २ सय ५० जनाभन्दा बढीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको थियो। दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ।
इजरायलमा सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो जमघट पनि नगर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो ...
— युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको ...
— नेपाली कला साहित्यलाई केन्द्रविन्दुमा राखेर लन्डनमा तीन दिने ‘प्यालेट र प्रोज’ कार्यक्रम भएको छ । लन्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो । १६ अप्रिलदेखि सुरु भएको कार्यक्रम बिहीबार १८ अप्रिलमा सकिँदै छ । कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरू प्रदर्शन र ...
— लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’ बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन ...
: सन् २०२३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) मा १ सय ६५ जना नेपालीको मृत्यु भएको छ। तीमध्ये बिरामी वा हृदयघात (प्राकृतिक) भई मृत्यु हुने ९२ जना र आत्महत्या गर्नेको संख्या ४२ जना रहेको छ। २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो। त्यसैगरी यो वर्ष ४ जनाको हत्या भएको छ। सन् २०२२ को यही अवधिमा १ ...